झापाका स्थानीय सरकारको अग्रसरतामा कोभिड–१९ नियन्त्रणउन्मुख
Published: (Updated: )
by .झापा । कोभिड–१९ को दोस्रो लहर चलिरहँदा झापाका स्थानीय तहहरुले नागरिकको जिउज्यान बचाउन आफ्ना आफ्नै तरिकाले काम गरेका छन् । कोरोना संक्रमितहरुको संंख्या दिनदिनै बढ्न थालेपछि गतवर्ष स्थापित आइसोलेशन सेन्टरहरु पुनः प्रयोगमा ल्याउनेदेखि प्राणवायु अक्सिजन सिलिण्डरको जोहो गर्नेसम्मको अभ्यास गरेको पाइन्छ । कतिपय पालिका तथा वडाका जनप्रतिनिधिहरुले विपन्नको चुल्हो बले नबलेको पनि खाजीनीति गरी खाद्यान्न प्रदान गरेका छन् भने कतैकतै अक्सिजन प्लान्ट राख्ने तयारी सुरु भएको पाइएको छ ।
झापामा १५ वटा स्थानीय तह छन् । यीमध्ये कतिपय स्थानीय तहका जनप्रतिनिधिहरु आफंै अग्रसर भएर कोभिड संक्रमितको उपचारमा जुटेका छन् । गतवर्ष चैत ११ गतेदेखि भएको लकडाउनमा आफ्नो पालिकामा बसोबास गर्ने दैनिक ज्यालादारीका श्रमिक तथा विपन्न (!?) परिवारलाई खाद्यान्नको अभाव टार्न अग्रसर जनप्रतिनिधि तथा कर्मचारीहरु अहिले त्यता अल्मिलिएको पाइन्न । बरु आफ्ना मतदाताको स्वास्थ्य अवस्था बुझ्न घरघरै पुगेको भेटिन्छ ।
कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले पोषिलो खानेकुरासहित कोरोना संक्रमित नगरबासीकोमा पुगेर उनीहरुको आत्मबल बढाएका थिए । कोभिड–१९ महामारीको यो अवस्थामा संक्रमितको घरघरमा चिकित्सक, औषधी तथा अक्सिजन सिलिण्डर पुर्याएर नगरप्रमुख पोखरेल चर्चामा पनि आएका ब्यक्ति हुन् । यस्तो कार्यलाई उनले निरन्तरता दिएका छन् ।
यतिमात्र होइन, देशभर अक्सिजनको अभाव भई कोरोना संक्रमितको मृत्यु भइरहेका बेला कनकाई नगरपालिकाका प्रमुख पोखरेलले नगरपालिकाबाट प्राप्त भएको विगत तीन वर्षको पारिश्रमिक तथा भत्ता वापतको रकम १० लाख रुपैयाँ अक्सिजन प्लान्ट निर्माणमा सहयोग गरेका छन् ।
‘नगरबासीले जनप्रतिनिधिको आवश्यकता यस्तै साह्रो–गाह्रो भएका बेला महसुस गर्दा रहेछन् । त्यही अनुभवका आधारमा मैले नगरक्षेत्रमा नै निर्माण गरिने अक्सिजन प्लान्टको काम शुरु गरौं भनेर रकम प्रदान गरेको हुँ’ नगरप्रमुख पोखरेलको भनाई छ ।
यही प्रेरणाले कनकाई नगरपालिका बोर्डले आफ्नै पहलमा सुरुङ्गास्थित नगर अस्पतालमा करिब २ करोड रुपैयाँको लागतमा दैनिक ५० वटा ठूलो सिलिण्डर भर्न मिल्ने अक्सिजन प्लान्ट राख्ने निर्णय पनि गरेको छ । जसका लागि नगरपालिकाले चालू बजेटबाट एक करोडसम्म खर्च गर्ने र स्थानीय सहयोगी मनहरुबाट एक करोडको आश्वासन प्राप्त भएको जनाइएको छ ।
झापाको बुद्धशान्ति गाउँपालिकाले कोरोना संक्रमितको उपचार सर्वसुलभ गर्ने उद्देश्यले २५ बेडको आइसोलोशन सञ्चालनमा ल्याएको छ । अक्सिजनसहितको आइसोलोशन सञ्चालनसँगै निमोनिया जाँचको लागि एक्स–रेको सुविधा पनि दिइएको छ । गाउँपालिकाले कोरोनाको उपचारलाई निःशुल्क गरेको छ । जिल्लामा कोभिड–१९ को उपचार गर्ने अस्पतालको अभावमा संक्रमितले उपचार नपाएर मर्न थालेको अवस्थामा पालिकाले बनाएको आइसोलेशन सेन्टरबाट धेरैले राहत पाएको बताएका छन् ।
बुद्धशान्तिको आइसोलेशनबाट कोभिड–१९ निको भएर दर्जनौं मानिस घर फर्किएका छन् । २५ वेड क्षमताको आइसोलोशनमा १५ बेड तयार भएको र बाँकी अक्सिजनको व्यवस्था हुनसाथ सञ्चालन गरिने गाउँपालिकाका अध्यक्ष रमेशकुमार भूजेल बताउँछन् ।
आइसोलोशन सेन्टरमा संक्रमण नपैmलियोस भनेर समिति, स्वास्थ्यकर्मी, कुरुवा र एम्वुलेन्स चालकहरुको लागि छुट्टाछुट्टै आराम घरको समेत व्यावस्था गरिएको छ । संक्रमितहरुलाई पौष्टिक खाना, नियमित स्वास्थ्यकर्मीको सेवाले बिरामीलाई सन्तुष्ट र तगडा बनाएर पठाउने गरिएको गाउँपालिकाका अध्यक्ष भूजेलको भनाई छ ।
बुद्धशान्ति गाउँपालिका अन्तरगतको स्वास्थ्य शाखाले उपचार सेवा प्रभावकारी बनाउन र्यापिड रेस्पोन्स टिम (आरआरटी) समेतको व्यवस्था गरेको छ । ‘अहिले बुद्धशान्तिबासी कोरोना संक्रमित उपचारको लागि ढुक्क मात्र भएका छैनन्, विपतको यो समयमा स्थानीय सरकारको अनुभूत पनि राम्ररी गर्न पाएको’ गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख भोला अधिकारी बताउँछन् । उनका अनुसार गाउँपालिकाले सञ्चालन गरेको आइसोलेशन सेन्टरमा अहिले एकजना डाक्टर र तीन जना स्वास्थ्यकर्मीले उपचार सेवा दिइरहेका छन् ।
कमल गाउँपालिकाले ५ बेडको कोभिड अस्पताल र आइसोलेशन सेन्टर बनाएको छ । अक्सिजन सिलिण्डरसहित व्यवस्थापन गरिएको कोभिड अस्पतालमा एकजना एमबिबिएस डाक्टर र एकजना नर्स नियुक्त गरी सेवा प्रवाह गरिएको गाउँपालिका अध्यक्ष मेनुका काफ्ले बताउँछिन् ।
गाउँपालिकाले व्यवस्थापन गरेको कोभिड अस्पतालमा उपचार सम्भव नभएका संक्रमितहरुलाई स्थानीय निजी अस्पतालमा लगेर उपचार गराउँदै आएको उनको भनाई छ । स्वास्थ्यकर्मी र जनप्रतिनिधिहरु संक्रमितको घर घरमा गएर स्वास्थ्य अवस्थाबारे जानकारी लिने तथा परीक्षण गरी औषधी दिने गरिएको प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठ बताउँछन् ।
स्थानीय बासिन्दालाई कोरोनाबाट बच्ने उपायहरुका बारेमा सचेतना जगाउन हरेक वडामा माइकिङ गर्ने गरिएको छ । जसका कारण गाउँबासीमा सचेतना बढेको र गतवर्ष कोभिड केही होइन भन्नेहरु पनि अहिले सचेत भएर स्वास्थ्य सावधानी अपनाउन थालेका गाउँपालिका अध्यक्ष काफ्ले बताउँछिन् ।
भारतसँग २५ किलोमिटरभन्दा धेरै खुल्ला सीमाना जोडिएकाले आवतजावतमा कडाई गर्न गाह्रो भएको गौरीगञ्ज गाउँपालिकामा हप्ताको दुईपटक पिसिआर र एन्टिजेन परीक्षण गराउने गरिएको छ । गाउँपालिकाका अध्यक्ष बाबुराजा श्रेष्ठका अनुसार गौरीगञ्जबासीमा सचेतना वृद्धि भएका कारण अनुमानित ९५ प्रतिशतले मास्क लगाउन थालेका छन् ।
गाउँपालिकाले २० वेड क्षमताको आइसोलेशन सेन्टर र ८ थान अक्सिजन सिलिण्डर व्यवस्थापन गरेर कोरोना संक्रमितको प्रारम्भिक उपचार गर्ने गरेको छ । यस्तै आपतकालीन सेवाका लागि उद्योग वाणिज्य संघको एम्बुलेन्स भाडामा लिइएको छ भने होम आइसोलेशनमा बसेका संक्रमितहरु र तिनको परिवारमा पुगेर स्वास्थ्यकर्मीहरुले स्वास्थ्य अवस्था जाँच गर्ने गरिएको अध्यक्ष श्रेष्ठ बताउँछन् ।
गाउँपालिकाले ५ लाख रुपैयाँ बजेट विनियोजन गरेर पिसिआर र एन्टिजेन परीक्षण सबै निशुल्क गराउने व्यवस्था मिलाएको छ भने सामाजिक तथा व्यवसायिक संघ–संस्थाहरु समेतको सहयोगमा स्वास्थ्य सामग्री जुटाइएको अध्यक्ष श्रेष्ठको भनाई छ ।
शिवसताक्षी नगरपालिकाको वडा नं. ९ मा बसोबास गर्ने सबैभन्दा धेरै मानिस कोभिड–१९ को दोस्रो भेरियन्टबाट संक्रमित भएका नगरपालिकाका उपप्रमुख भोजकुमारी नेपाल बताउँछिन् । ‘यस्तो परिदृश्यमा आफूहरु टुलुटुलु हेरेर बस्ने अवस्था नरहेकाले जनप्रतिनिधिहरुको अग्रसरतामा हरेक संक्रमितको घरमा पुगेर स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिएको छौं’ उपप्रमुख नेपालको भनाई छ । चिकित्सकहरु लिएर स्वास्थ्य अवस्था बुझ्ने, आयुर्वेदिक औषधीको व्यवस्था गरी घरघरमा उपलब्ध गराउने, संक्रमण फैलिन नपाओस् भनेर कन्ट्याक्ट ट्रेसिङको काम नगरपालिकाले निशुल्क गर्ने गरेको जनाइएको छ ।
नगरपालिकासँग अक्सिजनसहित स्वास्थ्य उपचार सामग्रीहरु आवश्यकता अनुसार पर्याप्त रहेको जानकारी दिँदै उपप्रमुख नेपालले एम्बुलेन्स सेवा निःशुल्क गरेको तथा जनप्रतिनिधिहरु चढ्नेदेखि नगरपालिकाका सबै गाडीहरु संक्रमित बोकेर अस्पताल पुर्याउन प्रयोग गरिएको जानकारी दिइन् ।
अर्जुनधारा नगरपालिकामा चाहिँ वडास्तरमा स्वास्थ्यकर्मी पुगेर संक्रमितहरुको स्वास्थ्य परीक्षण गर्ने, परामर्श र औषधी उपलब्ध गराउने गरिएको छ । कोभिड–१९ संक्रमितको अक्सिजन लेभल चेक गरेर काउन्सिलिङ गर्ने, संक्रमितहरु सबैको घरमा डिस्इन्फेक्ट गरिएको पाइन्छ ।
नगरपालिकाका कोरोना फोकल पर्सन मुकुन्द बस्नेतका अनुसार तीनवटा एम्बुलेन्स सबैलाई कोभिडको विरामी निःशुल्क बोक्ने गरी व्यवस्थापन गरिएको छ । उपचारका लागि कोभिड संक्रमितलाई धरान–बिराटनगरसम्म पुर्याउने व्यवस्था मिलाइएको छ । संक्रमित वा आशंकितलाई अस्पताल पुर्याउन एम्बुलेन्स पर्याप्त नभएमा नगरपालिकाका अन्य गाडीहरु पनि प्रयोगमा ल्याउन नगरप्रमुख हरिकुमार रानाले निर्देशन दिएको उनले बताए ।
अर्जुनधाराका मानिसले कोरोनाको परीक्षण गर्न अन्यत्र जानु नपर्ने गरी वडा नं. ४ को स्वास्थ्यचौकीमा हप्ताको तीन दिन पिसिआरका लागि स्वाब संकलन गर्ने गरिएको छ । नगरपालिकाले १५ बेडको सुविधायुक्त आइसोलेशन सेन्टर निर्माण गरी एक बेड, एक अक्सिजन र एक मोनिटर हुनेगरी व्यवस्था मिलाइएको कोरोना फोकल पर्सन बस्नेत सुनाउँछन् ।
स्थानीय सरकारहरुले कोभिड–१९ संक्रमण रोकथाम, न्यूनीकरण एवम् उपचारका लागि गरेका सकारात्मक पहलका बावजुद जेठ मसान्तसम्म झापामा ३०२ जनाको ज्यान गएको छ । स्वास्थ्य कार्यालय झापाका कोरोना फोकल पर्सन जीवन चौंलागाईंले उपलब्ध गराएको तथ्याङ्क अनुसार सो मितिसम्म १३ हजार ८४१ जना कोभिड–१९ संक्रमित भएका थिए । झापाका ६४ हजार ६९६ जनाले कोरोना विरुद्धको पहिलो डोज र ८ हजार ३५६ जनाले दोस्रो डोज पनि लिएको चौंलागाईंले जनाएका छन् ।
Comments