छोरीबाट बुहारी हुँदाको अनुभव
Published: (Updated: )
by .समाजमा भन्ने गरिन्छ, भाग्यमानी मान्छेले मात्र छोरी पाउँछ । वास्तवमा यो एउटा भनाइमा मात्र सिमित नभएर आजको समाजको यथार्थ पनि हो । जुन घरमा छोरीको जन्म हुन्छ, साँच्चै नै त्यो परिवारमा माहोल नै फरक हुन्छ । छोरीलाई घरको मान, सम्मान अनि इज्जत सबैथोक मानिन्छ । यसो भनिरहँदा छोरालाई चाहिँ मानिँदैन भन्ने होइन । पराइघर जाने भएर होला सायदै यो कुरामा छोरीको महत्व बढी नै हुन्छ ।
हाम्रो समाजमा अझै पनि कतिपय छोरीहरु गर्भमा नै मारिन्छन् । पेटमा छोरी हुर्कंदैछ भन्ने थाहा भइसक्दा उसलाई जन्माउनु त धेरै परको कुरा, गर्भपतन (भ्रुणहत्या) गरिन्छ । यदि छोरी जन्मिइगए पनि उसलाई चाहिने जति हेरचाह हुँदैन । यतिसम्म कि छोरीलाई जन्म दिने ती आमा पनि छोरी पाएकै कारण परिवारबाट अनि सिङ्गो समाजबाटै अपहेलित हुन्छिन् ।
म पनि कसैकी छोरी, कसैकी नातिनी, बहिनी, दिदी, भान्जी सबै भएर २०७८ वैशाख २४ गतेबाट बुहारीको स्थानमा छु । भोलिपल्ट २५ गते बिहान ‘म बुहारी’ भएर उठेको पहिलो बिहानी थियो । त्यहीँबाट सुरु हुन्छ मैले छोरी र बुहारीका बीचमा थाहा पाएका अनि थाहा पाउन बाँकी भिन्नताहरु । हुन त त्यसअघि छोरी र बुहारी बीचकोे फरक मलाई थाहा नभएको भने होइन । घरमा आमा, काकीहरुलाई देखेर अनि म आफूलाई हेरेर छोरी र बुहारीको भिन्नतामा अन्दाज लगाउँथे ।
भनिन्छ, जब मान्छे कुनै कुरामा फस्छ (पर्छ), अनिमात्र उसलाई यथार्थ थाहा हुन्छ । हो, त्यस्तै म पनि छोरी हुँदा मात्र अनुभव गर्थें तर जब बुहारीमा परिर्वतन भएँ तब आफैंले भोगेँ कि बुहारी र छोरी बीचका ती भिन्नताहरु । घरमा हजुरबुवा, हजुरआमा, ममी, ड्याडी, काका, काकी भाइ, बहिनीलगायत सबै परिवारकी प्यारी अनि आँटिली जेठी छोरी म । परिवारमा अरुलाई काम लगाएर आफू बच्दै काम गर्न सिपालु थिएँ । हामीलाई अहिले ठगेको बिहे गरेपछि निस्किन्छ भन्दै कहिले काहीँ आमाहरुले गाली पनि गर्नुहुन्थ्यो । तर म त्यस्ता बिहे गर्दिन भन्दै नसुने झैं गर्थें । समय बित्दै जाँदा आफैंले मन पराएको केटोसँग बिहे गरियो । अनि त आज छोरी र बुहारी बीचका यिनै भिन्नताबारे लेख्दैछु ।
कोही कसैको डर बिना नै स्वतन्त्र भएर आफ्नो काम गर्ने, कसैले केही भने पनि रिसाउँदै कोठामा पस्ने म, आज कसैले गाली गर्दा पनि हाँसेर बाहिर निस्कने गर्छु । माइती घरमा सबै कुरामा निपुर्ण छ हाम्री नानी, छोरी होस् त फलानोको जस्ती भन्दै तारिफ पाउने म, आज काम गर्दैगर्दा प्रायः गाली पाउँछु । नानी चिया पकाउ त भन्दै ममीले भन्दा साह्रै अल्छी लाग्छ हौ ममी तपार्इं नै पकाउनु न भन्दै काम अह्राउने म, आज पराई घरमा कसैले चिया पकाउ न खाउँ नभनी आफैं सोधीसोधी चिया बनाएर दिन्छु ।
बिहान ७ बजेसम्म ममीले नानी चिया सेलायो उठ्न छिटो भन्दै दश पटक कोठामा आएर बोलाउँदा ५ मिनेट, ५ मिनेट भन्दै होटलमा मद्यपानको प्याक थपे जस्तै गरी अल्छी गर्दै उठ्ने म हिजोआज बिहान ४ः३० बजेको अलारम सेट गरेर सुत्छु अनि अलारमको घण्टीसँगै बिहान सबेरै उठ्छु । त्यति हुँदाहुँदै पनि कोही कतै रिसाएकि, मलाई केही भन्ने पो हुुन् कि भन्ने डर मनमा सधैँ भइरहन्छ । भनिन्छ ‘नबिराउनु नडराउनु’ तर पराइघरमा यो उक्ति उति काम नलागेको पूर्वजहरुको अनुभवलाई मैले सधैं सिरोपर गर्ने प्रयत्न गरिरहेकी छु ।
त्यस्तै जुठो भाँडा माझ्नमा म साह्रै अल्छि मान्छे । माइती घरमा हुँदा सबै काम गर्छु तर यो जुठो भाँडा माझ्न चाहिँ मलाई नलगाउनु है भन्दै खाएको प्लेटसमेत त्यहीँ छोडेर हिड्ने गर्थे । थर आज अफिस जान मलाई ढिला हुन्छ, काम छिटो सक्छु के के भाँडा छ खै, भन्दै सबै भाँडा आफैं माझ्ने गर्छु । घर सफा गर्ने, अझै पनि केही काम बाँकी छन् कि भन्दै छिटोछिटो काम सकेर श्रीमान (नविन प्रसाईं)–लाई अफिस पुर्याइदिन भन्छु ।
यतिमात्र होइन, कतिपय यस्ता भिन्नताहरु छन् जसलाई म चाहेर पनि शब्दमा उतार्न सक्दिन । हुन त कसैकी त्यही छोरी नै बुहारी हो, तर छोरी र बुहारीलाई हेर्ने दृष्टिकोणमा धेरै फरक पाइन्छ । मलाई बुहारी भएकै कारण माया नगर्ने भन्ने होइन, उहाँहरुको त्यो अदृश्य मायालाई मैले अनुभव गर्न सकिरहेकी छैन । सायद म भर्खरै परिवारमा थपिएकी नयाँ सदस्य भएर होला, उहाँहरुलाई बुझ्ने क्रममा छु । यी भिन्नताहरु मेरो मनमा मात्र उब्जिएका भने पक्कै होइनन् । प्रत्येक नेपाली समाजका छोरी जो भर्खरै बुहारी बन्दैछन्, उनीहरुको मनको भाव पनि हो । जो परिवारका साथमा बसेर अफिस (कार्यालय)–मा काम गर्छन् ।
वास्तवमा बुहारी हुन धेरै गाह्रो रहेछ । परिवारका हरेक सदस्यको ख्याल राख्नु, घरायसी काम सबै सकेर अफिस जानु, सधै हँसिलो मुहारका साथ फरासिलो बनेर प्रस्तुत हुनु । कुनै पनि गाह्रो कुरालाई सजिलो तरिकाबाट समाधान गर्नु, हिजो आज यिनै छोरी र बुहारी बीचका विभिन्न भिन्नताहरुलाई छोरीकै रुपमा परिर्वतन गर्दै लैजान कोशिस गर्दैछु म पनि । सकेसम्म नयाँ परिवारमा रहँदा म छोरीकै माया पाउने अपेक्षासहित सावधानीपूर्वक हरेक पाइला चाल्ने प्रयासमा छु । अर्कोवर्ष अर्थात् अबको एकवर्ष पछि पनि अनुभवको नयाँ गाँठो खोल्नेछु भन्दै आजलाई यत्ति नै ।
Comments