Sajhamanch Archive

बिर्तामोड नगरपालिकाको बजेट, नीति तथा कार्यक्रम सार्वजनिक

Published: in मुख्य समाचार, राष्ट्रिय समाचार, स्थानीय तह by .

बिर्तामोड । बिर्तामोड नगरपालिकाको गत असार १० गते भएको दोस्रो नगरसभाबाट पारित आर्थिक बर्ष २०७५/०७६ को बजेट, नीति तथा कार्यक्रम आज सार्वजनिक गरिएको छ ।

प्रदेशसभा सांसद एकराज कार्कीको प्रमुख आतिथ्यमा नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले ८ पृष्ठ लामो कार्यक्रम बाचन गरेर सुनाए ।

आ.व. २०७५/०७६ का लागि नगरपालिकाको नगर विकास योजना तर्जुमा गर्न स्थानीय सरकार सञ्चालन ऐन २०७४ र नगरपालिकाको वस्तुगत अवस्थालाई मुख्य आधार बनाएर नीति तथा कार्यक्रम बनाएको नगरप्रमुख शिवाकोटीले बताए ।

जसअनुसार आन्तरिक आम्दानी १४ करोड, नेपाल सरकार वित्तीय समानिकरणबाट २० करोड २३ लाख ८४ हजार, सडक बोर्ड नेपालबाट ३५ लाख, नेपाल सरकार सशर्त अनुदान २२ करोड २५ लाख ९४ हजार, सामाजिक सुरक्षा भत्ता ९ करोड प्राप्त हुनेछ ।

यसैगरी, स्थानीय शासन तथा सामुदायिक विकास कार्यक्रम १० लाख, लागत सहभागिता ४ करोड र संघीय सरकारको राजश्व बाँंडफाँड वापत प्राप्त हुने रकम १० करोड २३ लाख गरी जम्मा ८० करोड १७ लाख ७८ हजार आम्दानी अनुमान गरी सोही बमोजिम खर्च गर्ने नीति तथा कार्यक्रम बनाइएको जानकारी गराए ।

गत आवमा नगरपालिकाको यथार्थ आन्तरिक आय ६ करोड ६१ लाख ४० हजार ८९९ रुपैयाँ ४६ पैसा, समानीकरण अनुदान २८ करोड ९६ लाख ८७ हजार, सशर्त अनुदान १४ करोड ३१ लाख ३२ हजार ९९४ रुपैयाँ, सामाजिक सुरक्षा भत्ता वापत ८ करोड ८६ लाख ४ हजार रुपैयाँ प्राप्त भएको छ ।

यसैगरी, प्रदेश सरकार मार्फत २५ लाख र अन्य अनुदान १० करोड ३९ लाख ६६ हजार ४२० रुपैयाँ ३० पैंसा गरी जम्मा ६९ करोड ४० लाख ३१ हजार ३१३ रुपैयाँ ७६ पैसा प्राप्त भएको थियो । उक्त रकममध्ये चालु खर्च २३ करोड ९८ लाख ५७ हजार ७९८ रुपैया ३० पैसा र पूँजीगत खर्च ३० करोड ८१ लाख ६१ हजार ५६० रुपैयाँ र सामाजिक सुरक्षा ९ करोड ८ लाख ५५ हजार ४३३ रुपैयाँ खर्च भएको जनाइएको छ ।

नगरपालिकाले मेयर विषादीमुक्त नगर कार्यक्रमलाई निरन्तरता दिएको छ । यसैगरी गर्भवती महिलाहरुको लागि निःशुल्क क्याल्सियम चक्की उपलब्ध गराउन नगर उपप्रमुख महिला सुरक्षा कार्यक्रमलाई पनि निरन्तरता दिन आवश्यक बजेटको व्यवस्था मिलाइएको उल्लेख छ ।

पशुमा कृत्रिम गर्भधान कार्यक्रमलाई सर्वसुलभ बनाउने घोषणा गर्दै पशु स्वास्थ्य कार्यक्रम अन्तर्गत क्लिनिकल कार्यक्रमलाई १० वटै वडामा घुम्ती क्लिनिकको रुपमा तालिका बनाई सञ्चालन गर्ने जनाइएको छ ।

आगामी ४ वर्षभित्र नगरको साक्षरता दरलाई शतप्रतिशत पुर्याई गुणस्तरीय शिक्षा अभिवृद्धि गर्ने नगरपालिकाले लक्ष्य लिएको छ । सामुदायिक विद्यालयहरुको भौतिक र शैक्षिक विकासका लागि गत वर्षको बजेटमा ६४ प्रतिशत वृद्धि गरी २ करोड ३४ लाख २० हजार बजेटको व्यवस्था गरिएको बजेट पुस्तिकामा उल्लेख छ ।

उक्त रकमबाट विद्यालयका फर्निचर, शैक्षिक सामग्री वितरण, घेराबारा निर्माण, भवन निर्माण, कम्प्युटर खरिद, प्रयोगशाला निर्माण, खानेपानीको व्यवस्थापन तथा शौचालय निर्माणका लागि बजेट विनियोजन गरिएको छ ।

आर्थिक वर्ष २०७५/०७६को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहमा नगर उपप्रमुख पवित्रा महतारा प्रसाईले यसका विशेषका बारेमा प्रष्ट पारेकी थिइन् ।

पारित नीति तथा कार्यक्रममा नगरपालिकाको आन्तरिक स्रोतलाई दिगो, फराकिलो र मितव्ययीय बनाउँदै स्थानीय स्रोत, साधनलाई अधिकतम परिचालन गर्ने व्यवस्था मिलाइएको छ ।

नगरको आन्तरिक स्रोत अभिवृद्धि गर्न स्थानीय व्यवसायी, व्यापारी, उपभोक्ता, राजनीतिक दल, नागरिक समाज तथा अन्य लब्धप्रतिष्ठित व्यक्तित्वहरुसँग परामर्श गरेर कार्यान्वयमा लैजाने बताइएको छ ।

सडक, ढल, पूल पुलेसा तथा अन्य भौतिक पूर्वाधारका संरचनाहरु निर्माण गर्दा स्थानीय सहभागितालाई अधिकतम परिचालन गरी ५०ः५० प्रतिशत लागतका आयोजनाहरु सञ्चालन गर्न प्राथमिकता दिइएको उल्लेख छ ।

नेपाल सरकारको सुखी नेपाली, समृद्ध नेपाल को दूरदृष्टि र संयुक्त राष्ट्र संघको तीब्र विकास र दिगो विकास को लक्ष्य प्राप्त गर्नेतर्फ यो बजेट परिलक्षित भएको उपप्रमुख प्रसाईको दावी छ ।

कार्यक्रममा प्रदेशसभा सांसदहरु एकराज कार्की, जसमाया गजमेर, एमाले नेता ज्ञानुराम प्रसाई, जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल, राप्रपा नेता शंकर रिजाल लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

नगर विकास योजना पुस्तिकाको पृष्ठ ८६ निर्णय नं. २८ मा उल्लेखित बुँदा ‘नगरसभाको अधिकार नगर कार्यपालिकालाई प्रत्यायोजन गर्ने निर्णय गरियो’ भन्ने वाक्यांशले चाहिँ सभामा सहभागी धेरैको जिज्ञासा उत्पन्न गराएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *