Sajhamanch Archive

ओली सरकारले वृद्धि गरेको कर्मचारीको नयाँ तलबमान मन्त्रिपरिषद्‍बाट स्वीकृत

Published: in विविधा, समाज by .

काठमाडौं । सरकारले चालू आर्थिक वर्षमा वृद्धि भएको नयाँ तलबमान यही साउन १ गतेदेखि लागू हुने गरी स्वीकृत गरेको छ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको नेपाल सरकारका प्रवक्तासमेत रहेका कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।

बैठकले सबै तहका निजामती कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्वास्थ्य सेवा, संसद् सेवा, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक र प्रदेश तथा स्थानीय तहका कर्मचारीका लागि नयाँ तलबमान स्वीकृत गरेको हो। केपी शर्मा ओलीले अध्यादेशमार्फत ल्याएको बजेटमा कर्मचारीको तलब वृद्धि गरेको थियो। कोरोना महामारीमा धेरै वृद्धि गर्न नसकिएको बताउँदै सरकारले सरकारी कर्मचारीको तलब मासिक २ हजार रुपैयाँ बढाएको हो। बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णु पौडेलले कर्मचारीलाई घुमघाम काज दिने घोषणासमेत गरेका थिए। सरकारी कर्मचारीले घुमघाम काजअन्तर्गत वर्षमा १० दिन भ्रमण बिदा पाउनेछन्।

यसैगरी बैठकले नेपाल कृषि तथा वन सेवा तर्फको राजपत्राङ्कित विशिष्ट श्रेणीको पदमा बढुवा समितिको यही साउन २४ को सिफारिसअनुसार राजपत्राङ्कित प्रथम श्रेणीका सहसचिव गोविन्दप्रसाद शर्मालाई बढुवा गरी कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय गरेको छ।

मन्त्रिपरिषद् बैठकले हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका २०७८, छलफलका लागि मन्त्रिपरिषद्को प्रशासन समितिमा, विशेष आर्थिक क्षेत्र ९पहिलो संशोधन० नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिमा र सैनिक सेवा ९चौथो संशोधन० नियमावली २०७८, छलफलका लागि मन्त्रिपरिषद् विधेयक समितिमा पठाउने निर्णय गरेको उनले बताए।

सरकारले माथिल्लो त्रिशुली थ्री ए जलविद्युत् आयोजनाका लागि जग्गा प्राप्ति गर्ने र प्रारम्भिक कारबाही चलाउन सोही आयोजनाका सहायक प्रशासकीय अधिकृत कमलबहादुर बोगटीलाई प्रारम्भिक कारबाही चलाउने अधिकारी तोक्ने निर्णय गरेको छ।

यस्तै नेपाल परराष्ट्र सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका उपसचिव सुधीर भट्टराई, घनश्याम लम्साल र तेजबहादुर क्षेत्रीलाई नेपाल परराष्ट्र सेवा राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा तथा नियुक्त गरी परराष्ट्र मन्त्रालय वा अन्तर्गत पदस्थापना गर्ने निर्णय गरेको छ। सोही अवसरमा मन्त्री कार्कीले सरकारले आगामी दिनमा मन्त्रिपरिषद् बैठकको निर्णयका सूचना हप्ताको एकपटक दिइने जानकारी दिए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *