सदस्य र समाजप्रतिको दायित्व कसरी निर्वाह गर्दैछन् झापाका सहकारीहरु
Published:
by .झापा । सहकारी संस्था सदस्य केन्द्रित वित्तीय कारोबार गर्ने एवम् अभिभावकत्व निर्वाह गर्ने आफैंले स्थापना गरेको वा सहभागिता जनाएको संस्था हो । यसको पहिलो र मूल ध्येय भनेको सदस्यका लागि केन्द्रित सेवा र सुविधाहरु प्रवाह गरिन आवश्यक छ ।
आज कोभिड–१९ ले थाला परेको अर्थतन्त्रलाई केही हदसम्म चलायमान राख्न सहकारीको अहम् भूमिका पक्कै रहेको छ । राज्यका तीनै तहका सरकारको आदेश, निर्देशनको पालना गर्नुपर्ने सहकारी व्यवसायले निषेधाज्ञाको वर्तमान अवस्थामा आफ्ना सदस्यहरुलाई कुनै न कुनै विधिबाट सेवा प्रवाह गरिरहनु उनीहरु कर्तब्य ठान्दछन् ।
वैशाख ३१ गतेसम्मको खुकुलो निषेधाज्ञा र आज जेठ १ गतेदेखिको कडा निषेधाज्ञा (?) ले सहकारीलाई सदस्य सेवा प्रवाह गर्न पक्कै कठिन भएको छ । तर पनि सेवाभावले स्थापित र सञ्चालित संस्थाहरु आफ्नो कर्तब्यबाट च्युत भएका छैनन् । यसै सन्दर्भमा यहाँ केही सहकारी नेतृत्व एवम् कर्मचारीहरुसँग आफ्नो संस्थाले प्रवाह गरिरहेको सेवा प्रवाह एवम् सदस्यहरु लक्षित कार्यक्रमहरुबारे प्रतिक्रिया लिइएको छ ।
‘सामग्रीहरु स्टक रहुन्जेल ग्राहकलाई सिमित मात्रमा उपलब्ध गराउने प्रयासमा छौं’
सन्तोष श्रेष्ठ, व्यवस्थापकः सतासी बहुमुखी सहकारी संस्था
सतासी बहुमुखी सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई वित्तीय सेवा र उपभोक्ता सहकारी पसलको माध्यमबाट समाजका लागि उत्तरदायित्व निर्वाह गरिरहेको छ । हाल उपभोक्ताले सामान्य मूल्यमा पाउने दैनिक उपभोग्य सामग्रीहरु तोकिएको मूल्यभन्दा पनि बढी मूल्यमा खरिद गर्न बाध्य छन् । यस्तो अवस्थामा यस संस्थाले सञ्चालन गरेका उपभोक्ता पसलहरुबाट उपभोक्ता मूल्य वा सोभन्दा कममा नै उपलब्ध गराउने गरिएको छ ।
यस्तो परिस्थितिमा उपभोग्य वस्तुहरुको चरम अभाव हुने विगतको अनुभवलाई दृष्टिगत गरी अभाव हुन सक्ने सामग्रीहरु स्टक रहुन्जेल ग्राहकहरुलाई सिमित मात्र उपलब्ध गराउने प्रयास गरिएको छ । प्रशासनले व्यवसायका लागि तोकिदिएको समयलाई विशेष ख्याल गरी ग्राहकहरुलाई सामाजिक दूरी कायम हुने गरी पसलमा प्रवेश गर्न दिने व्यवस्था गरिएको छ ।
त्यसरी नै वित्तीय कारोबारतर्फ यस सहकारीले विषम परिस्थितिलाई मध्यनजर गरी कर्मचारीहरुलाई पालोपालो समय व्यवस्थापन गरी बिहान ९ बजेदेखि दिनको १ बजेसम्म सदस्यहरुलाई वित्तीय तथा रेमिटान्स सेवा उपलब्ध गराएको छ । बजार प्रतिनिधिहरुलाई पायक पर्ने शेयर सदस्यहरुको आर्थिक सुविधा उपलब्ध गराउन सम्पर्कमा राखेर फिल्ड कारोबार बन्द गरी हरेक कार्यालयमा सम्पर्क व्यक्तिको व्यवस्थापन गरेर सदस्यको वित्तीय आवश्यकता परिपूर्ति गर्ने दिशामा संस्था क्रियाशील छ ।
‘सदस्य वा कर्मचारीलाई कोभिड संक्रमण भए संस्थाले उपचार गर्छ’
भुपाल बस्नेत, सचिव: कर्णाली बचत तथा ऋण सहकारी संस्था
संस्थाको हालैको सञ्चालक समिति बैठकले कोभिडको महामारीका बेलामा कसरी सदस्यले उपयुक्त सेवा पाउँन सक्छन् भनी गरेका निर्णयहरु बुँदागतरुपमा यस्ता रहेका छन् ।
– संस्थका सेयर सदस्यहरु कोभिड संक्रमित भएर हस्पिटल उपचार गर्न जानु परेमा तत्काल १० हजार रुपैयाँसम्म उपचार खर्च उपलब्ध गराउने ।– दैनिक सदस्यहरुको घरदैलोमा सेवा दिने कर्मचारीहरुलाई कोभिड भएर उपचार गर्नु परेमा सम्पूर्ण खर्च संस्थाले ब्यहोर्ने तर घरैमा आइसोलेसनमा बस्नु परेमा दिनको ५०० रुपैयाँका दरले १५ दिनसम्मको पौष्टिक आहार खर्च उपलब्ध गराउने ।
– लघुवित्तको क्षेत्रमा बैठक नराखी केन्द्र प्रमुखले आफ्ना सदस्यको किस्ता उठाउने र कर्मचारी गएर त्यो रकम लिएर कार्यालय आउने ।
– कर्मचारीले सेनिटाइजर अनिवार्य बोक्ने र आवश्यकता अनुसार आफू र सदस्यहरुको सुरक्षाको ग्यारेन्टी गर्ने अभियानमा जुट्ने । अनि प्रत्येक लघुवित्तका केन्द्र प्रमुखहरुलाई पनि मास्क र सेनिटाइजर संस्थाले उपलब्ध गराउने साथै केन्द्रका सदस्यहरुलाई प्रमुख मार्फत सुरक्षित रहने ब्यवस्थाको पहल गर्ने ।
– कर्मचारीहरुलाई आलोपालोको ब्यवस्था गरी बिना भिडभाड संस्था सञ्चालन गर्ने ।
– आफ्ना सदस्य तथा कर्मचारीलाई कुनैपनि बिपत्तिमा संस्थाले अभिभावकत्ब ग्रहण गर्ने तहमा लिनुपर्ने जिम्मेवारी भएकाले सञ्चालक समितिको टोली सेवा केन्द्रको अवलोकन गर्न जाने । संस्था परिवारमा कतै कुनै आपत–विपत आउँछ कि भनी सञ्चालक समिति तथा कर्मचारी नेतृत्वहरु हाइअलर्टमा रहने ।
‘डिजिटल माध्यमबाट कारोबार गर्न सदस्यलाई प्रोत्साहित गरिरहेका छौं’
नबिन भण्डारी, प्रबन्धकः नेपाल बहुद्देश्यीय सहकारी संस्था
आजको हाम्रो मुख्य काम कोरोना महामारीबाट बच्नु र बचाउनु हो । त्यसका अलावा समुदायको जीवन शैलीलाई सामान्य राख्न हरदम प्रयत्नशील छौं । बैंकिङ्ग कारोबारका गर्न कार्यालयसम्म धाउन नपरोस् भन्नका लागि एनएमसी स्मार्ट एप्पलीकेशन र एटिएमको व्यवस्था गरिएको छ ।
डिजिटल भुक्तानी गर्न चाहनेहरुका लागि व्यवसायीहरुलाई क्यु आर कोड वितरण गरिएको छ । डिजिटल माध्यमबाट कारोबार गर्न असहज हुनेहरुका लागि सीमित अवधि तोकी बचत फिर्ता र कर्जा भुक्तानी प्रयोजनका लागि काउण्टर मात्र सञ्चालन गरी बैंकिङ्ग कार्यालयहरु खुल्ला गरेका छौं ।
एनएमसी डेरी उद्योगका उत्पादनहरु नियमित र सुरक्षित रुपमा बजारसम्म पुर्याइरहेका छौं । प्रशासनको निर्देशन बमोजिम एनएमसी सहकारी पसल र एनएमसी कृषि फर्मबाट अत्यावश्यक दैनिक उपभोग्य सामानहरु आपूर्ति गरिरहेका छौं ।
‘सदस्यको निक्षेप फिर्ता मागअनुसार घरमै पुर्याउँने व्यवस्था गरिएको छ’
भवानीप्रसाद दंगालः अध्यक्ष, हाम्रो नेपाल साकोस
- लकडाउनको अवधिमा पनि कार्यालय २ बजेसम्म खोलेर बित्तीय सेवा निरन्तर दिइरहेका छौं ।
- यो बीचमा फिल्डको घरदैलो सेवा बन्द गरिएको छ, तर सदस्यको फिर्ताको माग अनुसार घरमै रकम पुर्याउँने व्यवस्था गरिएको छ ।
- संस्थामा हालसम्म १४ जना कर्मचारीहरु कोभिड संक्रमित भएका छन् । उनीहरुको उपचारको सम्पूर्ण प्रबन्ध संस्थाले गरेको छ । प्रतिब्यक्ति ७ हजार रुपैयाँका दरले कोभिड भत्ता उपलब्ध गराइएको छ । जसमध्ये २ जना निको भई काममा फर्केका छन्, बाँकीको उपचार जारी छ । सबैजना सुरक्षित छन् ।
- अध्यक्ष, सचिव र ३ जना सिनियर कर्मचारी सम्मिलित ५ जनाको प्रकोप ब्यवस्थापन समिति गठन गरी महामारी अवधिभरको सम्पूर्ण कार्य अख्तियारी उक्त समितिलाई दिइएको छ ।
- जिल्ला संघको समन्वयमा आपतकालीन अक्सिजन र आइसोलेसन सेन्टरको प्रबन्ध गरिएको छ ।
- परामर्श दाताको रूपमा चिकित्सकको प्रबन्ध गरिएको छ ।
- समिति, उपसमिति र कर्मचारी सबैको पिसिआर टेस्टको सम्पूर्ण ब्यवस्था संस्थाले मिलाएको छ ।
- खाद्यान्नको अभाव भएका सदस्यहरुलाई प्रतिब्यक्ति १० हजार रुपैयाँका दरले बिना ब्याज सापटीको ब्यावस्था मिलाइएको छ ।
- महामारी अवधिभरको हर्जाना र जरिवाना सबै छुटको ब्यावस्था मिलाइएको छ ।
‘सम्भव भएसम्म सदस्यलाई घरघरमै वित्तीय सेवा दिइँदैछ’
तुलाराम न्यौपानेः अध्यक्ष, डाँफे साकोस
- संस्थाका पाँचवटै कार्यालय र सेवा केन्द्रमा बिहान १० देखि २ सम्म वित्तीय सेवा प्रदान गरिँदैछ ।
- विषम परिस्थितिमा पनि सदस्य केन्द्रित सेवालाई विशेष ध्यान दिइँदैछ ।
- सम्भव भएसम्म सदस्यलाई घरदैलोमा वित्तीय सेवा प्रदान गरिँदैछ ।
- आफ्ना सदस्यहरुले कुनै पनि हालतमा भोकै बस्नुपर्ने अवस्था आउन नदिने तथा कोभिड संक्रमितले उपचार नपाएर मर्नुपर्ने छैन ।
- स्थानीय सरकारले आफूहरुसँग वित्तीय सहयोगको अपेक्षा राखेमा पछि नहट्ने, समुदायका लागि सचेतनामुलक काम गर्न अग्रसर ।
‘निषेधाज्ञाको पूर्ण पालना गर्दै सदस्यको वित्तीय आवश्यकता पूरा गर्न अग्रसर छौं’
यामकुमार चुडालः अध्यक्ष, सञ्जिवनी साकोस
– सरकारले जारी गरेको निषेधाज्ञाको पूर्णरुपमा पालना गर्ने गरी सबै कार्यालय तथा सेवा केन्द्रहरु बन्द गरिएको छ ।
– वैशाख ३१ गते सदस्यको वित्तीय आवश्यकता पूरा गर्न एक दिन कार्यालय खोलिनेछ ।
– अन्य दिनहरुमा हरेक सेवा केन्द्रमा तोकिएका व्यक्तिहरुसँग समन्वय गरी सदस्यको घरदैलोमा वित्तीय सेवा प्रवाह गरिँदैछ ।
आजदेखि थपिएको कडा निषेधाज्ञामा कसले के गर्ने ?
यी प्रतिक्रिया र सेवाहरुबारे जानकारी संकलन गरिसक्दा झापाको स्थानीय प्रशासनले आज जेठ १ गतेदेखि कसैलाई घर बाहिर ननिस्कन आग्रह गर्दै पूर्ण निषेधाज्ञा जारी गरेको छ ।
यस्तो विषम परिस्थितिमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले आफ्ना सम्पूर्ण बैंकिङ कार्यालहरु तथा सहकारी पसलहरु जेठ ७ गते शुक्रबारसम्म बन्द गर्ने निर्णय गरेको छ । एनएमसी एकीकृत नमूना कृषि फर्म, एनएमसी डेरी तथा चिया उद्योग प्रशासनले तोकेको नियम पालना गर्दै सञ्चालन गरिने प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेतीले जनाएका छन् । संस्थाले हरेक बैंकिङ कार्यालयमा दुईजना सम्पर्क व्यक्ति तोकेर सदस्यलाई वित्तीय सेवा प्रवाह गरिरहन पनि भनेको छ ।
यसैगरी, सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले कार्यालयस्तरमा कर्मचारी खटाएर बिहान बेलुका उपयुक्त समयमा घरमा नै गएर वित्तीय सेवा प्रदान गर्ने सूचना जारी गरेको छ । संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले शुक्रबार सूचना प्रकाशन गरेर हप्ताको एक दिन बुधबार १० बजेदेखि २ बजेसम्म सिमित कर्मचारीबाट सबै कार्यालयमार्फत् वित्तीय सेवा प्रवाह गरिने निर्णय भएको पनि जानकारी गराएका छन् ।
मेचीनगरको ईटाभट्टास्थित मेची कृषक बहुमुखी सहकारी संस्थाले पनि शुक्रबार एउटा सूचना जारी गर्दै स्थानीय प्रशासनको अनुरोधलाई स्वीकार गरी एकसाता सबै कारोबार बन्द गर्ने निर्णय गरेको छ । संस्थाका व्यवस्थापक दिपक काफ्लेले सो सम्बन्धी सूचना प्रकाशन गरेका हुन् ।
यसोगरे कसो होला ?
सहकारी संस्थाको कर्तब्य र जिम्मेवारी भनेको पहिले आफ्ना सदस्यहरुको आवश्यकता सम्बोधन गर्ने हो । वित्तीय आवश्यकतासँगै अभिभावकत्वले कम्तिमा आफ्ना सदस्यहरु सधैं जागरुक भइरहन्छन् । यसैले पनि आजको जस्तो महामारीका बेलामा मात्र होइन, जुनसुकै समयमा सबैभन्दा पहिले सदस्यप्रति केन्द्रित हुा आवश्यक छ ।
आजको दायित्व भनेको प्रारम्भिक सहकारी संस्थाले आफ्ना सदस्यहरू जो कोरोनाबाट संक्रमित भएका छन्, उनीहरूले सही समयमा सही उपचार र आवश्यकता अनुसारका पोषण खानेकुरा पाएका छन् कि छैनन् भन्ने कुरामा ध्यान दिनु हो । यदि सबै प्रारम्भिक सहकारी संस्थाले सदस्यहरुप्रति यस्तो भावना राखेमा सहकारीप्रतिको आम दृष्टिकोणमा पनि रूपान्तरण हुनेछ । प्रारम्भिक सहकारी संस्थाले आफ्ना सदस्यको अवस्था नजिकबाट नियालेपछि सामाजिक उत्तरदायित्व पनि झल्कने नै छ ।
पछिल्लो निषेधाज्ञाले यो सेवा सहज पक्कै नहोला । तर पनि गर्न चाह्यो भने अभियानले साथ दिनेछ, दिनुपर्नेछ । सहजीकरणका लागि स्थानीय प्रशासनसमेत अग्रसर हुनेछ भन्नेमा द्विविधा पाल्न हुँदैन ।
गएको वर्षको यो समयमा भन्दा अहिले संक्रमण तीब्र गतिमा फैलिएको छ । घर बाहिर जान सक्ने अवस्था कमजोर हुँदैछ । गतवर्ष नै यो स्तम्भकारले सहकारी अभियानलाई यसोगरे कसो होला भनी सुझाव दिएको हो । तर उतिबेला समुदायको भलाईको महान उद्देश्य राखेर कोरोना परीक्षण गर्ने पिसिआर मेसिनमा सहकारी अभियान पनि जोडियो । आज सोसमेतको सफलतासँगै सहकारी संघहरूले प्रारम्भिक संस्थाहरुलाई सदस्य लक्षित सेवा प्रवाह गर्ने बाटो देखाउन सकुन् । सदस्य सुरक्षित रहे संस्था, अनि समुदाय, होइन त !?
Comments