चामत्कारिक स्मरण शक्तिका धनी झापाली ठिटो अर्पण शर्मालाई चिनौं
Published: (Updated: )
by .झापा । हरेक मानिस आफूलाई कुनै न कुनै रुपबाट आम मानिसभन्दा माथि उठाउन चाहान्छ । केही पृथक चरित्रले चिनाउन चाहान्छ । यसका लागि उसले अनेकन अवसरहरुमा बाजी मार्छ, प्रतिष्पर्धा गर्छ र अब्बल देखाउँछ । यिनैमध्येका एक झापाली युवा हुन् अर्पण शर्मा ।
उनले सम्पूर्ण नेपालीहरुले गौरव गर्न योग्य काम गरे । स्मरण शक्तिमा विश्व किर्तीमान बनाएर गिनिज बुक अफ वल्ड रेकर्डमा नाम लेखाएका छन् । हामीले रेडियो, टेलिभिजन, पत्रपत्रिका र अनलाइनहरुमा सुनिरहेको यही नाम फेरि अर्को कीर्तिमानका लागि अग्रसर भइसकेका छन् ।
विस २०७२ सालमा Longest sequence of objects memorized in one minute विधामा उनले एक मिनेटमा ४२ वटा वस्तुहरुको क्रम स्मरण गरेर कीर्तिमान कायम गरेका थिए ।यसको प्रमाण पुर्याएपछि गिनिज बुक अफ वल्ड रेकर्डले प्रमाणपत्र प्रदान गरेको थियो ।
तर उनको सो कीर्तिमानलाई भारत (केरेला) राज्यकी संथी साथ्याँले १ मिनटमा ४५ वस्तुको क्रम याद गरेर तोडिन् । त्यसपछि यो विधाको रेकर्ड धेरैपटक तोडिएर अहिलेको आधिकारिक रेकर्ड ५४ छ ।
हाल मेडिटेसन तथा ब्रेन ट्रेनरको पेशामा आबद्ध यी ३१ वर्षे युवकले हालै अर्को चमत्कार गरेका छन् । आफ्नो विश्व किर्तीमानमाथि अर्कोले हक जमाएपछि विगतभन्दा दुईगुणा बढी वस्तुहरुको क्रम सम्झेर गिनिज बुकमा फेरि नाम लेखाउन यिनी प्रयासरत छन् ।
स्मरण शक्तिमा अब्बल अर्पणले पुनः यही विधामा ८३ वस्तुहरुको क्रम एक मिनटमा सम्झिएर अर्को किर्तीमानको दावी गरेका छन् । गत असार २६ गते भद्रपुरस्थित वीरेन्द्र नमूना माविको सभाहलमा उनले एक मिनटमा ८३ वटा वस्तुहरुको क्रम सम्झिएर नयाँ कीर्तिमानको लागि सफल प्रयास भएको जानकारी गराएका हुन् । शर्माले यो नयाँ रेकर्डका लागि विभिन्न क्षेत्रका अग्रज व्यक्तित्वहरुको सहभागितामा आफ्नो प्रस्तुति गरेका थिए ।
उनले एक मिनेटमा ८३ वटा वस्तुहरुको क्रम स्मरण गरिसकेको सफल प्रयासपछि गिनिज बुक अफ वल्ड रेकर्डमा चाडैं आफ्ना सबै प्रमाणहरु पेश गर्ने जानकारी दिएका छन् । हाल केही कानूनी प्रकृयाहरुमा व्यस्त भएको कारण प्रमाणहरु पठाउन ढिलो भईरहेको उनी जनाउँछन् ।
उनले पठाएको प्रमाणहरु गिनिज बुकले हेरेपछिमात्रै भेरिफाई गर्छ । भेरिफाई भएपछि मात्रै उनको नाम वेबसाइटमा हालेर उनलाई प्रमाणपत्र प्रदान गर्नेछ । पठाएको प्रमाणहरु अपुगभए वा कुनै त्रुटीभए गिनिज बुकले त्यसलाई भेरिफाई गर्दैन ।
भेरिफिकेसनको प्रकृया पूरा हुन प्रमाण पठाएको कम्तिमा पनि ३ महिना लाग्छ । उनको पहिलाको रेकर्ड भेरिफाई हुन १३ महिना लागेको उनी स्मरण गर्दछन् । भेरिफाई नहुँदासम्म उनको नाम वेबसाइटमा नदेखाए पनि गिनिजको आर्काईवमा भने उनको पहिलाको रेकर्ड हेर्न सकिन्छ ।
झापाको भद्रपुरमा विस २०४६ माघ २३ गते पिता मोहनप्रसाद कट्टेल र माता खिना कट्टेलको सन्तानका रुपमा जन्मिएका शर्मा मेमोरी किङका उपनामलेसमेत चिनिन्छन् ।सानै उमेरदेखि नै मेहनती, तीक्ष्ण दिमाग भएका शर्माले झापाको मेची बहुमुखी क्यामपसबाट व्यवस्थापन संकायमा स्नातकसम्मको शिक्षा हाँसिल गरेका छन् । परिवार तथा आफन्तले चार्टर्ड एकाउन्टेन्ट (सिए) पढाउने भनेपछि उनले कक्षा १२ सम्म सिएको तयारीसमेत गरेका थिए तर करियर यतातिर मोडियो, उनको भनाई छ।
कलेजमा पढ्दा साथीहरु बीचमा कसले छोटो समयमा धेरै वस्तुहरुको नाम सम्झन सक्छ भन्ने रमाइलो खेल खेल्दा उनले सबैभन्दा छिटो अनि धेरै वस्तुहरुको नाम याद गरेका थिए । शर्मा भन्छन्, ‘साथीहरुले मलाई यति छोटो समयमा धेरै वस्तुहरुको नाम सम्झन सक्नु त राम्रो हो नि यसले त स्मरण क्षमताको आधारमा गिनिज बुकमा नाम लेखाएर वल्ड रेकर्ड राख्न सकिन्छ भनेपछि मैले यही विधाबाट म अगाडि बढ्छु भन्ने सोचेर स्मरण क्षमतालाई नै आत्मसात गरेको हो ।’
गिनिज बुकमा नाम लेखाएका यिनले विभिन्न संघ संस्थाहरुबाट थुप्रै पुरस्कारहरु प्राप्त गरिसकेका छन् । नेपाल सरकारको युवा तथा खेलकुद मन्त्रालयले २०७२ मा राष्ट्रिय युवा पुरस्कार, सन् २०२० मा नेपाल जेसीजले स्वर्ण पदकसहित उत्कृष्ट युवा पुरस्कार, २०७४ सालमा नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले वर्ष युवा पुरस्कार आदिबाट उनी सम्मानित र पुरस्कृत भइसकेका छन् ।
Comments