Sajhamanch Archive

झापा जिल्ला सहकारी संघबाट को–को पुरस्कृत र सम्मानित हुँदैछन्

Published: (Updated: ) in मुख्य समाचार, राष्ट्रिय समाचार, लोकप्रिय, समाज by .

झापा । यो वर्ष ६४औं राष्ट्रिय सहकारी दिवस झापामा विगतभन्दा पृथक एवम् रचनात्मक तरिकाले मनाइएको छ । आसन र भाषणलाई छोट्याएर झापा जिल्ला सहकारी संघले जीवन, व्यवसाय र रूपान्तरण विषयक उत्प्रेरणात्मक कार्यक्रम सञ्चालन गरी दिवस मनाएको हो ।

सहकारी दिवस समारोहमा उत्प्रेरक नरबहादुर कार्कीले जीवन, व्यवसाय र रूपान्तरण विषयमा अहिले सहजीकरण गरिरहेका छन् । अपरान्ह ५ बजेसम्म कार्यक्रम सञ्चालन गरिने छ ।

संघका अध्यक्ष गणेश ढकालको अध्यक्षतामा आयोजित सहकारी दिवस समारोहमा संघबाट यो वर्ष पुरस्कृत र सम्मानित हुने सहकारी संस्था र कर्मचारी एवम् सहकारी व्यक्तित्वको घोषणा अध्यक्ष ढकालबाट गरिएको छ ।

संघले उत्कृष्ट सहकारी संस्थाहरू चयन गर्दा यो वर्ष विषयलाई ध्यान दिइएको जनाउँदै अध्यक्ष ढकालले भूगोललाई ध्यान नदिइएको प्रष्ट पारेका थिए । जसअनुसार उत्कृष्ट बहुउद्देश्यीय सहकारी संस्थाका रुपमा सतासी बहुमुखी सहकारी संस्था बिर्तामोडलाई चयन गरिएको छ ।

यसैगरी, बचत तथा ऋण सहकारी अन्तरगत कर्णाली बचत तथा ऋण सहकारी संस्था (कर्णाली साकोस) बिर्तामोड, कृषि सहकारीतर्फ साना किसान चिया उत्पादक सहकारी संस्था हल्दिबारी पुरस्कृत हुने भएका छन् ।

जिल्ला संघले यो पटकदेखि राष्ट्रिय सहकारी व्यक्तित्व सम्मान थप गरेको जनाउँदै अध्यक्ष ढकालले मोरङका केशव पोखरेललाई पुरस्कारका लागि चयन गरिएको जनाए । यसरी नै उत्कृष्ट पत्रकारिता पुरस्कार चन्द्र भण्डारीलाई दिइने भएको छ ।

सम्मान र पुरस्कारका लागि छनोट भएका उत्कृष्ट व्यवस्थापक महिलातर्फ महालक्ष्मी कृषि सहकारी मेचीनगरका प्रेमकुमारी सुवेदी र पुरुषतर्फ चन्द्र दर्शन बचत तथा ऋण सहकारी कमलका राजु थापा रहेका छन् । जिल्ला सहकारी संघले उत्कृष्ट बचत बारोबार गर्ने दमक बहुमुखी सहकारी संस्था र कर्जा कारोबारी उत्कृष्ट संस्थाका रुपमा सुनकोशी बचत तथा ऋण सहकारी संस्था बिर्तामोडलाई चयन गरिएको अध्यक्ष ढकालले घोषणा गरेका छन् ।

उक्त सबै सम्मान तथा पुरस्कारहरु आउँदो २०७८ असार २४ गते अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसरमा प्रदान गरिने जनाइएको छ ।

सहकारी दिवस कार्यक्रमको औचित्य र दिवसका लागि तय गरिएको नाराका विषयमा चर्चा गर्दै अध्यक्ष ढकालले तीनवटा शब्दमा केन्द्रित रहेर तय गरिएको नाराको ओजनिलो महत्व रहेको प्रष्ट पारेका छन् । सहकारीहरु सुशासन, नीति, विधि र मर्यादाभित्र रहेर सञ्चालन गर्नु आवश्यक देखिएकाले मर्यादित शब्द राखिएको उनको भनाई छ ।

यसरी नै सहकारीले गरिरहेका सबैखाले व्यवसायलाई व्यवस्थित गर्नु, मर्यादित बनाउनु, उत्पादनको चक्रमा प्रवेश गर्दै उत्पादनदेखि बजारसम्म जानुपर्ने आवश्यकता बोध गरेर ‘व्यवसाय’ शब्द जोडिएको उनले प्रष्ट पारे ।

प्रविधिको प्रयोग गरेर कारोबार व्यवस्थित गर्नुलाई पहिलो प्राथमिकता दिएर डिजिटल टेक्नोलोजीलाई अवलम्बन गर्दै एआईमा जान ‘प्रविधि’ शब्द राखेर यो थीम बनाइयो, अध्यक्ष ढकालले प्रष्ट पारे ।

संघका सचिव भवानीप्रसाद दंगालले सञ्चालन गरेको सहकारी दिवस समारोहमा उपस्थितहरुलाई वरिष्ठ उपाध्यक्ष महेन्द्रकुमार गिरीले शाब्दिक स्वागत गरेका थिए । सो अवसरमा गिरीले अब जिल्ला संघ हरेक कार्यक्रम गर्दा सदस्य संस्थाहरूसँग पैसा माग्ने भन्दा विषयगत सहभागिताको प्रस्तावमा लाग्ने अवगत गराए । जिल्ला संघको भवन बनाउँन एक सदस्य एक इँटाको अभियान चलाउन सकिने गिरीको प्रस्ताव छ ।

संघले हरेक वर्ष प्रकाशन गर्दै आएको सहकारी स्मारिकाको सोही अवसरमा विमोचन गरिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *