प्रदेश १ प्रदेशसभा बैठक आइतबार पनि अवरुद्ध
Published:
by .विराटनगर । नेकपा माओवादी केन्द्रले प्रदेश १ प्रदेशसभाको १६ औं बैठक पनि अवरुद्ध गरेको छ । आइतबार दिउँसो बसेको बैठक माओवादी केन्द्रले अवरुद्ध गरेको हो । माओवादी केन्द्रले बैठक अवरुद्ध गरेपछि उपसभामुख सरस्वती पोखरेलले सोमबारसम्मका लागि बैठक स्थगित गरेकी छन् ।
प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले गृह जिल्ला ओखलढुङ्गाका प्रतिपक्षी सांसदलाई गाली गरेपछि माओवादीले प्रदेशसभाको बैठक अवरुद्ध गरिरहेको छ ।
जारी बजेट अधिवेशनमा गत आइतबार मन्त्री गुरुङले माओवादी केन्द्रका सांसद मोहन खड्कामाथि व्यक्तिगत रूपमा उत्रिएपछि माओवादी केन्द्रले संसद अवरुद्ध गरेको हो । असार १५ गते संसद अवरुद्ध भएपछि सभामुख प्रदीपकुमार भण्डारीले छलफलका लागि भन्दै पाँच दिन बैठक रोकेका थिए । तर यो पाँच दिनमा सहमति नभएपछि आइतबारको बैठक पनि माओवादी केन्द्रले अवरुद्ध गरेको हो ।
जारी अधिवेशनको १३ वटा बैठकमा प्रतिपक्षीले अवरोध गरेका थिएनन् । तर मन्त्रीले नाम नै किटेर गाली गरेपछि माओवादी केन्द्रले माफि माग्नुपर्ने मागसहित तीन वटा बैठक अवरुद्ध गरेको हो ।
माओवादी केन्द्र संसदीय दलका नेता इन्द्रबहादुर आङ्बो मन्त्रीले माफी मागेपछि मात्रै संसदको कामकारबाही अघि बढ्ने बताए । संसदीय मान्यताविपरित अभिव्यक्ति दिएका कारण संसदको रेकर्डबाट उनको अभिव्यक्ति हटाउनु पर्ने माओवादी केन्द्रको माग छ ।
माओवादी केन्द्र र एमाले संयुक्त रूपमा चुनावी अभियानमा जाँदा ओखलढुङ्गा को ‘क’बाट गुरुङ र ‘ख’बाट खड्का निर्वाचित भएका थिए । धनाड्य परिवारका गुरुङ मुख्यमन्त्री शेरधन राईका विश्वास पात्र हुन् ।
भौतिक पूर्वाधार राज्यमन्त्री हुँदै चैत १३ गते भौतिक पूर्वाधार विकास मन्त्रालयको फुल मन्त्री बनाएका थिए । सदनमा संसदले उठाएको प्रश्नको टालटुले जवाफ दिएका उनले आफ्नो आरिस गरेको भन्दै सच्चिएर आउन चेतावनी दिएका थिए ।
गत आइतबार २१ मिनेट प्रदेशसभामा बोल्दा उनले १० मिनेटमा प्रश्नको जवाफ सके । लिखित जवाफ दिएका गुरुङले ११ मिनेट खड्काको आलोचना गर्दै होच्याउन खर्चिएका थिए । माओवादी केन्द्रले मन्त्रीले माफी मागेपछि मात्रै छलफल सुचारु हुने बताएको छ ।
Comments