Sajhamanch Archive

पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा निगम घेराउ

Published: in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय घेराउ गरेको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य बढाएपछि नेकपा एमाले माधवकुमार नेपाल निकट अनेरास्ववियुले विरोध प्रदर्शन गरेको हो ।

अनेरास्ववियुले विरोध प्रदर्शन पछि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेल समक्ष ज्ञापनपत्र समेत बुझाएको छ । ज्ञापनपत्र बुझाउँदै नेपाल निकट अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिप्रति अ‍ाफूहरूको गम्भीर ध्यानाकर्षण भएको बताए । यस्तै उपभोक्ता, विद्यार्थी, श्रमजीवि वर्गमाथि मूल्यवृद्धिले पारेको असरप्रति जिम्मेवार बन्न र मूल्यवृद्धि खारेज गर्न समेत अनेरास्ववियुले माग गरेको छ ।

ज्ञापनपत्र बुझ्दै निगमका कार्यकारी निर्देशक पौडेलले प्रत्येक पन्ध्र(पन्ध्र दिनमा मूल्य समायोजना गर्ने व्यवस्था अनुसार मूल्य वृद्धि गरिएको बताए । निगमसँग भण्डारण क्षमता नभएकोले भारतले मूल्य बढाउने वित्तिकै नेपालमा पनि मूल्य बढाउनुपर्ने बाध्यता रहेको उनको भनाइ छ । यद्यपी विद्यार्थीहरूको माग जायज भएकोले ज्ञापनपत्रलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाउने समेत उनले बताए । तर आयल निगमले घाटामा गएर तेलको व्यापार गर्न नसक्ने उनले बताए ।

मूल्यवृद्धि भएसँगै पेट्रोलको मूल्य प्रतिलिटर १ सय २० रुपैयाँ पुगेको छ । यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ३ रुपैयाँ पुगेको छ । इण्डियन आयल कर्पोरेसनले मूल्य बढाएर पठाएको सूचना अनुसार नेपालमा मूल्यवृद्धि गरिएको निगमले बताएको छ । आयल निगम घेराउ गर्न पुगेका विद्यार्थीहरुले ‘मूल्यवृद्धि खारेज गर’, ‘नालायक सरकार राजीनामा दे’ लगायतका नारा लगाएका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *