Sajhamanch Archive

भारतमा एकै दिन एक लाखभन्दा धेरैमा कोरोना संक्रमण

Published: in मिडियाबाट साभार, विश्व समाचार, स्वास्थ्य, by .

नयाँ दिल्ली । भारत एक दिनमै कोरोनाबाट एक लाख बढी मानिस संक्रमित हुने दोस्रो मुलुक बनेको छ । आइतबार एक लाख ३ हजार ८४४ नयाँ संक्रमित थपिएसँगै भारतले दैनिक संक्रमित एक लाख नाघ्ने अमेरिकाको रेकर्डलाई पछ्याएको हो । यो संख्या गत वर्षको सेप्टेम्बर १७ मा रेकर्ड गरिएको ९८ हजार ७९५ भन्दा करिब ५ हजारले धेरै हो ।

आइतबार महाराष्ट्रमा मात्र ५७ हजार ७४ जनामा संक्रमण पाइएको र देशभर ४७७ को मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । भारतमा करिब ५२ दिन अघिदेखि देखिएको कोरोनाको दोस्रो लहरमा पहिलेभन्दा बढी संक्रमित भेटिन थालेका छन् ।

फेब्रुअरी ११ मा दैनिक संक्रमित ११ हजार ३६४ रहेकोमा अप्रिल ४ मा यो संख्या बढेर ७८ हजार ३१८ पुगेको छ । यसले दैनिक संक्रमणको साप्ताहिक औसत करिब ७ गुणाले वृद्धि भएको देखाउँछ ।

मार्च २९ देखि अप्रिल ४ सम्ममा ५ लाख ४८ हजार ६२५ नयाँ संक्रमित भेटिएका थिए, जुन सेप्टेम्बरको अन्तिम साता पछिकै धेरै हो । गत हप्ता त्यसअघिको रेकर्डलाई तोड्दै १ लाख ५५ हजार ५६९ संक्रमित भेटिनुले पनि संक्रमणदर बढ्दै गएको पुष्टि गरेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *