सहारा नेपालद्वारा परिवार राहत र मृतक सदस्यको कर्जा मिनाहा
Published:
by .बिर्तामोड । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले आज आफ्ना सदस्यहरुलाई परिवार राहत तथा कर्जा मिनाहा गरेको छ ।
संस्थाको बिर्तामोड सेवा केन्द्र अन्तरगत लघुवित्त कार्यक्रममा आवद्ध बिर्तामोड ५ को वुद्ध सहारा महिला समूह नं. २० का सदस्य सुमनदेवी दासको मृत्यु भएकाले निजको नाममा रहेको १२ लाख रुपैयाँ कर्जा मिनाहा गरिदिएको छ ।
सहारा नेपाल साकोस बिर्तामोड सेवा केन्द्रका प्रमुख लक्ष्मीप्रसाद रिजालले दिएको जानकारी अनुसार निजका श्रीमान भानु दासलाई कर्जा मिनाहाको पत्र हस्तान्तरण गरिएको हो ।
यसरी नै सहारा नेपाल साकोसको कनकाई सेवा केन्द्र बिर्ताबजारमा चैत २७ गते बिहान परिवार राहतवापत दुईवटा परिवारलाई जनही एक लाख रुपैयाँको चेक हस्तान्तरण गरिएको छ ।
संस्थाका सदस्य स्वर्गीय देवीप्रसाद भट्टराईका पत्नी श्रीमाया भट्टराई र स्वर्गीय भक्तबहादुर विश्वकर्माका छोरा धनबहादुर गजमेरलाई उक्त रकम बराबरको चेक प्रदान गरिएको हो ।
सहयोग समितिका संयोजक टंकप्रसाद दवाडीको अध्यक्षता तथा बिर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद दाहालको प्रमुख आतिथ्यमा आज बिहान राहत हस्तान्तरण गरिएको हो ।
सो कार्यक्रममा संस्थाका सदस्य कल्पना गुरुङको निधन भएकाले पति ओमबहादुरको नाममा सरेको कर्जा ५० हजार, सदस्य मनकुमारी तामाङका पति वीरबहादुरको निधन भएकाले ३० हजार र सदस्य निलकुमारी मगरका पति कर्णबहादुरको निधन भएकाले ४० हजार रुपैयाँ ऋण मिनाहा गरिएको पत्र हस्तान्तरण गरिएको छ ।
परिवार राहत प्रदान तथा कर्जा मिनाहाबारे संस्थाको नीति एवम् कार्यक्रमको औचित्यका बारेमा संस्थाका अनुगमन अधिकृत घनश्याम रायाले प्रष्ट्याएका थिए । उनले चालू आर्थिक वर्षको ८ महिनामा ८ करोड ५२ लाख रुपैयाँ सदस्य सुविधा प्रदान गरिएको जानकारी पनि दिएका छन् । उनले संस्थाको नीति, नियम तथा भावी कार्यक्रमहरुबारे सहभागीहरुलाई जानकारी गराएका थिए ।
कार्यक्रमको सञ्चालन कनकाई बिर्ताबजार सेवा केन्द्रका प्रमुख गणेश उप्रेतीले गरेका थिए ।
Comments