Sajhamanch Archive

चीनले दिएको कोरोनाविरुद्धको खोप बुधबारदेखि लगाइने

Published: in राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौँ । चीन सरकारले अनुदानमा दिएको कोरोना भाइरसविरुद्धको खोप बुधबारदेखि लगाउन सुरु गरिने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा कोभिड १९ को ब्रिफिङका लागि आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले चीन सरकारबाट प्राप्त खोप चैत २५ गते बुधबारबाट काठमाडौंका तोकिएका अस्पतालमा दिने प्रबन्ध मिलाइएको जानकारी दिएका हुन् ।

अत्यावश्यक सेवामा संलग्न व्यक्तिहरु, चिनियाँ सरकारको छात्रवृत्तिमा अध्ययन गर्ने विद्यार्थी, हिमालयपार व्यापार, चीनमा अध्ययनमा जाने तयारीमा रहेका व्यक्तिहरुले लगाउन सक्ने प्रवक्ता गौतमले प्रस्ट पारे ।

चीनले अनुदानमा दिएको कोरोनाभाइरसविरुद्धको खोपको ८ लाख डोज चैत १६ गते सोमबार काठमाडौं आइपुगेको थियो ।

चीनले माघ १८ गते नेपाललाई तीन लाख डोज खोप सहयोग गर्ने बताए पनि फागुन १७ मा थप ५ लाख डोज थपेर अनुदानमा ८ लाख डोज खोप उपलब्ध गराएको हो ।

यसअघि नेपाललाई भारत सरकारले सिरम इन्स्टिच्युट अफ इन्डियाद्वारा उत्पादित कोभिसिल्डको १० लाख डोज अनुदानमा उपलब्ध गराएको थियो ।

नेपालले माघ १४ गतेदेखि कोरोना भाइरसविरुद्धको खोप अभियान सुरु गरेको थियो । पहिलो डोज लगाएका व्यक्तिलाई वैशाख ७ गतेदेखि दोस्रो डोजको खोप उपलब्ध गराउने मन्त्रालयको तयारी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *