Sajhamanch Archive

धनकुटा नगर क्षेत्रका विद्यालय नौ दिनका लागि बन्द

Published: (Updated: ) in मिडियाबाट साभार, शिक्षा, समाज, स्वास्थ्य, by .

धनकुटा । विद्यार्थीमा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि धनकुटा नगरपालिका क्षेत्रका सबै शैक्षिक संस्था नौ दिनका लागि बन्द गरिएको छ । धनकुटा नगरपालिका कोभिड–१९ सङ्कट व्यवस्थापन समिति सीसीएमसीको आकस्मिक बैठकले बिहीवार (आज) देखि १७ गतेसम्मका लागि नगर क्षेत्रभित्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।

धनकुटा नगरपालिका ६ मा रहेको धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्समा अध्ययनरत २० वर्षीय छात्रमा बुधवार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । केही दिनदेखि ज्वरोले सताएपछि उनी मङ्गलवार जिल्ला अस्पताल धनकुटामा भर्ना भएका थिए । पीसीआर परीक्षण गर्दा उनको रिर्पोट पोजेटिभ आएको अस्पतालका सूचना अधिकारी राजनप्रसाद पोख्रेलले बताए ।

ती छात्रमा ज्वरोसहित निमोनिया पनि देखिएको छ । उनी अध्ययनरत कलेजमा १० जनाभन्दा धेरै विद्यार्थीहरुलाई ज्वरो आउने, रुघाखोकी लाग्ने जस्ता लक्षण देखिएको छ । विद्यार्थीमा कोरोना सङ्क्रमणसँग मिल्दोजुल्दो लक्षण देखिएपछि धनकुटा इन्स्टिच्युट अफ हेल्थ साइन्स कलेजले सूचना प्रकाशित गरी अर्को सूचना नआएसम्म अनिश्चितकालका लागि कलेज बन्द गरेको छ । कलेज बन्द गरिएपछि लक्षण देखिएका सबै विद्यार्थीको पीसीआर परीक्षण सुरु गरिएको छ ।

धनकुटा नगर क्षेत्रभित्र नै विद्यार्थीमा कोरोना सङ्क्रमण देखिएपछि धनकुटा नगरपालिका सीसीएमसीले गरेको निर्णय सार्वजनिक गर्दै धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले वैशाख ९ गतेदेखि १७ गतेसम्म धनकुटा नगर क्षेत्रभित्रका सबै शैक्षिक संस्था बन्द गर्न आह्वान गरेका छन् । ​

प्रकाशित सूचनामा भौतिक उपस्थितिमा गरिने पठनपाठन बन्द गरी अनलाइन वा वैकल्पिक सिकाइ विधि अपनाउन आग्रह गरिएको छ । साथै अहिले सञ्चालन हुँदै आएका परीक्षा भने स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गरी सञ्चालन गर्न भनिएको छ ।

धनकुटामा अहिले कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या दुई रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *