Sajhamanch Archive

तीज पर्वः संस्कृति बचाउने कि विकृति भित्राउने ?

Published: (Updated: ) in मुख्य समाचार, विचार/ब्लग, by .

हिन्दू नारीहरुको चाड तीज पर्वले गाउँदेखि सहरसम्म रौनक छाएको छ । यतिबेला यो पर्वले नारीहरुलाई अन्य कार्यमा फुर्सदै छैन । परापूर्वकालदेखि मनाइँदै आएको तीज पर्वमा टाढाटाढा भएका छोरी चेलीहरुलाई माइती पक्षले बोलाई घरमा ल्याएर मिठो मसिनो खुवाउने प्रचलन थियो । कृषि कार्य गर्दा थकित र गलित भएका पोइको घर गएका चेली छोरीहरुका दुखः सुखका कुरा गर्ने मनको पीर पोख्ने सासू ससुराले कति राम्रो या नराम्रो गरेका छन् भनी हाल खबर बुझ्ने उद्देश्यले तीजको प्रचलन भएको सुनिन्थ्यो ।

विशेषतः पहिले पहिलेका बुहारीले उनका घरमा निकै दुख खप्नु पथ्र्यो । शारीरिक कष्ट र मानसिक तनाव धेरै झेल्नु पथ्र्यो । त्यसैले उनका आमाबाबुले माया गरेर दुई चार दिन भएपनि आराम गरुन् र मिठो मसिनो पनि खाउन भनी तीज मनाउन लागिएको दृष्टान्त छ । तर अहिले भने यसको मूल मर्म र प्रयोजनलाई नै बिर्सने गरी तीज पर्व मनाउन थालिएको आभाष भइरहेको छ ।

अहिले विशेषतः शहरी क्षेत्रमा धनीमानी सम्पन्न परिवारमा तीजले विकृति भित्र्याएको देख्न पाइन्छ । हुने खाने र अति धनाढ्य परिवारमा निकै बढ्दो तडकभडक, धाक धमासका साथ तीज मनाएको देख्दा नमिठो लागेर आउँछ । तीज पर्व आउनुभन्दा एक महिना अघिदेखि नै तीज मनाउन आरम्भ हुन्छ । राम्रो लगाउने र मिठो खाने नाममा साडी चोली र गरगहनाको प्रदर्शनका साथै अत्याधिक शृङ्गार गरेर तीज मनाउन सडक सडक नाची हिंड्नु वास्तविक तीज होइन । विशेषतः नवधनाढ्य र उच्च वर्गको भोग विलाशी महिलाको नक्कल हाम्रा छोरी चेलीको अत्याधिक खर्चालु प्रकृतिले हाम्रो समाजमा धेरै विकृति भित्र्याएको छ । लाग्छ कि तीज भनेको महिलाहरुले आफ्ना शृङ्गार, पहिरन र धेरैभन्दा धेरै गरगहनाको प्रदर्शन गर्दै नाचगान गर्ने पर्वको नाम हो ।

जसरी पनि तीज खर्चिलो र भड्किलो बनाउनु पर्ने बाध्यता निम्न मध्यम वर्ग र निम्न वर्गमा पर्न थालेको छ । हुँदाहुँदा तीजमा मासु मात्र नभई विदेशी मदिराले पनि रमाइलो बनाउन थालेको तथ्य हाम्रो समाजले पचाउन सक्दैन । तीजको नाममा हुने गीत गायन र नृत्यमा पनि भड्किलोपन र अश्लिल हर्कतले प्रवेश पाएको सहर बजारतिर देख्न पाइन्छ ।

तीजलाई सांस्कृतिक पर्वका रुपमा नभई विकृतितर्फ लाँदै गरेको समाजशास्त्रीहरुले भन्न थालेका छन् । आजभोलिका तीज गीतहरुले सामाजिक आचारसंहितालाई पनि उल्लंघन गरेको देखिनु दुःखद पक्ष हो । अर्कातिर गाउँघर दुर दराजका निम्न वर्गीय नेपाली छोरीचेलीको आवस्था भने निकै कारुणिक पाइन्छ । वर्षमा एक दिन तीज मनाउन नसक्ने नारीहरु पनि हाम्रा ठाउँमा ठूलो संख्यामा रहेका छन् । अति विपन्न सीमान्तकृत श्रमजीवी वर्गले जति काम गर्दा पनि राम्रो लाउन र मिठो खान अनि वर्षमा एक दिन भएपनि राम्ररी तीज मनाउन नसक्दा हाम्रो शहरी संस्कृतिका धनी महिलाहरुलाई लाज लाग्नु पर्ने हो ।

शहर बजारमा सुनको प्रतिष्पर्धा भइरहँदा गाउँमा नूनको अभाव कायमै छ । झाडा पखाला र सामान्य ज्वरोले गरीब महिलाहरुको ज्यानै लिइरहेको छ । रात दिन अत्याधिक शारीरिक श्रम गर्दा पनि तीजलाई दुई दिन छुट्टी पाउँदैनन् कति हाम्रा दिदी बहिनीहरुले । मिठो खान त परै जाओस् छाक टार्न समेत कठिन छ । निम्न वर्गका श्रमजीवी नारीहलाई यसरी मासु र मदिरामा तीज मनाउने एउटा सीमित वर्गका नारीहरुलाई व्यङ्ग्य गरिरहे जस्तो लाग्छ । आखिर राम्रो लाउन र मिठो खान कसलाई पो रहर हुँदैन र ? हुने र नहुने धनी र गरिव श्रम गर्ने र नगर्ने नारीहरुका भिन्नता अहिले हाम्रो समाजमा प्रष्टै देख्न पाइन्छ । अझै त्यही भड्किलो र रवाफिलो तीज संस्कृतिको अनुशरण गर्दै अरुले समेत तिनको देखासिकी र नक्कल गर्दा तिनको आर्थिक भार बढ्दोक्रममा छ ।

तीजको मूल मर्म र त्यसको आध्यात्मिक मूल्य मान्यतालाई अझै ओझेलमा पार्दै तीजका विकृति वर्षै पिच्छे बढेको बढ्यै छ । अझ अहिले त पार्टी हल, होटल र रेष्टुरेन्ट महिनौ अघिदेखि बुक गरेर समेत तीज खाने र नाच्नेको होडबाजीलाई विकृति नै मान्नु पर्छ । तीज गरगहना, श्रृङ्गार र महङ्गा लुगाको प्रदर्शन गर्दै उत्ताउला नृत्य प्रदर्शन गर्ने पर्वको रुपमा चिनिन थालेको छ । भगवान शिवलाई पति पाउँ भनी पार्वतीले निराहार ब्रत बसेको परम्परासँग जोडिएको तीज पर्वमा आज धार्मिक र आध्यात्मिक मूल्य मान्यता बिस्तारै लोप हुँदैछ । यसबाट बचाउँदै तीजको वास्तविक मूल्य, संस्कृति र आदर्शलाई अनुशासित र आध्यात्मिक भावनामा रहेर समयशास्त्र अनि मितव्ययी र सरल तीज पर्व मनाउनतर्फ नेपाली महिलाले अघि नसरे केही वर्ष भित्रै तीजलाई विकृतिले पूरै ढाकेर तीज संस्कृति नै लोप हुने खतरामा छ कि ? नानाथरीका भोजभतेर गरेर गहरगहनाले छोपिएर उत्ताउलो नाचको प्रतिष्पर्धात्मक पर्व नै तीज हो त ? अबका दिनमा तीजको चिनारी यस्तो नहोस् ।

(लेखक प्रसाई मनकामना कलेज बिर्तामोडका सहायक क्याम्पस प्रमुख हुन् ।)

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *