Sajhamanch Archive

कोरोनाको कारण बालाजु २२ धारा मेला स्थगित

Published: in मिडियाबाट साभार, राष्ट्रिय समाचार, समाज, by .

काठमाण्डौ । प्रत्येक वर्ष चैत्रशुक्ल पूर्णिमाका दिन स्नान मेला लाग्ने बालाजु बाइस धारा मेला यसवर्ष स्थगन गरिएको छ ।

नयाँ भेरियन्टसहितको कोरोना तीव्र रुपमा फैलन थालेपछि मेला स्थगन गरिएको काठमाण्डौ महानगरपालिका १६ का वडाध्यक्ष मुकुन्द रिजालले जानकारी दिएका छन् । प्रत्येक वर्ष चैत्रशुक्ल चतुर्दशीको बेलुकी पितृको सद्गतिको कामना गर्दै बौद्ध चैत्यमा दीप प्रज्वलन गरेका विशेषगरी तामाङ समुदायका भक्तजनले यस धारामा स्नान गर्न जाने परम्परा छ ।

बौद्ध चैत्यमा बत्ती बालेका तामाङ समुदायका भक्तजन पूर्णिमाका दिन बिहानै बालाजु बाइसधारा स्नान गर्छन् । सक्नेले नागार्जुनमा रहेको जामाचोमा दर्शन गरी त्यसैदिन स्वयम्भू चैत्यमा पूजा गर्नुपर्ने चलन छ । नसक्नेले बालाजु बाइसधारापछि सीधै स्वयम्भूमा पूजा गरेपछि तेमाल जात्रा समापन हुन्छ ।

कोरोनाबाट बच्न गएको वर्ष पनि बन्दाबन्दीका कारण जात्रा स्थगन गरिएको थियो । यस वर्ष पनि नयाँ भेरियन्टसहितको कोरोना तीव्र हुन थालेपछि जिल्ला प्रशासन कार्यालय काठमाण्डौको निर्देशानुसार जात्रा, मेला स्थगन गरिएको हो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *