Sajhamanch Archive

सुदूरपश्चिम मेयर कप महिला टी–२० को फाइनलमा

Published: in खेलकुद, मिडियाबाट साभार, by .

काठमाडौं । लुम्बिनी प्रदेशमाथि आठ विकेटको जित निकाल्दै सुदूरपश्चिम प्रदेश राजधानीमा चलिरहेको ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयको मैदानमा बुधवार भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई हराउँदै विभागीय टोली एपीएफसँगको भेट पक्का गरेको हो । एपीएफ एक खेलअघि नै फाइनल पुगिसकेको छ ।

लुम्बिनीले दिएको ७३ रनको लक्ष्य सुदूरपश्चिमले १२ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा गर्‍यो । सुदूरपश्चिमको जितमा मन्जु बोगटीले सर्वाधिक २६ रन जोडिन् । बिन्दु रावल १७ रनमा अविजित रहिन् । रेवती धामीले १७ रन जोड्दा कविता जोशीले अविजित ४ रन बनाइन् । लुम्बिनीकी कृतिका मरासिनीले २ विकेट लिइन् ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ९ विकेट गुमाएर ७२ रन बनाएको थियो । लुम्बिनीका लागि लक्ष्मी चौधरीले सर्वाधिक २६ रन बनाइन् । यस्तै कप्तान नेरी थापाले ११ रन जोडिन् । अन्य खेलाडीले दोहोरो अङ्क जोड्न सकेनन् ।

लुम्बिनीलाई कम रनमै रोक्न लक्ष्मी साउदले चार विकेट लिइन् । ऋतु कनौजियाले तीन तथा सुनिता लुहर र कविता जोशीले एकरएक विकेट लिए । लुम्बिनीलाई हराएसँगै सुदूरपश्चिमले ४ खेलमा ६ अङ्क जोड्यो ।

प्रतियोगितामा बिहीवार दुई खेल हुनेछन् । पहिलो खेल ललितपुर मेयर्स–११ र प्रदेश १ तथा दोस्रो खेल लुम्बिनी प्रदेश र एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *