जसपा नेताहरुबीच देउवा निवासमा भेटवार्ता
Published:
by .काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्दै आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने निर्णय गरेको एक सातापछि आज दिउँसो देउवा निवासमा सत्ता समीकरणबारे छलफल हुँदैछ । कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी र जनता समाजवादी जसपाका नेताहरुलाई आफ्नै निवासमा बोलाएर छलफल गर्न लागेका हुन् ।
आजको वार्तामा काँग्रेस, माओवादी र जसपाका शीर्ष नेताहरुको टीम सहभागी हुने बताइएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवामाथि लाग्दै आएको आरोप के हो भने उनी प्रतिनिधिसभाको निरन्तरता भन्दा पनि चुनाव चाहन्छन् । गत पुस ५ मा केपी ओलीले संसद विघटन गरेका बेलामा पनि देउवाले चुनावमा जाने चाहना राखेका थिए । अहिले संसदको पुनस्थापनापछि पनि केपी ओली फेरि संसद विघटन गरेर चुनावमै जान खोजिरहेका छन् र देउवा पनि चुनावमा जाँदा कांग्रेसलाई फाइदा हुने विश्लेषण गरिरहेका छन् ।
संसद विघटनपछि कांग्रेसभित्रको शक्ति सन्तुलनका कारण देउवाको इच्छा पूरा हुने पाएन, कांग्रेस संसद पुनर्स्थापनाको माग गर्दै आन्दोलनमा ओर्लियो । अहिले संसद ब्युँतिएपछि पनि देउवाले सोचेजस्तो हुन सकेको छैन ।
गत शुक्रबार बसेको केन्द्रीय कार्यसमितको बैठकमा देउवा आफैंले प्रस्ताव राखेर निर्णय गराएका छन्, केपी ओलीको राजीनामा माग्ने र वैकल्पिक सरकारको पहलकदमी गर्ने । काँग्रेसको त्यसअघिकै बैठकले देउवालाई प्रधानमन्त्री बनाउने सहमति जुटाइसकेको छ ।
यसरी आफैंले पार्टीबाट निर्णय गराएको प्रस्ताव कार्यान्वयनका क्रममा देउवाले शुक्रबार दिउँसो बूढानीलकण्ठमा माओवादी र जसपाका नेताहरुलाई सत्ता समीकरणबारे छलफल गर्न बोलाएका हुन् ।
भ्यागुताको धार्नी
काँग्रेस सभापति देउवालाई संसदमा बुहमत पु¥याएर प्रधानमन्त्री बन्नका लागि माओवादी र जसपा दुबै दलको समर्थन चाहिन्छ । ३४ सीटवाला जसपा फुट्यो भने पनि कांग्रेसको बहुमत पुग्दैन, सिंँगै जसपाले साथ दिँदा मात्रै देउवाले बहुमत जुटाउन सक्छन् ।
प्रधानमन्त्री बन्नका लागि देउवालाई माओवादीका तर्फबाट कुनै समस्या देखिँदैन । माओवादीले उनलाई समर्थन गर्न सक्छ । तर, जसपाका नेताहरुले भने केही शर्तहरु तेस्र्याएका छन् । साथै, जसपाभित्र केपी ओलीलाई समर्थन गर्नुपर्छ भन्ने लाइनसमेत रहेकाले उनीहरुमा फुट आउन सक्ने डर पनि छ ।
जसपाभित्रको जटिल अवस्थामा देउवाले उनीहरुलाई फकाएर आफ्नो पक्षमा बहुमत जुटाउनका लागि केही सम्झौताहरु गर्नुपर्ने हुन्छ । जस्तो– रेशम चौधरीको रिहाइ, संविधान संशोधन लगायतका मुद्दाहरु जसपाका शर्त हुन् । ती शर्तहरु पूरा गर्ने विश्वास नदिलाएसम्म देउवालाई जसपाले एकीकृत रुपमा समर्थन गर्ने सम्भावना कमै देखिन्छ ।
यसका अतिरिक्त सत्ताको भागवण्डामा पनि देउवाले जसपालाई चित्त बुझाउनुपर्ने हुन्छ । यसका लागि या त देउवाले महन्थ ठाकुर वा बाबुराम भट्टराईलाई प्रधानमन्त्री दिएर संयुक्त सरकार बनाउन तयार हुनुपर्छ, या जसपाले मागेजति मन्त्रालय दिन तयार हुनुपर्छ ।
सत्ता साझेदारीका यी विषयहरुमा कुरा मिल्यो र मुद्दाहरुको सम्वोधन हुने भयो भने जसपाले देउवालाई साथ दिन सक्छ । अन्यथा जसपालाई मिलाउनु भनेको देउवाका लागि भ्यागुताको धार्नी पुर्याउनुजस्तै हुने देखिन्छ ।
जसपाले नमाने ओली जिन्दावाद
कांग्रेसका केही नेताहरुका अनुसार शेरबहादुर देउवा गणितले साथ दिएन भने जोखिम मोलेर प्रधानमन्त्री बन्न लालायित छैनन् । जसपाले मानेन भने बरु केपी ओलीकै नेतृत्वमा भए पनि चुनावमा जाँदा फाइदा हुने देउवाको विश्लेषण रहेको कांग्रेस नेताहरु बताउँछन् ।
यद्यपि, आफ्नै नेतृत्वमा सरकार बन्यो भने चुनावमा सहज हुने देउवाको आँकलन रहेको सो पार्टीका नेताहरु बताउँछन् । तर, सरकार बनेन भने ओलीकै नेतृत्वमा भए पनि चाँडै चुनावमा जाने देउवाको चाहना रहेको सो पार्टीका नेताहरुले बताउँदै आएका छन् ।
काँग्रेसका एक नेताले नाम उल्लेख नगरी रातोपाटीसँग भने,‘ सभापति देउवा चाँडो चुनाव होस् भन्ने चाहनुहुन्छ । चुनाव हुँदा कांग्रेसलाई फाइदा हुन्छ भन्ने उहाँको सुरुदेखिकै विश्लेषण छ । त्यसैले, जसपाले गठबन्धनमा आउन मानेन भने पनि देउवाले फकाउन जोड गर्ने सम्भावना छैन ।’
काँग्रेस स्रोत भन्छ, ‘सभापति जी उस्तै परे ओलीकै नेतृत्वमा भए पनि चुनावमा जान तयार हुनुहुन्छ ।’
Comments