Sajhamanch Archive

सिम्रिक साकोसः चालू वर्षको बजेट एक अर्ब ८९ करोड सात लाख रुपैयाँ पारित

Published: in मुख्य समाचार, सहकारी by .

झापा । समृद्ध नेपाल निर्माणको परिकल्पना पूरा गर्न सहकारी अभियान उत्तम उपाय रहेको राष्ट्रिय सहकारी बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले बताएका छन् ।

आज सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको आठौं वार्षिक साधारणसभालाई बिर्तामोडमा सम्बोधन गर्दै अध्यक्ष पोखरेलले यस्तो बताएका हुन् ।

‘सहकारी संस्था नेपालका गाउँगाउँमा पुगेका छन् । देशका ६४ लाख मानिसहरुमा सहकारीले वित्तीय पहुँच स्थापित गरिदिएको छ । महिला सशक्तिकरण एवम् हिंसा न्यूनीकरणमा सहकारीको भूमिका अग्रणी छ । यही आधारमा मूल्याङ्कन गर्दा समृद्धिका आधारहरु सहकारी अभियानले सर्लक्क अवलम्बन गरेको छ’ अध्यक्ष पोखरेलले प्रष्ट पारेका छन् ।

सहकारी अभियानलाई विश्वकै महत्वपूर्ण क्षेत्र बताउँदै राष्ट्रिय सहकारी महासंघका सञ्चालक सदस्यसमेत रहेका पोखरेलले भने, ‘संयुक्त राष्ट्रसंघ पछि अन्तर्राष्ट्रिय सहकारी महासंघ विश्वकै ठूलो संगठनका रुपमा स्थापित भइसकेको छ ।’

उनले थपे, ‘अमेरिकामा २० लाख मानिसहरुलाई सहकारीले आवासको व्यवस्थापन गरिदिएको छ । सञ्चार क्षेत्रमा पनि सहकारीले उल्लेखनीय योगदान गरेको छ । यसैले सहकारीलाई विकासवादी अभियान पनि मानिएको छ । वर्तमान नेपाल पनि सहकारीको यही मोडलबाट विकसित हुँदै गइरहेको छ ।’

कार्यक्रमका प्रमुख अतिथि रहेका सहकारी अभियन्ता पोखरेलले चालू आर्थिक वर्षदेखि सहकारी संघ–संस्थाले राज्यलाई तिर्नुपर्ने कर सहकारी ऐनमा व्यवस्था गरिएभन्दा केही परिमार्जन गरी कार्यान्वयनमा ल्याउने गरी कार्यदलले सरकारलाई प्रतिवेदन पेश गरिसकेकाले अब छिट्टै पारित हुने विश्वास दिलाए ।

साधारणसभाको उद्घाटन सत्रमा संस्थाका अध्यक्ष कमलबहादुर बस्नेतले चालू आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट प्रस्तुत गरे । सञ्चालक समितिको तर्फबाट तयार गरिएको वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष बस्नेतले एक अर्ब ८९ करोड सात लाख रुपैयाँको बजेट सार्वजनिक गरेका हुन् ।

संस्थाको आर्थिक वर्ष २०७३/०७४ को वासलात अंक ३७ करोड ४४ लाख ६१ हजार रहेकोमा गत आवमा ६० करोड ४६ लाख २७ हजार रुपैयाँ पुर्याएर समग्रमा झण्डै दोब्बर कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदन वाचन गर्दै अध्यक्ष बस्नेतले शेयर सदस्य, शेयर पूँजी, निक्षेप संकलन र फिर्ता, कर्जा लगानी तथा असुलीसहित जगेडा कोषहरुको अंक विगत वर्षहरुको तुलनामा उल्लेखनीय रुपमा बढेको सुनाए ।

संस्थाको मजवुती नियाल्ने सजिलो औजार जगेडामा रहने कोषहरुलाई मानिन्छ भन्दै अध्यक्ष बस्नेतले सात वर्षको अवधिमा चार करोड ११ लाख ५० हजार ६५५ रुपैयाँ पुर्याइएको र चालू आवमा एक करोड ४० लाख रुपैयाँ गप गर्ने लक्ष्य सुनाए ।

संस्थाका सचिव सुवास भट्टराईले सञ्चालन गरेको साधारणसभाको उद्घाटन समारोहमा झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले झापाका सबै सहकारीहरुलाई क्षमतावान र अब्बल बनाउन झापा को–अप स्टेण्डर्ड कार्यान्वयनमा ल्याइएको जानकारी गराए ।

उनले विभिन्न ८४ वटा सूचकलाई आधार मानेर मापदण्ड बनाइएकाले उक्त मापदण्ड पूरा नगरेका सहकारीहरुलाई माथि उठाउन जिल्ला संघ सहकार्य गर्न तत्पर रहेको बताए ।

कार्यक्रममा बोल्दै अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले सहकारी अभियान अग्र्यानिक कृषि उत्पादनका लागि अग्रसर भएमा प्रशोधन, भण्डारण तथा बजारीकरणमा आफूहरु सहकार्य गर्न तयार रहेको बचन दिए ।

नगरप्रमुख रानाले संघीय, प्रदेश र स्थानीय सरकार क्रमशः बन्नुपर्नेमा उल्टो बाटो अपनाइएकाले सहकारी ऐन बनाउँदा केही समस्याहरु आएको प्रष्ट पारे ।

झापा जिल्ला सहकारी संघका पूर्वअध्यक्ष हरिचरण बानियाँले केही वर्ष अघिसम्म सहकारी संस्था दर्ता गर्ने, सदस्य संख्या बढाउनेजस्ता कार्यले होडबाजीकै रुप लिएको स्मरण गरे । ‘अहिले सहकारीलाई मजवुत, क्षमतावान एवम् उन्नत आर्थिक कारोबार गर्ने अभियान चलेको छ, यसले मुलुकलाई समृद्धितर्फ डोहोर्याउन मद्धत गर्नेछ’ पूर्वअध्यक्ष बानियाँले बताए ।

साधारणसभामा संस्थाको सदस्य राहत अन्तरगत १६ जनालाई दुई हजार रुपैयाँदेखि ८० हजार रुपैयाँसम्म प्रदान गरियो ।

यस्तै प्रवेशिका परीक्षा २०७४ मा आवद्ध भई उत्कृष्ट अंक ल्याउने संस्थाका शेयर सदस्यका छोराछोरीलाई नगदसहित पुरस्कृत गरियो । पुरस्कृत हुने छात्र गोलधाप सनसाइन स्कूलका गोपाल पोखरेल र न्यूटन्स एजुकेशन एकाडेमीका छात्रा सविता भट्टराई रहेका छन् । दुवैजनाले ३ दशमलव ८५ जिपिए प्राप्त गरेका छन् । उनीहरुलाई जनही सात हजार ५०० रुपैयाँसहित सम्मानपत्र प्रदान गरियो ।

यस्तै संस्थाका हरेकजसो कार्यक्रममा आफ्नो प्रतिभा प्रस्तुत गर्दै आएकी भद्रपुर ९ की मेलिना मैनालीलाई नगद ५ हजार रुपैयाँले पुरस्कृत गरियो । ती सबै सम्मान तथा पुरस्कार प्रमुख अतिथि पोखरेल तथा संस्थाका अध्यक्ष बस्नेतले हस्तान्तरण गरेका थिए ।

सो अवसरमा बिर्तामोड नगरपालिकाका सहकारी डेस्क हेर्ने अधिकारी डिल्ली दाहालले प्रतिवेदनमा उल्लेखित कतिपय अमिल्दा विषयमा सुधार गरेरमात्र पास गर्न सुझाव दिँदै संस्थाको विनियम संशोधनलाई सहकारी ऐन २०७४ को आधारमा गर्नुपर्ने बताए ।

साधारणसभाको उद्घाटन समारोहमा जिल्ला बचत तथा ऋण सहकारी संघ झापाका अध्यक्ष घनश्याम अधिकारी, एक्सल डेभलपमेन्ट बैंक बिर्तामोडका कार्यकारी प्रमुख दिनेश पोखरेल र इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी कृष्णप्रसाद कोइरालाले विशेष मन्तब्य राखेका थिए ।

यस्तै, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, नेपाल उद्यमशील महिला संघ झापाका अध्यक्ष पार्वता बिमली खरेल, पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटा, बिर्तामोड नगरपालिका वडा नं. ४ का अध्यक्ष कूलप्रसाद संग्रौला र वडा नं. ६ का अध्यक्ष सूर्यप्रसाद कन्दङवालगायतले आफ्ना धारणा राखेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *