Sajhamanch Archive

निषेधाज्ञाले मात्र संक्रमणको चेन ब्रेक गर्न नसकिने विज्ञहरूको सुझाव,थप तयारी नगरिए स्थिति भयावह हुने सक्ने चेतावनी

Published: (Updated: ) in मिडियाबाट साभार, मुख्य समाचार, राष्ट्रिय समाचार, विविधा, समाज by .

काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहरले यति बेला नेपाललाई गाँजेको छ ।

संक्रमित र मृतकको संख्याले दिनहुँ नयाँ रेकर्ड बनाउँदै छन् । सरकारले संक्रमणको चेन ब्रेक गर्न भन्दै निषेधाज्ञा जारी गरेको छ । तर, जनस्वास्थ्यविद्हरू भने निषेधज्ञाले मात्र संक्रमणको चेनब्रेक नहुने भन्दै थप तयारी नगरिए नेपालमा भारतको भन्दा भयावह आउन सक्ने चेतावनी दिएका छन् ।

निषेधाज्ञाको आठौं दिनसम्ममा ५६ हजार ४ सय ६६ जना कोरोना संक्रमित थपिएका छन् भने ३ सय १८ जनाको मत्यृ भइसकेको छ । यो अवधिमा संक्रमित र मृतकको संख्यामा कमी आउनुको सट्टा दिनहुँ नयाँ रेकर्ड बनिरहेको छ । संक्रमित हुनेभन्दा निको हुनेको संख्या निकै कम छ ।

समुदाय स्तरमा संक्रमण नफैलियोस् भनेर सरकारले ५० भन्दा बढी जिल्लामा निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञा संक्रमण रोकथाम तथा नियन्त्रणको एउटा विधिमात्र हो, यसले पूर्ण रूपमा संक्रमण नियन्त्रण गर्न भने सक्दैन । संक्रमण चेन ब्रेकका लागि निषेधाज्ञा मात्र यथेष्ट नहुने जनस्वास्थयविद् डा‍। शरद वन्तको तर्क छ ।

सरकारले गत वर्ष संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जुन विधि अपनाएको थियो अहिले पनि त्यही विधिमा मात्र सरकार केन्द्रीत छ । विगतबाट पाठ सिक्न नसक्दा अहिलेको हविगत आएको हो । यति मात्र होइन, गत वर्ष सरकारले संक्रमण रोकथामका लागि जति सक्रियता देखाएको थियो अहिले त्यस्तो देखिँदैन ।

संक्रमण चेन ब्रेक गर्न आयातित केसहरूलाई रोक्ने, परीक्षणको दायरा बढाउने र विगतको जस्तै कन्ट्याक्ट ट्रेसिङ र होमआइसोलेसनमा बसेकाहरूको उचित व्यवस्थापनमा सरकारले ध्यान दिन आवश्यक रहेको जनस्वास्थ्यविद्हरूले औँल्याएका छन् । सरकारले संक्रमण रोक्न थप प्रभावकारी कदम नचाल्ने हो भने हो भने अहिले भारत जुन अवस्थाबाट गुज्रिहेको छ नेपालमा त्योभन्दा पनि भयावह स्थिति आउने सक्ने विज्ञहरू बताउँछन् ।

यसअघि निकै सक्रिय देखिएका स्थानीय सरकार यसपटक भने चुपचाप झैँ देखिएका छन् । अबको केही दिनभित्रै प्रभावकारी कदम चाल्न नसकिए विज्ञहरूको भनाइ ढिलोचाँडो पुष्टि नहोला भन्न सकिन्न ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *