Sajhamanch Archive

म्यान्मार सेनाको गोलीबाट नेपालीभाषी दम्पतीको मृत्यु

Published: in राष्ट्रिय समाचार, विश्व समाचार, समाज, by .

काँकडभिट्टा । म्यान्मार सेनाको गोलीबाट मंगलबार नेपालीभाषी दम्पतीको मृत्यु भएको छ । भारतको सीमावर्ती सहर मोरे (मणिपुर) पारिको बर्मेली सहर टमुका बासिन्दा किसन गौतम र उनकी श्रीमती हरिमाया गौतमको गोली लागेर मृत्यु भएको हो ।

गौतम दम्पती नजिकैको गोठबाट घर फर्किंदै थिए । म्यान्मारको जगाईं प्रान्तमा पर्ने सानो सहरको नाम हो टमु । यो सानो सहरमा करिब ४ हजार नेपालीको बसोबास छ ।

गौतम दम्पती तीन पुस्तादेखि त्यहाँका बासिन्दा थिए । उनीहरुले गाईपालन गरेर जीविका चलाउँथे । टमुका बासिन्दा तथा नेपाली साहित्यकार अमित घिमिरेले फोनमा जानकारी दिएअनुसार सेनाले चलाएको गोलीबाट गौतम दम्पतीसहित ३ जनाको ज्यान गएको छ । ६ जना घाइते छन् । १६ जनालाई सेनाले पक्राउ गरेको छ ।

सेनाले सत्ता कब्जा गरेपछि म्यान्मारमा आन्दोलन जारी छ । सैनिकले सत्ता नियन्त्रणमा लिए म्यानमारमा अहिलेसम्म ७ सयभन्दा बढीको मृत्यु भएको छ । मृत्यु हुनेमा बालबालिकाको संख्यासमेत उल्लेख्य छ ।

आन्दोलनमा नेपालीभाषीको समेत उल्लेख्य सहभागिता देखिएको छ । आन्दोलनममा संलग्न केही नेपालीभाषी अहिले पनि सैनिक हिरासतमा छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *