Sajhamanch Archive

विषम परिस्थितिमा पनि निरन्तर सेवामा झापाको एनएमसी डेरी उद्योग (भिडियो रिपोर्टसहित)

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, सहकारी, by .

मेचीनगर । झापाको मेचीनगर नगरपालिका कार्यालयको सामुन्ने रहेको एनएमसी डेरी मेचीनगरको मात्र होइन, झापाकै गहना बन्दै गएको छ । कच्चा दूध तथा दूधजन्य वस्तुहरु उपभोग गर्दै आएका झापाबासीलाई एनएमसी डेरीले प्रशोधित दूधको सेवन गर्ने बानीको विकास गरिदिएको छ । ६ वर्षअघि सञ्चालनमा ल्याइएको डेरी उद्योगको स्लोगान ‘गोठदेखि ओठसम्म’ बनाइएको छ, जुन नारालाई सार्थक कार्यान्वयन गर्न उद्योग लागिपरेको सञ्चालकहरुको भनाई छ ।

नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको पूर्ण स्वामित्वमा सञ्चालित एनएमसी डेरीले वर्तमान निशेधाज्ञाको अवधिमा पनि बजारको मागअनुसार आफ्ना उत्पादनहरु बिक्री वितरण गरिरहेको पाइएको छ । गतवर्षको लामो लकडाउनमा झापामा प्रहरी–प्रशासनले डेरी प्रोडक्टको संवेदनशीलतालाई समेत नबुझी दूध ढुवानीका साधन र त्यसका चालक–परिचालकलाई घण्टौंसम्म घाममा उभ्याएका थिए ।

उक्त तीतो यथार्थ स्मरण गर्दै डेरी व्यवसाय समितिका संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष नारायणप्रसाद कोइराला भन्छन् ‘अहिलेको निशेधाज्ञामा त्यस्तो दूव्र्यवहार भोग्नु परेको छैन । गतवर्ष तालमेल नमिलेर त्यस्तो भएको हुनसक्छ तर अहिले एनएमसीको टी–सर्ट लगाएका कर्मचारीले परिचयपत्र देखाएर दुग्ध वस्तुको ढुवानी गर्ने गरेकोले आवतजावतमा कुनै रोकावट छैन ।’

डेरी उद्योग सञ्चालनका लागि कर्मचारी आवतजावत गर्नमा समेत गतवर्षको लकडाउनमा ठूलो व्यवधान खप्नु परेको सम्झन्छन् प्रशासनिक प्रमुख नवराज अधिकारी । जिल्ला प्रशासन र स्थानीय सरकारबाट स्वीकृति लिएर डेरी प्रोडक्ट डेलिभरी गर्दा पनि धेरै दुःख पाइएकोमा अहिले त्यस्तो अवस्था नरहेको प्रशासनिक प्रमुख अधिकारी बताउँछन् । ‘अहिलेको निशेधाज्ञामा कतैबाट अनुमति लिने आवश्यकता परेको छैन । बरु उद्योगका हामी कर्मचारीहरु जिम्मेवार भएर परिचयपत्र धारण गरेर आवतजावत गर्ने गरेका छौं’ अधिकारीको भनाई छ ।

व्यवसाय समितिका संयोजक कोइराला र प्रशासनिक प्रमुख अधिकारीको दावीले बजारमा एनएमसी डेरीका उत्पादनहरु सहजै उपलब्ध भइरहेको बताउँछ । तर नियमित आम उपभोक्ताहरु चाहिँ बजारमा दूध दही किन्नै नपाएको गुनासो गर्छन् । किन यस्तो भइरहेको हो भनी जिज्ञासा राख्दा डेरी व्यवसाय समितिका संयोजक कोइराला डेलिभरीको समय र बिक्रेता बीचको तालमेल नमिलेको जिकिर गर्छन् ।

केही ठाउँका उपभोक्ताले आफ्नो डेरीका उत्पादन नियमित उपभोग गर्न नपाएकोमा दुःख ब्यक्त गर्दै उनले भने, ‘यहाँ पनि तालमेल नमिलेका कारण समस्या भइरहेको छ । बिहान सबेरै डेरी पार्लर र बिक्रेताकोमा दुग्धजन्य बस्तु बोकेर गाडीहरु पुगेपनि निशेधाज्ञाका कारण बिक्रेतासँग समन्वय नहुँदा र दिएका ठाउँमा पनि बेच्न नपाएर अभाव देखिएको हो ।’

बजारमा माग भएअनुसार दूध, दही, घिऊ, पनिर पठाइने गरेपनि मिठाइजन्य बस्तुको उत्पादन थोरै मात्रामा हुने गरेको प्रशासनिक प्रमुख अधिकारीको भनाई छ । सहज अवस्थामा जस्तो धेरै उत्पादन नगरी माग अनुसारका मिठाइहरु उत्पादन गरेर पठाइन्छ, तर हाल ठूलो परिमाणमा छैन’ प्रशासनिक प्रमुख अधिकारी बताउँछन् ।

एनएमसी डेरी उद्योगको उत्पादन क्षमता प्रतिघण्टा ३ हजार लिटर दूध प्रशोधन गर्ने भए पनि हासलम्म १५ हजार लिटर हाराहारीमात्र प्रशोधन गरी दुग्धजन्य वस्तुहरु उत्पादन गर्ने गरिएको छ । उद्योगसँग ४५ सय हाराहारी दूध उत्पादक किसानहरु प्रत्यक्ष जोडिएका र ३७ वटा चिस्यान केन्द्रहरु पनि सोही उद्योगमा निर्भर रहेको तथ्याङ्क छ ।

तर आजको विषम परिस्थितिमा अब डेरी उद्योगले वार्षिक लक्ष्यको ८५ प्रतिशतमात्र सफलता हासिल गर्ने अवस्था बनेको प्रशासनिक प्रमुख नवराज अधिकारीको प्रक्षेपण छ । उनी भन्छन्, ‘गत चैत महिनामा साढेचार लाख लिटर कच्चा दूध खरिद गरिएकोमा वैशाखमा चार लाख लिटरमा झरेको थियो । जेठको १५ सम्ममा आउँदा एक लाख २५ हजार लिटरमात्र संकलन भएको छ । जेठभरमा सवादुई लाख कलेक्सन होला । यो हिसाबले हेर्दा दुई महिनाको बन्दाबन्दीका कारण हाम्रो वार्षिक लक्ष्यमा १५ प्रतिशतले कमी आउने सम्भावना रहेको छ ।’

एनएमसीले डेरी उद्योग खोलेपछि आफ्नो संस्थाका सदस्यहरुलाई सहुलियतमा कर्जा प्रवाह गरी गाईपालनमा उत्प्रेरित गरेको थियो । जसले गाई भैंसी पालेर दूध उत्पादन गर्थे उनीहरुलाई गुणस्तरीय दूधका सम्बन्धमा तालिम पनि दिइएको थियो । डेरीले दुग्धजन्य बस्तु उत्पादनमा राम्रै गति लिए पछि कृषक सदस्यले राहत महसुस गरेका थिए । तर डेरी उद्योगले समय समयमा मिल्क होलिडे गरेर कृषकलाई आहत पारिरहेको गुनासो पनि छ ।

किन गरिन्छ मिल्क होलिडे, अनि यसको अन्त्य किन भइरहेको छैन ? साझामञ्चको प्रश्नमा व्यवसाय समितिका संयोजक कोइरालाले भने, ‘बाध्यताले मिल्क होलिडे गर्नुपरिरहेको हो । वर्तमान अवस्थाप्रति दूध उत्पादक कृषकहरु पनि जानकार नै हुनुहुन्छ । यद्यपी हामीले भनेअनुसार नै दूध खरिद गर्न चाहँदा चाहँदै पनि विषम परिस्थितिका कारण मिल्क होलिडे गर्नुपरेकोमा उहाँहरुसमक्ष क्षमा पनि चाहान्छौं ।’

नारायणप्रसाद कोइराला

मिल्क होलिडे हुन नदिने गरी डेरीले उपलब्ध सबै दूध खरिद गर्ने स्थापनाकालको योजना धूलो दूलो उत्पादन गर्ने उद्योगको अभावमा प्रभावित भएको प्रशासनिक प्रमुख नवराज अधिकारी प्रष्ट पार्छन् । दुग्ध विकास संस्था बिराटनगर, चितवन डेरी र पोखरामा धूलो दूध उत्पादन गर्ने कारखाना छन् । तर घानी पुग्ने गरी एकैपटक ३५–४० हजार लिटर दूध पठाउन सम्भव नभएका कारण उक्त कार्य रोकिएको छ । सो प्रयोजनका लागि एनएमसी डेरी उद्योगसँग साढे १० हजार लिटर क्षमताको टेंकी त छ । तर पनि एकैपटक घानी पग्ने गरी धुलो बनाउने दूध पठाउन सम्भव नभएकाले यहाँका किसानले मिल्क होलिडे झेल्नु परेको प्रशासनिक प्रमुख नवराज अधिकारी प्रष्ट पार्छन् ।

हिजोआजको विषम परिस्थितिमा पनि डेरीसँग आवद्ध गाईफर्महरुले चाहिँ गुणस्तरीय दूध डेरी उद्योगमा नै ल्याइदिने भएका कारण उनीहरुले मिल्क होलिडे भोग्नु गरेको छैन । तर सबै किसानको घरमा नै गएर दूध संकलन गर्ने परिस्थिति वर्तमानमा नरहेकोले यसलाई साना किसानहरुले गुनासोका रुपमा नलिइदिन डेरीका प्रशासनिक प्रमुख अधिकारीको आग्रह छ ।

एनएमसी डेरीको प्रशोधित दूध अरु उद्योगले बजारमा बेच्न पठाएको तुलनामा धेरै बाक्लो हुन्छ । यस्तो बाक्लोपना हुनुमा एनएमसीले विभिन्न केमिकल मिसाएको वा पाउडर घोलेर मिसाएर बाक्लो बनाएको जस्ता मनगढन्ते शंकाहरु पनि सुन्ने गरिन्छ । तर एनएमसी डेरीको प्रशोधित दूध बाक्लो हुनुको वास्तविकता मिसावट नभई प्रविधि कै कारण भएको क्वालिटी कन्ट्रोल अफिसर जमुना गुरुङ स्पष्ट पार्छिन् ।

‘एनएमसी डेरी उद्योगले कच्चा दूधलाई निश्चित तापक्रममा उमाल्ने अर्थात् पास्चोराइज्ड गरेपछि त्यसमा रहेको चिल्लो पदार्थ फ्याटलाई सबैभन्दा सानो इकाइमा टुक्रापार्ने वा होमोजिनाइज्ड गरिएको हुन्छ । होमोजिनाइज्ड गरेको दूधमा फ्याटको मात्रा सबै अंशमा बराबर पर्ने र उमाल्दा पातलोमात्र छाली लाग्ने भएकाले दूध बाक्लो हुन्छ । यसमा कुनै केमिकल मिसाएको हुँदैन’ क्वालिटी कन्ट्रोल अफिसर गुरुङको भनाई छ ।

पूर्वमै ठूलो लगानी गरेर सहकारीले सञ्चालनमा ल्याएको एनएमसी डेरी उद्योगबाट लाभान्वित दूध उत्पादक किसानहरुले मिल्क होलिडेको गुनासो नगर्ने र हाल दूधजन्य वस्तु उपभोग गर्न वञ्चित उपभोक्ताहरुले पनि निशेधाज्ञाको अवधि भर धैर्य गर्ने बेला आएको देखिन्छ ।

हेर्नुस् भिडियो रिपोर्टः

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *