Sajhamanch Archive

बिर्तामोडका मेयरलाई हाम्रो नेपाल साकोसको सम्मान

Published: (Updated: ) in मुख्य समाचार, सहकारी by .

बिर्तामोड । झापाको बिर्तामोडमा मुख्य कार्यालय रहेर जिल्लाभर कार्यक्षेत्र विस्तारित हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्थाले यही भदौ २२ गते छैटौं वार्षिक साधारणसभाको तयारी गरेको छ ।

संस्थाको मुख्य कार्यालयमा मंगलबार पत्रकार सम्मेलन गरी वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै संस्थाका अध्यक्ष भवानीप्रसाद दंगालले साधारणसभाको तयारी पूरा भएको जानकारी दिएका हुन् ।

साधारणसभाको उद्घाटन राष्ट्रिय सहकारी महासंघका अध्यक्ष केशवप्रसाद बडाल र राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले गर्ने तय भएको जनाइएको छ ।

झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालको प्रमुख आतिथ्यमा आयोजित प्रतिवेदन सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा साकोसले गर्न पाउने अधिकार क्षेत्रभित्रका चारवटै विधामा काम गरिरहेको उल्लेख छ ।

जिल्ला संघका अध्यक्ष ढकालले सहकारी अभियानका कारण सदस्यहरुमा साक्षरता वृद्धि भएको, वित्तीय क्षमताको विकास भएको, तथा बीमा गरी सुरक्षणतर्फ अग्रसर हुन सकेको बताए ।

सहकारी संस्थामा गरिएको शेयर लगानीबाट लाभांश प्रतिफल खोज्नुभन्दा सेवा व्यवसायलाई प्राथमिकतामा राखिने भएको भन्दै अध्यक्ष ढकालले सहकारी ऐनमा १८ प्रतिशत बोनस दिन पाउने प्रावधान राखेता पनि १५ प्रतिशतभन्दा उठ्न नसकेको प्रष्ट पारे ।

हाम्रो नेपाल सहकारी संस्था स्थापना भएको वर्ष २०६९ भदौ २२ गते प्रारम्भिक साधारणसभा गरेदेखि हरेक वर्ष भदौ २२ गते नियमितरुपमा साधारणसभा गरिँदै आएको छ ।

संस्थाले जिल्लाका पाँचवटा सेवा केन्द्रमार्फत् चार हजार ५१० जना सदस्यहरुलाई सेवा प्रवाह गर्दा चार करोड १७ लाख ६ हजार रुपैयाँ शेयर पूँजी संकलन गरेको छ ।

जिल्लाको उत्कृष्ट १० सहकारी संस्थाको सूचिमा रहेको हाम्रो नेपाल साकोसले विभिन्न कोषहरुमा दुई करोड १७ लाख ८१ हजार रुपैयाँभन्दा बढी जगेडा गरेर सानामसिना अप्ठ्याहरुलाई स्वयम् किनारा लगाउन सक्ने हैसियत पनि बनाएको छ ।

साधारणसभामा प्रस्तुत गर्नका लागि तयार गरिएको वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख भएअनुसार संस्थासँग १७ करोड ९२ लाख रुपैयाँभन्दा बढी निक्षेप मौज्दात रहेको छ भने २२ करोड ८३ लाख रुपैयाँभन्दा बढी कर्जा लगानी गरिएको उल्लेख छ ।

हाम्रो नेपाल साकोसले दीर्घकालीन योजना बनाएर संस्थालाई हिंडाइरहेको बताउँदै अध्यक्ष दंगालले भने ‘दोस्रो पञ्चवर्षीय योजनाअनुरुप संस्था विकासको चरणमा पुगेकाले आगामी पाँचवर्ष यसैमा आधारित रहेर काम गरिनेछ ।’ उनका अनुसार सहकारीको संस्थागत विकासका पाँच आधारस्तम्भहरुलाई पालना गर्ने संस्थाको लक्ष्य छ ।

संस्थाले साधारणसभामा वितरण गर्ने प्रतिवेदनलाई यो वर्ष थप सरल र सदस्यले बुझ्न सजिलो हुने किसिमको बनाएको अध्यक्षको दावी छ ।

प्रतिवेदनमा वितेका ६ वर्षको शेयर पूँजी, सदस्य संख्या, निक्षेप मौज्दात, कर्जा लगानीको अवस्था, कोष हिसाब र सञ्चालन मुनाफाको अवस्थाका बारेमा बारचार्ट बनाएर गरिएको प्रस्तुतिले बुझ्न सरल हुने अध्यक्ष दंगालको दावी छ ।

संस्थाले सामाजिक कार्यका क्षेत्रमा जन्मदेखि मृत्युसम्मका पाँच विविध अवस्थालाई चित्रण गरी सहयोग पुर्याउँदै आएको हाम्रो नेपाल साकोसले सहकारी संस्था शेयर सदस्यको अभिभावक पनि हो भन्ने दृष्टान्तलाई थप मजबुत बनाउँदै लगेको छ ।

साधारणसभाको अवसरमा बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी र मेची सहकारी संस्था दमकका व्यवस्थापक खोमप्रसाद बगालेलाई सम्मान गरिने पनि जनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *