Sajhamanch Archive

पत्रकार महासङ्घको चुनाव : २ बजेसम्म ५५ प्रतिशत मत खस्यो

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, by .

काठमाडौं । नेपाल पत्रकार महासङ्घको नयाँ नेतृत्व चयनका लागि अहिले मतदान चलिरहेको छ । काठमाण्डौ उपत्यकासहित देशभर महासङ्घले तोकेको केन्द्रमा बिहान ९ बजेदेखि मतदान भइरहेको छ ।

दिउँसो २ बजेसम्म ५५ प्रतिशत मतदान भएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ ठाउँमा र एक एसोसिएटको दशरथ रङ्गशालामा गरी ९७ केन्द्र तोकिएको छ । केन्द्रीय समितिको निर्वाचन पहिलो पटक प्रत्यक्ष प्रणालीबाट भइरहेको हो ।

महासङ्घको केन्द्रीय समिति, प्रदेश समिति, जिल्ला शाखा र विभिन्न प्रतिष्ठान तथा एसोसिएटमा नयाँ नेतृत्वका लागि १३ हजार एक सय २२ सदस्यले एकसाथ मतदान गर्दैछन् । महासङ्घको ४९ पदाधिकारीका लागि एक सय ४५ जनाको उम्मेदवारी परेको छ ।

महासङ्घका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ । केन्द्रीय अध्यक्षमा निर्मला शर्मा र विपुल पोखरेल प्यानल तथा गजेन्द्रसिंह बुढाथोकी स्वतन्त्र रूपमा चुनावी मैदानमा उत्रिएका छन् ।

उम्मेदवारहरूले श्रमजीवी पत्रकारको पेसागत सुरक्षा र पत्रकार महासङ्घको शुद्धीकरणलाई मुख्य एजेन्डा बनाएका छन् । प्रदेश, जिल्ला, एसोसिएट र प्रतिष्ठान शाखाका केही ठाउँमा भने सर्वसम्मत नयाँ नेतृत्व चयन भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *