Sajhamanch Archive

गृह मन्त्रालयबारे कांग्रेस र माओवादीबीच लफडा, गृह नपाए सरकारमा नजाने चेतावनी

Published: (Updated: ) in राजनीति, विविधा by .

काठमाडौँ । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर र प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश जारी गरेपछि सुरु सत्ता बाडँफाडका विषयमा नेपाली कांग्रेस र माओवादीबीच लफडा सुरु भएको छ । स्रोतका अनुसार गृहमन्त्रालयलाई लिएर दुई दलबीच प्रधानमन्त्रीको शपथ नलिँदै लफडा सुरु भएको हो ।

गृहमा माओवादी र कांग्रेस दुवैले दाबी गरेपछि लफडा भएको हो । माओवादीबाट जनार्दन शर्माले गृहमन्त्री बन्न चाहिरहेका छन् । तर, देउवाले भने निर्वाचन गराउनु पर्ने भएकाले गृह आफूसँग नराखे गाह्रो हुने भन्दै छोड्न चाहिरहेका छैनन् ।

कांग्रेसमा नेता बालकृष्ण खाणले गृहमा दाबी गरिरहेका छन् । अन्य नेता कार्यकर्ताहरूले पनि चुनावी सरकार भएकाले कुनै पनि हालतमा गृह नछोड्न दबाब दिइरहेका छन् ।
कांग्रेसका एक नेताले भने, ‘हामीले चुनाव यही सरकारले गराउने भएकाले गृह मन्त्रालय कुनै पनि हालतमा छोड्नु हुँदैन भनेर भनेका छौं । उहाँले विचार गर्छु भन्नु भएको छ ।’

यता माओवादीले भने सत्ताको प्रमुख घटक भएकाले आफूले रोजेको एउटा मन्त्रालय दिनुपर्ने बताइरहेको छ । उसले आफ्नो सबैभन्दा पहिलो रोजाइ गृह मन्त्रालय भन्दै त्यो नदिएमा सरकारमा सहभागी नहुँने धम्की दिइरहेको छ ।

यसबाहेक देउवाले आज शपथसँगै संस्थापनबाट खाण, नेता कृष्णप्रसाद सिटौला समूहबाट भिमसेनदास प्रधान र उमाकान्त चौधरी, तथा महामन्त्री शशांक कोराला समूहबाट डा। मिनेन्द्र रिजाल तथा नेता रामचन्द्र पौडेल समूहबाट दीलेन्द्रप्रसाद बडू र अनिता देवकोटामध्यबाट दुई जनालाई मन्त्री बनाउने तयारी गरेका छन् ।

यसअघि युवा नेता गगन थापाको नाम चर्चामा रहे पनि नेता सिटौलाले कुनै पनि हालतमा नबनाउन भनेपछि देउवा पछि हटेको स्रोत बताउँछ ।

यता माओवादीबाट नेता शर्मासहित नेतृ पम्फा भुसाल र देवेन्द्र पौडेलको नाम चर्चामा छ । जनता समाजवादी पार्टीले भने साउन ७ गते अगाडि आफूहरु सरकारमा नजाने बताएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *