Sajhamanch Archive

कोरोनाको नयाँ भेरिएन्टका कारण स्वास्थ्य प्रणालीले थेग्नै नसक्ने अवस्था आउन सक्छ : सरकारको चेतावनी

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, स्वास्थ्य, by .

काठमाडौं । अस्पताल भर्ना हुने कोरोना भाइरसका सङ्क्रमितमध्ये १० प्रतिशतभन्दा धेरै बालबालिका रहेका छन् । गएको २४ घण्टामा कोरोना सङ्क्रमण पुष्टि भएकामध्ये ५२ जना १७ वर्षमुनिका किशोरकिशोरी तथा बालबालिका रहेका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यस्तै मङ्गलवार हिजो ४८ जना १९ वर्षमुनिका बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । यो तथ्याङ्कले नेपालमा कोरोना जोखिम अत्यन्तै संवेदनशील अवस्थामा पुगेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डाक्टर कृष्ण पौडेलले बताए।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा डाक्टर पौडेलले कम उमेरमा सङ्क्रमण पुष्टि र अस्पताल भर्ना हुने दर दुवै बढेकोले कतै हाम्रो स्वास्थ्य प्रणालीले धान्नै नसक्ने अवस्थामा पुग्ने त हैन ? भन्ने चिन्ता बढेको बताए।

कान्ति बाल अस्पतालका निर्देशक प्राध्यापक डाक्टर आरपी बिच्छाले अस्पताल भर्ना हुनेमध्ये १० देखि १८ प्रतिशत सङ्क्रमित बालबालिका रहेको भन्दै यसले चिन्तित बनाएको बताए ।

यस्तै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. पौडेलले अस्पताल भर्ना हुनेहरूमा ५० प्रतिशतभन्दा धेरै ५० वर्षमुनिका रहेका भन्दै यसअघिको अवस्था भन्दा फरक रहेको र बढी जटिल अवस्थाको सङ्केत रहेको बताए ।

नेपालमा पछिल्लो समयमा फैलिएको कोरोना भाइरस बेलायत र भारतमा देखिएका नयाँ भेरिएन्ट पनि रहेको भन्दै निर्देशक पौडेलले यी भेरिएन्टहरूको सङ्क्रमण र मृत्युदर दुवै उच्च रहेको बताए । नयाँ भेरिएन्टले कम उमेर समूहकालाई समेत गम्भीर अवस्थामा पुर्‍याउने भएकोले बच्नका लागि थप सावधानी अपनाउनुपर्ने उनले बताए।

अहिले विद्यालय र सार्वजनिक यातायातमा बढी जोखिम देखिएकाले ती ठाउँमा बढी सावधानी अपनाउन पनि डा. पौडेलले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *