Sajhamanch Archive

सासंद पद रिक्त रहेकोबारे संसद् सचिवालयले निर्वाचन आयोगलाई जानकारी गराउने

Published: in मिडियाबाट साभार, राजनीति, राष्ट्रिय समाचार, by .

काठमाडौं । प्रतिनिधि सभाका चार सांसदको पद रिक्त भएको छ । प्रतिनिधि सभाको बिहीवारको बैठकमा सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्र परित्याग गरी नेकपा एमाले प्रवेश गरेका चार सांसदको पद खारेज भएको जानकारी गराएसँगै औपचारिक रूपमा बिहीवारदेखि चार सांसदको पद रिक्त भएको हो ।

प्रतिनिधि सभा चुनावमा प्रत्यक्ष निर्वाचित सांसदहरू अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली ४ का लेखराज भट्ट, रौतहट ३ का प्रभु शाह र कैलाली ३ का गौरीकशङ्कर चौधरी सांसद पदबाट मुक्त भएका हुन् । प्रत्यक्ष निर्वाचित सांसदहरूको पद रिक्त भएको अवस्थामा उपचुनाव गराउनुपर्ने संवैधानिक व्यवस्था छ । सङ्घीय संसद् सचिवालयले सांसद पद रिक्त रहेकोबारे प्रधानमन्त्रीको कार्यालय र निर्वाचन आयोगलाई पत्राचारमार्फत जानकारी गराउने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

उनले भन्नुभयो, ‘आज प्रतिनिधि सभाको बैठकबाट प्रतिनिधि सभामा बहाल रहेका चार सदस्यको पद रिक्त भएको सूचना जारी भएको छ । यो सूचनासँगै प्रतिनिधि सभामा प्रतिनिधित्व गर्नु हुने चार सदस्यको पद रिक्त भएको छ । यस सम्बन्धमा पद रिक्त भएको सूचना निर्वाचन आयोगलाई सचिवालयले लेखेर पठाउँछ । यसैगरी मन्त्रिपरिषद्लाई पनि जानकारी गराउँछ र त्यसपछि प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी भएको अवस्थामा उपचुनावबाट त्यस्तो पदपूर्ति गर्ने भन्ने व्यवस्था छ र प्रतिनिधि सभाको अहिले ६ महिनाभन्दा बढी कार्यकाल रहेको छ । त्यसैले यी रिक्त रहेका चार सदस्यको पद उपचुनावमार्फत पूर्ति हुने व्यवस्था छ । यसको सम्बन्धमा निर्वाचन आयोगले मिति निर्धारण गर्छ र त्यो मितिमा उपचुनाव हुन्छ, उपचुनावमार्फत नै ती पद पूर्ति हुने व्यवस्था छ ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *