Sajhamanch Archive

विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट विद्युत उत्पादन शुरु

Published: (Updated: ) in मिडियाबाट साभार, विविधा by .

काठमाडौं । चीनको दक्षिण पश्चिममा निर्माण गरिएको विश्वकै दोस्रो ठूलो जलविद्युत आयोजनाबाट सोमबार विद्युत परीक्षण उत्पादन शुरु भएको छ ।

याङ्सी नदीको सहायक नदीका रुपमा रहेको जिन्सा नदीमा निर्माण गरिएको बाइहिटान बाँधबाट विद्युत उत्पादन हुन थालेको हो । जैविक इन्धनको खपत कम गरी वैकल्पिक र जलविद्युत उत्पादन मार्फत विद्युतको माग पूरा गर्ने चीनको योजना बमोजिम चीनमा ठूला जलविद्युत गृहहरु निर्माण भइरहेका छन् । यद्यपी जलविद्युत उत्पादनका लागि ठूला बाँध बनाउँदा पर्यावरणीय क्षतिमा चीनले पर्याप्त ध्यान नदिएको आरोप लाग्ने गरेको छ । सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको एक सयौं वर्ष यसै साता मनाउने अवसरमा नयाँ विद्युत गृह निर्माणको घोषणा भएको छ ।

बाइहेटान बाँधको उचाई २८९ मिटर अग्लो हुनेछ र १० लाख किलोवाट क्षमताका १६ वटा विद्युत उत्पादन जेनेरेटर जडान हुनेछन् । यो सन् २००३ मा चीनको याङ्जी नदीमै निर्मित थ्री गर्जेज बाँधपछिको दोस्रो ठूलो हो । थ्री गर्जेजको विद्युत उत्पादन क्षमता दुई करोड २५ लाख किलोवाट रहेको छ ।

यी दुबै विद्युत आयोजना राज्य नियन्त्रित थ्री गर्जेज ग्रुप कर्पोरेसनले निर्माण गरेको हो । यो समूह जलविद्युत, सौर्य र वायु ऊर्जा उत्पादनमा विश्वकै सर्बाधिक ठूलो लगानीकर्ता हो । विश्वका अन्य कतिपय मुलुकले जलविद्युत उत्पादनलाई त्याग्न थालेका छन् किनभने यसबाट समुदाय र खेतीपाती डुबानमा पर्ने तथा नदीको जैविकता विश्रृंखलित बनाउने तथा माछा र अन्य प्रजातिको अस्तित्वमा खतरा उत्पन्न हुने वातावरणविदहरुको चेतावनी दिइरहेका छन् ।

चीनले उत्पादित विद्युतलाई शाङ्घाई र अन्य पूर्वी शहरहरुमा उच्च गतिको प्रसारण लाइनबाट विद्युत लैजाने गरेको छ । बाइहेटान विद्युत गृहबाट उत्पादित विद्युत उत्पादन पूर्ण क्षमतामा हुन थालेपछि बर्षेनी दुई करोड टन कोइलाको खपत कम हुने चिनियाँ अधिकारीहरुले बताएका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *