भव्य कार्यक्रमका बीच विगेन नेपाल बिर्तामोड सेन्टरको प्रथम वार्षिकोत्सव
Published:
by .बिर्तामोड । दक्षिण कोरियामा स्थापित भई विश्वभर प्रवद्र्धित थर्मल थेरापी पद्धतिबाट नेपालीहरुलाई निशुल्क उपचार सेवा प्रदान गरिरहेको विगेन नेपाल हेल्थ टेक प्रालि चौथो वर्षमा प्रवेश गरेको अवसरमा प्रकाशित विगेन स्मारिकाको आज यहाँ विमोचन गरिएको छ ।
विगेन नेपाल बिर्तामोड सेन्टरको प्रथम वार्षिकोत्सव समेतको अवसरमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्रप्रसाद लिङ्देन र विगेन नेपालका संस्थापक एवम् कार्यकारी प्रमुख प्रकाश श्रेष्ठले संयुक्तरुपमा विमोचन गरेका हुन् ।
विगेन नेपालले थर्मल थेरापी पद्धतिबाट निशुल्क उपचार गर्ने तथा सोही पद्धतिमा उपचार गर्नका लागि आवश्यक पर्ने उपकरणहरु बिक्री गर्ने जनाइएको छ ।
कार्यक्रममा विगेन नेपाल बिर्तामोड सेन्टरका ओनर रुकम गुरुङले उपस्थितहरुलाई स्वागत गर्दै विविध शारीरिक समस्या भएका रोगीहरुलाई निशुल्क उपचार गरेर स्वास्थ्यलाभ गरेका आमाबुवाबाट आफूहरुले माया र काम गरिरहने हौसला प्राप्त गरिरहेको बताए ।
सो अवसरमा मन्तब्य राख्दै बिर्तामोड नगरपालिकाका प्रमुख शिवाकोटीले नगर प्रमुखको जिम्मेवारीमा रहेका व्यक्तिले गर्नुपर्ने काम विगेनले गरिदिएकोमा धन्यवाद दिए । विगेनले हिंड्नै नसक्ने मान्छेलाई निशुल्क उपचार गरेर ठमठमी हिंडाएको थाहा पाउँदा गरिब मानिसका लागि यो वरदान भइरहेको नगरप्रमुख शिवाकोटीले बताए ।
नगरपालिकाको प्रमुखका हैसियतले यहाँका नगरबासीको स्वास्थ्यका बारेमा ख्याल गर्नुपर्ने आफ्नो दायित्वलाई विगेनले निशुल्क उपचार गरी सहयोग गरिरहेको बताउँदै नगरप्रमुख शिवाकोटीले नगरबासीको शिक्षा, स्वास्थ्य तथा आयआर्जनमा विगेन नेपालले ध्यान दिएकोमा धन्यवाद दिए ।
विमोचित विगेन स्मारिकामा विगेन नेपाल हेल्थ टेकको लक्ष्य, दृष्टि, सेन्टर प्रोफाइल, विगेन नेपालको थेरापी पद्धतिबाट उपचार गरी नयाँ जीवन पाएका मानिसहरुको अनुभूति समेटिएको छ ।
प्रधानमन्त्री, मुख्यमन्त्री, संघीय मन्त्री, प्रदेशमन्त्री, सांसद एवम् नगरपालिका र गाउँपालिकाका प्रमुख उपप्रमुखसम्मको शुभकामनाका शब्दहरुले भरिएको स्मारिकामा विगेनका उत्पादनहरुको विज्ञापनसमेत प्रकाशित छ ।
Comments