Sajhamanch Archive

विश्वका १३२ देशमा फैलियो कोरोनाको डेल्टा भेरियन्ट: डब्लूएचओ

Published: in विविधा, विश्व समाचार, स्वास्थ्य by .

काठमाडौं । विश्वभरी कोरोना भाइरसबाट संक्रमित हुनेको साप्ताहिक संख्या वृद्धि हुँदै गएको पाइएको छ । यही जुलाई १७ देखि २५ सम्मको सात दिनमा त्यसको अघिल्लो हप्ताको तुलनामा ८ प्रतिशत संक्रमित बृद्धि भएको अधिकारीहरुले जानकारी दिएका छन् । त्यस हप्ता ३८ लाख मानिस कोरोना भाइरसबाट सङ्क्रमित भएका थिए ।

संयुक्त राष्ट्रसंघको स्वास्थ्य सम्वन्धी निकायको रुपमा रहेको विश्व स्वास्थ्य सङ्गठनले कतिपय क्षेत्रमा ३० प्रतिशतसम्म सङ्क्रमितको संख्यामा बृद्धि भएको जनाएको छ । पछिल्लो हप्ता दैनिक विश्वभरी पाँच लाख ४० हजार सङ्क्रमित भएका छन् । त्यसअघि चार लाख ९० हजार औसतमा दैनिक सङ्क्रमित भएको डब्लएचओको भनाई छ ।

त्यसैगरी अघिल्लो हप्ताको तुलनामा गत हप्ता मृत्यु भएकाहरुको संख्यामा पनि थोरै बृद्धि भएको डब्लूएचओका अधिकारीहरुले जनाएका छन् । डब्लूएचओले विश्वका १३२ देशमा कोरोना भाइरसको डेल्टा भेरियन्ट फैलिएको पनि जानकारी दिएको छ । त्यसैगरी अल्फा भेरियन्ट १८२ देशमा, बेटा भेरियन्ट १३१ देशमा र गाम्मा भेरियन्ट ८१ देशमा पुगेको पनि डब्लूएचओले जनाएको छ ।

सङ्क्रमितहरुको कुल संख्याका आधारमा अमेरिका सवैभन्दा अगाडि रहेको छ भने भारत, ब्राजिल, रुस, फ्रान्स, बेलायतलगायतका देशहरुले क्रमशः अमेरिकालाई पछ्याइरहेका छन् । कतिपय देशहरुमा कोरोना भाइरसको चौथो चरणको महामारी समेत सुरु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *