Sajhamanch Archive

उदयपुर पत्रकार महासंघमा तालाबन्दी, उम्मेदवारी दर्ता रद्द

Published: in मिडियाबाट साभार, मुख्य समाचार, समाज, by .

काठमाडौं । नेपाल पत्रकार महासंघ, उदयपुर शाखामा पत्रकारहरुको एक समूहले ताला लगाएको छ । विवाद भएपछि उम्मेदवारी दर्तासमेत रद्द भएको छ ।

निर्वाचन प्रक्रियामा आपत्ति जनाउँदै पत्रकारका विभिन्न संगठनहरुले संयुक्त रुपमा ताला लगाएको महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले जानकारी दिए । उनका अनुसार प्रेस सेन्टरको अगुवाइमा निर्वाचन कार्यक्रम रद्दको माग गर्दै सोमबार तालाबन्दी भएको हो ।

महासंघले निर्वाचन कार्यक्रम सम्पन्न गराउन बद्री काफ्लेको संयोजकत्वमा कमलबहादुर कार्की र बन्दना दनुवार सदस्य रहने गरी निर्वाचन समिति गठन गरेको थियो ।

प्रेस सेन्टरका केन्द्रीय सदस्य हरिकुमार राई, यदु ढकाल, प्रेस सेन्टर, उदयपुरका अध्यक्ष तुलसी कोइराला, प्रेस चौतारी उदयपुरका उपाध्यक्ष ईश्वर बलम्पाकी र क्रान्तिकारी पत्रकार महासंघका १ नं। प्रदेश संयोजक मधुकर थापा लगायतको टोलीले निर्वाचन समितिका संयोजक काफ्लेको भूमिका निष्पक्ष नभएको भन्दै प्रश्न उठाउँदै आएका थिए ।

समिति संयोजक नै फेरबदल गर्नु पर्ने माग आएपछि काफ्लेको ठाउँमा कौशल चेम्जोङलाई संयोजक बनाइएको अध्यक्ष खड्काले बताए । ‘उहाँहरुले प्रश्न उठाएपछि मैले निर्वाचन समितिको संयोजक नै फेरिदिएँ, मनोनयन रद्द गर्नुपर्छ भनेपछि त्यो पनि रद्द भयो,’ अनलाइनखबरसँग उनले भने, ‘तर अहिले ताला लगाएर निर्वाचन प्रक्रिया नै रोक्न माग गर्दै निवेदन हाल्नु भएको छ ।’

यद्यपि अहिले पनि सहमतिको प्रयास जारी रहेको उनले बताए । उत्पन्न विवादका विषयमा सबै पक्ष बसेर सहमति गर्ने प्रयास भइरहेको उनले बताए । चुनाव हार्ने डरले माधव नेपाल पक्षको प्रेस चौतारी र प्रेस सेन्टरले ताला लगाएको अध्यक्ष खड्काले आरोप लगाए ।

प्रेस सेन्टरका केन्द्रीय सदस्य हरिकुमार राईले भने गलत नियतले निर्वाचन समितिको संयोजक नियुक्त गरिएको भन्दै आफूहरुले विमति राखेको बताए । निर्वाचन समिति संयोजकले नै कुनै एक समूहको पक्षमा लागेर मेरो समर्थन छ भन्दै विज्ञप्ति नै निकालेपछि आफूहरुले निर्वाचन समितिका सबैको राजीनामा माग गरेको बताए ।

समितिका संयोजक परिवर्तन भए पनि एक दिन दावी विरोधको समय थप्न माग गर्दा अध्यक्षले पूरा नगरेपछि ताला लगाउन बाध्य भएको केन्द्रीय सदस्य राईले बताए । ‘हामीले चुनाव बहिष्कार गरेका होइनौँ, प्रक्रियामा प्रश्न उठाएको हौँ,’ उनले भने, ‘एक दिन समय दिनुभन्दा पनि नदिने, निष्पक्ष चुनाव गराउन नसक्नेको समिति बनाएपछि हामी ताला लगाउन बाध्य भयौं ।’ विधिसम्मत तरिकाले निर्वाचन गराए ताला खोल्न आफूहरु सहमत हुने उनले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *