Sajhamanch Archive

आत्मनिर्भरको साधारणसभामा तीजको रौनक

Published: in मुख्य समाचार, सहकारी by .

बिर्तामोड । यहाँ सञ्चालित आत्मनिर्भर महिला बचत तथा ऋण सहकारी संस्थाको सातौं वार्षिक साधारणसभा शनिबार सम्पन्न गरिएको छ ।

प्रतिनिधिसभाका सदस्य पवित्रा निरौला खरेलको प्रमुख आतिथ्यमा तीज मिलन कार्यक्रम एवम् संस्थाका उत्कृष्ट कारोबारी र कर्मचारीलाई सम्मान गर्दै साधारणसभा सम्पन्न गरिएको हो ।

बिर्तामोड नगर क्षेत्रका महिलाहरु तथा बालबालिकामात्रको सदस्यता रहेको आत्मनिर्भर सहकारीले छैटौं वर्षको यात्रा पूरा गर्दा कारोबारमा उत्कृष्ट छलाङ मार्न सफल भएको पाइएको छ ।

संस्थाका अध्यक्ष पवित्रा महतारा प्रसाईले सञ्चालक समितिको तर्फबाट वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै आर्थिक वर्ष २०७३/०७४ को तुलनामा आर्थिक वर्ष २०७४/०७५मा लगभग दोब्बरले आर्थिक कारोबार बृद्धि भएको तथ्याङ्क सुनाइन् ।

६ वर्ष अघि २५ जनाले ५० हजार रुपैयाँ शेयर लगानी गरी स्थापना गरेको संस्थामा आर्थिक वर्ष २०७४/०७५ मा ५७६ जना सदस्य पुर्याइएको र शेयर पूँजी बृद्धि गरी ३९ लाख ८१ हजार ७०० पुगेको जनाइएको छ ।

संस्थाले वित्तीय कारोबारसँगै सामाजिक सेवाका क्षेत्रमा पनि रचनात्मक काम गरिरहेको प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष महताराले सबै सदस्यको सुखदुखमा आत्मनिर्भरसँगै रहने बचनवद्धता दोहोर्याइन् ।

साधारणसभामा संस्थाको स्थापनाकालदेखि सेवारत व्यवस्थापक इन्दिरा भट्टराई खनाल र लेखापाल माया कार्कीलाई २००५ रुपैयाँ पुरस्कारसहित सम्मानित गरिएको थियो ।

यस्तै, संस्थामा उत्कृष्ट कारोबार गर्ने सदस्यमध्ये असल ऋणिका रुपमा रेणुका राजवंशी, असल बचतकर्ता शर्मिला बेघा र ज्येष्ठ सदस्य अम्बिका ढकाललाई नगद ११ सय रुपैयाँसहित कदरपत्रले सम्मान गरियो । सबै सम्मान र पुरस्कार संस्थाका अध्यक्ष महतारा र प्रमुख अतिथि निरौलाले हस्तान्तरण गरेका हुन् ।

संस्थाले साधारणसभाको अवसरमा शेयरधनी सदस्यहरुमध्ये पवित्रा निरौला खरेल प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएकोमा बधाईसहित सम्मान व्यक्त गरेका छन् । यस्तै अर्का शेयर सदस्य जसमाया गजमेर प्रदेशसभाको सदस्यमा चुनिएकाले बधाईसहित सम्मान व्यक्त गरिएको छ ।

महिलामात्रै सदस्य बन्न सक्ने संस्थाको साधारणसभा त्यो पनि तीजको पूर्वसन्ध्यामा, दर खाने रमाउने कुरामा किन पछि परिन्थ्यो भन्दै कार्यक्रम सञ्चालक संस्थाका सचिव पुष्पा दाहालले सहभागीहरुलाई बीचबीचमा रमाउने मौका प्रदान गरेकी थिइन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *