ओलीले बोलाए स्थायी कमिटी बैठक, नेपाल पक्षलाई पनि खबर
Published: (Updated: )
by .काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको स्थायी कमिटी बैठक बोलाएका छन् । बैठक भोलि (आइतबार) बिहान ११ बजे बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बस्ने उनले बताए ।
तामाङका अनुसार भोलिको आइतबार बस्ने स्थायी कमिटी बैठकले सोमबारका लागि केन्द्रीय बैठक बोलाउने निर्णय गर्नेछ । बैठकमा माधव नेपाल पक्षलाई पनि खबर पठाइएको उनको भनाइ छ । ‘२०७५ जेष्ठ २ गतेकै बैठक बोलाउने गरेका छौं । हामीले सबैलाई खबर गर्ने गरेका छौं । बैठकमा आउनु पर्ने दायित्व र जिम्मेवारी उहाँहरुको हो’ उनले भने ।
शुक्रबार एमालेको स्थायी कमिटी बैठक पनि बसेको थियो । बैठकले पार्टी एकताका लागि कार्यदलले बुझाएको प्रतिवेदन अनुमोदन गर्दै कार्यदल भङ्ग गरेको थियो । शुक्रबार नै संसदीय दलको बैठक पनि बसेको थियो । पार्टीका वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षीय नेताहरुले दुवै बैठक रोक्न माग गरे पनि ओलीले मानेनन् ।
आज (शनिबार) पनि दुवै पक्षका दोस्रो तहका नेताहरुले पार्टी एकताको प्रयासलाई जारी राख्दै छलफल गरेका थिए । उनीहरुले कार्यदलले दिएको १० बुँदे सहमति कार्यान्वयन भए एमाले एकता हुने बताएका छन् ।
Comments