Sajhamanch Archive

आज जसपा संसदीय दलको बैठक बस्दै

Published: in मिडियाबाट साभार, मुख्य समाचार, राजनीति, by .

बुटवल । लुम्बिनी प्रदेशमा निर्णायक मानिएको जनता समाजवादी पार्टी जसपाको संसदीय दलको बैठक आइतबार दिउँसो बस्ने भएको छ ।

सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाको संयुक्त बैठक बस्नुअघि जसपाको बैठक तय भएको हो ।

६ जना सांसद रहेको जसपा संसदीय दल एक ढिक्का नहुँदा सरकारविरुद्ध ल्याउन खोजिएको अविश्वास प्रस्ताव टरेको थियो । लामो समय अनिर्णयको बन्दी बनेको जसपा संसदीय दलको बैठकले गर्ने निर्णयले मुख्यमन्त्री शंकर पोखरेल नेतृत्वको सरकार जोगिने वा ढल्ने छिनोफानो हुनेछ ।

जसपाका ६ जना सांसदमध्ये पूर्वराजपाकी सांसद कल्पना पाण्डे लम्साल अविश्वास प्रस्तावको विपक्षमा छन् भने पूर्वसंघीय समाजवादी फोरमका विजयवबहादुर यादव र सन्तोष पाण्डे पनि पार्टी केन्द्रको लिखित निर्देशन आउनुपर्ने भन्दै अविश्वासको प्रस्तावको पक्षमा उभिन आलटाल गर्दै आएका छन् ।

प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी ओली समूह संसद विघटन गरेर प्रतिगमन र निरंकुश बाटोमा हिँड्नुका साथै विगतमा मधेश, आदिवासी जनजाति, समावेशिता, संघीयताका विषयमा अनुदार रहेकाले उनीहरुलाई समर्थन गर्न नसकिने नेता यादवले बताए ।

दुई हप्ताअघि जसपा सांसदहरु विभाजित हुँदा सरकारविरुद्धको अविश्वास प्रस्ताव तुहिएको थियो । लगत्तै सरकारले हतारमा संसद अधिवेशन समेत अन्त्य गरेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक फखरुद्धिन खानले जसपाको बैठकपछि तीन दलको बैठक बस्ने तय भएको बताए । ‘जसपा एकढिक्का भएर अविश्वास प्रस्तावको पक्षमा उभिने निर्णय भए १५ दिनमा लुम्बिनी प्रदेश सरकार ढल्छ,’ खानले भने, ‘कांग्रेस र माओवादी केन्द्र तयार छन् तर जसपाले हलो अड्काएर बसेको छ ।’

माओवादी केन्द्रका सचेतक तुलाराम घर्तीले शंकर पोखरेल नेतृत्वको सरकारको विकल्पमा बाँकी चार दल एक ठाउँमा उभिन तयार भएको बताए । जसपा एकढिक्का नभए पनि बहुमत पुर्‍याउने गरी आफूहरु अघि बढेको घर्तीको दाबी छ ।

८७ सदस्यीय प्रदेश सभामा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेका दुईजना सांसद पार्टीको कारबाहीपछि पदमुक्त भएकाले ८५ सदस्यीय भएको छ । जसमा एमालेका ४१ जना, नेपाली कांग्रेसका १९ जना, माओवादी केन्द्रका १७ जना, जसपाका ६ जना र राष्ट्रिय जनमोर्चाका एकजना सांसद छन् ।

गण्डकी प्रदेशमा जस्तै राष्ट्रिय जनमोर्चाले यहां पनि अविश्वास प्रस्तावको पक्षमा सहयोग गर्ने विपक्षी गठबन्धनको दाबी छ । जसपा एकढिक्का हुँदा सरकारको विपक्षमा ४४ मत हुन्छ । जुन बहुमत हो ।

पूर्वराजपाकी एकजनाले समर्थन नगरे पनि कणरलीमा जस्तै एमाले सांसदले नै फ्लोर क्रस गरेको खण्डमा पनि सरकार ढल्ने निश्चित हुन्छ ।

प्रदेश सभामा एमालेका ४१ जना सांसदमध्ये २ जना माधव नेपाल समूहमा खुलेका छन् भने अझै तीन चारजना नेपाल पक्षमै रहेको सो समूहको दाबी छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *