Sajhamanch Archive

आउँदो जेठदेखि ७० प्रतिशत अङ्क ल्याए लाइसेन्सको ट्रायल पास

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाडौं । आउँदो जेठ १ गतेदेखि लागू हुने गरेर सरकारले सवारी चालक अनुमतिपत्र लाइसेन्सको परीक्षाका लागि नयाँ नियम ल्याएको छ ।

जेठ १ देखि लागू हुने गरेर सवारी चालक अनुमतिपत्र परीक्षा सञ्चालन कार्यविधि निर्देशिकामा लिखित र प्रयोगात्मक दुवै परीक्षाको मोडालिटी परिवर्तन गरिएको छ ।

अहिले प्रयोगात्मक परीक्षामा एउटै गल्ती भए पनि लाइसेन्स लिन अयोग्य हुने भए पनि नयाँ निर्देशिकामा ट्रायलका विभिन्न चरणलाई फरक-फरक अङ्कभारको व्यवस्था गरिएको छ र ७० अङ्क ल्याएमा लाइसेन्सको ट्रायल पास हुने व्यवस्था गरिएको छ । यो व्यवस्थापछि सामान्य गल्ती गरे पनि लाइसेन्स पाउनबाट वञ्चित हुनु पर्दैन ।

यसअघि प्रयोगात्मक परीक्षा पास गर्ने दर २० देखि ३० प्रतिशतमात्रै थियो । नेपालको जस्तै व्यवस्था भएको भारतलगायत देशहरुमा अध्ययन गर्दा यो अलि अव्यावहारिक भएको पाइएकाले परीक्षाको मोडालिटी परिवर्तन गरिएको यातायात व्यवस्था विभागका सूचना अधिकारी लोकनाथ भुसालले बताए ।

उनले भने, भारत, चीन, अमेरिकालगायत देशहरुको अध्ययन गर्दा नेपालको प्रयोगात्मक परीक्षाको व्यवस्था कठिन, जटिल, असहज र सेवाग्राही मैत्री नभएको हामीहरुको निष्कर्ष रह्यो । यसलाई थप सहज बनाउन हामीहरुले नयाँ मोडालिटी ल्याएका हौँ ।’

गएको चैत ६ गतेको मन्त्रीस्तरीय बैठकको निर्णयले चालक अनुमतिपत्र परीक्षा सञ्चालनका लागि नयाँ कार्यविधि निर्देशिका ल्याउन निर्णय गरेको थियो । मन्त्रालयको सैद्धान्तिक स्वीकृति अनुसार विभागले जेठ १ गतेदेखि लागू हुने गरेर कार्यान्वयनमा लैजान लागेको हो ।

अङ्कभार विभाजन गर्नुको अर्थ

अहिलेसम्म ट्रायल सेन्टरमा हेरेकै भरमा पास र फेल गर्ने गरिन्छ । अब भने प्रयोगात्मक परीक्षा लिने ठाउँमा प्रशिक्षार्थीले जे(जे गतिविधि गर्छन् त्यसको मूल्याङ्कन हुने भएको छ । त्यसका लागि विभिन्न चरणहरुमा प्रशिक्षार्थीलाई नम्बर दिइनेछ ।

यसअघि शतप्रतिशत अङ्क ल्याएमा मात्रै उत्तीर्ण हुने गरेकामा अब भने १०० पूर्णाङ्कमा ७० प्रतिशत अङ्क ल्याउनेहरु पास हुनेछन् । विभागका सूचना अधिकारी भुषालले अहिलेसम्म सयमा सय नै ल्याउनुपर्ने भन्ने कुरा आफूहरुलाई अव्यावहारिक र अस्वाभाविक लागेर नै यस्तो व्यवस्था गरिएको बताए ।

अरु क्षेत्रमा शतप्रतिशत अङ्क ल्याउन भए पनि चालक अनुमतिपत्रका लागि भने शतप्रतिशतको मापदण्ड रहेकाले त्यसलाई परिमार्जन गरिएको उनले बताएका छन् । अमेरिकाजस्तो विकसित देशमा पनि १५ वटासम्म गल्ती गर्नेहरुलाई पास गराउने अभ्यास रहेकाले हाम्रोमा रहेको व्यवस्था अस्वाभाविक रहेको निष्कर्ष निकालिएको भुसालको भनाइ रहेको छ ।

नयाँ व्यवस्थाले अयोग्यले पनि लाइसेन्स पाउने सम्भावना कति ?

चालकको लापरबाहीका कारण दुर्घटनाहरु हुने गरेका छन् । अहिलेसम्मको अभ्यासले शतप्रतिशत अङ्क ल्याएर लाइसेन्स प्राप्त गर्नेहरु पनि दुर्घटनामा परेका छन् । कतिपय व्यक्तिहरुले नयाँ मोडालिटीअनुसार जस्तो व्यक्तिले पनि लाइसेन्स पाउने समस्या रहने र दुर्घटना बढ्न सक्ने आशङ्का गरे पनि त्यस्तो नहुने यातायात व्यवस्था विभागका सूचना अधिकारी भुसालको भनाइ छ ।

नयाँ व्यवस्थाले अयोग्य व्यक्तिले पनि लाइसेन्स पाउने सम्भावना नहुने भन्दै उनले अहिलेसम्मको व्यवस्थालाई थप व्यवस्थित बनाउन मात्रै खोजिएको बताए । ट्रायल सेन्टरमा १० मिनेटमा गरिएको परीक्षाको आधारमा मात्रै चालकले लापरबाही गर्नेरनगर्ने कुराको ग्यारेन्टी गर्न नसकिने उनको भनाइ छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *