कनकाईमा एकै दिन तीन संक्रमितको मृत्यु
Published:
by .सरुङ्गा । झापाको कनकाई नगरपालिकामा एकै दिन ३ संक्रमितको मृत्यु भएको छ ।
कनकाई नगरपालिका ४ का २९ वर्षीय पुरुष, सोही वडाकी ३३ बर्षिय महिला र कनकाई ५ नम्बरकी ३७ वर्षीय कोरोना संक्रमित महिलाको एकसाथ मृत्यु भएको कनकाई नगरपालिका कोभिड फोकल पर्सन नारायण अधिकारीले जानकारी दिए ।
२९ बर्षिय पुरुषको शनिवार राती ८ बजे बिर्तासिटी अस्पताल बिर्तामोड, ३३ बर्षिय महिलाको शनिवार राती ८ बजे विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र ३७ बर्षिय महिलाको शनिवार राती ११ बजे बिर्तासिटी बिर्तामोडमै मृत्यु भएको नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ ।
हालसम्म कनकाई नगरपालिकामा कोरोना संक्रमित २७ जनाको मृत्यु भईसकेको कोरोना फोकल पर्सन अधिकारीले बताए। यता कनकाई नगरपालिकाले कोरोनाबाट मृत्यु हुने परिवारलाई जनही २० हजार रुपैँया दिने निर्णय गरेको छ ।
जिल्ला प्रशासन कार्यालय झापाले लकडाउन खुगुलो गरेपछि कोरोना संक्रमितको संख्या बढ्न थालेको छ । कनकाई नगरपालिकामा फेरी कडा लकडाउन र नागरिकलाई अनिवार्य कोरोना खोप लगाउन पहल गर्नु पर्ने आवाज उठ्न थालेको छ ।
Comments