Sajhamanch Archive

सदस्यको आत्महत्याको कारण कर्जा तागेता हुन सक्तैनः कर्णाली साकोस

Published: in राष्ट्रिय समाचार, सहकारी by .

बिर्तामोड । लघुवित्त कार्यक्रममार्फत् झापाका ग्रामीण महिलाहरुको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याउन सफल कर्णाली बचत तथा ऋण सहकारी संस्थाले गौरादह नगरपालिका ७ की बालकुमारी हुमागाईंको आत्महत्याले स्तब्ध बनाएको जनाएको छ ।

संस्थाको मुख्य कार्यालय बिर्तामोडमा आज पत्रकार सम्मेलन गरी संस्थाका अध्यक्ष टिएस प्रधानले लघुवित्त कार्यक्रमका सदस्य हुमागाईंले कर्णालीको किस्ता बुझाउने पेरिफेरिमा आत्महत्या गर्नु संयोगमात्र हुनसक्ने बताए ।

कर्णाली सहकारीमा आवद्ध २६ हजारभन्दा बढी सदस्यहरुको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण तथा सदस्यको शिक्षा, स्वास्थ्यजस्ता मौलिक अधिकार उपभोगमा सहयोग पुर्याइरहेकोमा आफ्ना सदस्यको आत्महत्याको कारण संस्थाले लगानी गरेको कर्जाको किस्ता नभएको अध्यक्ष प्रधानले बताए ।

यस्तो संस्थामा आवद्ध ऋणि सदस्यको आत्महत्याको कारण कर्णालीबाट लिएको कर्जाको किस्ता बुझाउन नसकेको भन्ने सार्वजनिक खबरप्रति संस्थाका सचिव भूपाल बस्नेतले दुःख व्यक्त गरेका छन् । ‘घटना त्यस्तो होइन र हुनै सक्तैन’ पत्रकार सम्मेलनमा बस्नेतले भने, ‘यद्यपी जुनसुकै कारणले आत्महत्या गरेको भए पनि हाम्रो संस्था परिवारलाई दुखेको छ । यही कारण हामीले पहिले नै निर्धारित तीज विशेष कार्यक्रम नै यो वर्ष नगर्ने निर्णय गरेका छौं ।’

निज सदस्यको नाममा गत फागुनमा एक लाख रुपैयाँ लगानी गरिएको संस्थाको तथ्याङ्कमा उल्लेख छ । सदस्यका नाममा संस्थामा ५७ हजार ३३५ रुपैयाँ मौज्दात रहेको देखिन्छ भने गएको मंगलबार सदस्यको मृत्यु भएको दिनसम्मको ब्याजसहित ८४ हजार ७७४ रुपैयाँ ऋण देखिन्छ । यो आंकडाले ऋणि सदस्यले केवल २७ हजार ४३९ रुपैयाँ बुझाउनु पर्ने थियो । यही कारण पनि निजको आत्महत्या कर्जाको कारण हुनै नसक्ने संस्थाको दावी छ ।

बिर्तामोडबाट प्रकाशन हुने एक दैनिक पत्रिकाले ‘किस्ताकै दिन आत्महत्या, लघुवित्तको डरलाग्दो व्यापार’ शीर्षकमा समाचार प्रकाशन गर्दा कर्णाली सहकारीलाई बढी फोकस गरे पनि आत्महत्या गर्ने महिलाले अन्य सहकारी र लघुवित्तबाट पनि कर्जा लिएको उल्लेख गरेको छ ।
सदस्य आवद्ध रहेको समूहका महिलाले उनीहरु अन्य वित्तीय संस्थासँग पनि कारोबार गर्छन् भन्नेबारेमा साख सूचना उपलब्ध नगराउँदा एउटै व्यक्तिलाई विभिन्न संस्थाबाट कर्जा प्रवाह भइरहेको अध्यक्ष प्रधानले जिकिर गरेका छन् ।

‘कुनै पनि वित्तीय संस्थाले ऋणिलाई लगानी गरेको रकमको सावाँ–व्याज उठाउनै पर्ने अनिवार्य हुन्छ’ अध्यक्ष प्रधानले भने, ‘यस्तो घटनाले सबैखाले वित्तीय संस्था र सदस्यका बीचमा दूरी बढ्ने भएकाले त्यस्तो हुन नदिन कर्णालीले यथार्थ जानकारी बाहिर ल्याएको हो ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *