Sajhamanch Archive

झापाका सहकारीहरु वित्तीयरुपमा अब्बल

Published: (Updated: ) in अर्थतन्त्र, मुख्य समाचार, राष्ट्रिय समाचार, समाज, सहकारी, by .

झापा । वित्तीय कारोबार गर्ने संस्थाहरुको मूल्याङ्कनको मापक ‘अर्ब क्लब’मा झापाका नौवटा सहकारी संस्थाहरु परेको पाइएको छ । बैंकमा जस्तै वित्तीय कारोबारका लागि सहकारीमा अहिले धेरैको आकर्षण बढेको कारण यिनीहरुको कारोबारमा ग्रोथ भइरहेको हो ।

कारोबारमा सहजता, छिटो छरितो सेवा, सदस्य केन्द्रित लगानी लगायत विविध कारणले सहकारीहरुमा कारोबार बढ्दै गइरहेको पाइन्छ । यही विशेषताका कारण सहकारीहरुले आफ्नो वासलात अंक एक अर्बभन्दा माथि पुर्याएर आफूलाई वित्तीय रुपमा अब्बल स्थापित गर्न सफल भएका हुन् ।

‘गत आर्थिक वर्षको अन्त्यमा कुन संस्थाले कति कारोबार गर्यो भन्ने यकिन तथ्याङ्क सार्वजनिक भइसकेको छैन’ झापा जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकाल भन्छन्, ‘तर यहाँका नौ वटा सहकारी संस्थाहरु चाहिँ अर्ब क्लबमा प्रवेश गरिसकेका छन् ।’

राष्ट्रिय सहकारी महासंघका सञ्चालक समेत रहेका ढकालका अनुसार यी संस्थाहरु वासलातको आधारमा अर्ब क्लबमा प्रवेश गरेका हुन् । यस्तो वासलात अंक बनाउन ऋण लगानी, शेयर पुँजी संकलन, जगेडा कोषको व्यवस्था तथा निक्षेप संकलनमा पनि यिनीहरु अब्बल छन् ।

झापामा सबैभन्दा धेरै वित्तीय कारोबार गर्ने सहकारीहरुको सूचिमा केही पालिका, जिल्लाभर, तीन जिल्ला र ६ जिल्लासम्म कार्यक्षेत्र रहेका संस्थाहरु पाउन सकिन्छ ।

प्राप्त तथ्याङ्क अनुसार बिर्तामोडमा केन्द्रीय कार्यालय रहेर प्रदेश १ का ६ वटा जिल्लामा कार्यक्षेत्र बिस्तारित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्था प्रदेशको मात्रै होइन नेपालमै उत्कृष्ट सूचिमा छ । सो संस्थाले गत असार मसान्तमा १२ अर्ब ७१ करोडको वासलात बनाएको संस्थाका कार्यकारी निर्देशक महेन्द्रकुमार गिरी बताउँछन् ।

सहारा नेपालमा १ लाख ५२ हजार सदस्य रहेको तथा ७४ वटा सेवा केन्द्र मार्फत् ५०० जनाभन्दा धेरै कर्मचारीले सेवा प्रवाह गरिरहेका छन् । सहकारी संस्थाको मेरुदण्डको रुपमा लिइने जगेडा कोष नै ९३ करोडभन्दा बढी पुगेको कार्यकारी निर्देशक गिरी बताउँछन् । सो संस्थाले संरक्षित पूँजीकोष र शेयर लाभांशबाट यो पटक सदस्यहरुलाई २५ करोड ६३ लाख वितरण गरिने प्रक्षेपण गरेको छ ।

अर्ब क्लबमा विगदेखि नै समावेश भएको नेपालको अर्को उत्कृष्ट सहकारी नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको असार मसान्तको वासलात ११ अर्ब ९५ करोड २९ लाख पुर्याइएको छ ।

एनएमसीले बैंकिङ, डेरी उद्योग, कृषि फर्म, सकारी पसल र चिया उद्योगमा प्रवेश गरेर बहुव्यवसायको अभ्यास गरिरहेको छ । बैंकिङ व्यवसायलाई मुख्य कारोबार बनाएको संस्थाले ८ अर्ब ८७ करोड २३ लाख निक्षेप संकलन गरेको छ भने ९ अर्ब ३७ करोड ६३ लाख रुपैयाँ कर्जा लगानी गरेको तथ्याङ्क छ ।

संस्थामा १ लाख ५ हजार ८२१ सदस्य छन् जसबाट १ अर्ब ११ करोड ६० लाख रुपैयाँ शेयर पूँजी संकलन भएको छ भने संस्थाको मेरुदण्डको रुपमा रहेको कोषमा ७१ करोड २८ लाख १६ हजार रुपैयाँ जम्मा भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत लक्ष्मीप्रसाद उप्रेती बताउँछन् । गत आर्थिक वर्षको सिङ्गो कारोबारबाट एनएमसीले ३० करोड ६० लाख रुपैयाँ मुनाफा गरेको जनाइएको छ ।

लघुवित्तको माध्यमबाट विपन्न सदस्यहरुको सेवामा क्रियाशील उत्कृष्ट संस्था बिर्तामोडस्थित कर्णाली बचत तथा ऋण सहकारी पनि अर्ब क्लबमा रहेको अर्को संस्था हो । गत असार मसान्तमा सो संस्थाको वासलात ३ अर्ब ४१ करोड ४७ लाख रुपैयाँको बनाइएको छ ।

संस्थाका अध्यक्ष टसबहादुर श्रेष्ठका अनुसार ३५ करोड ८४ लाख ५३ हजार शेयर पूँजी रहेको कर्णालीले १ अर्ब ५१ करोड १६ लाख २० हजार निक्षेप संकलन गरी २ अर्ब ८० करोड ८६ लाख २९ हजार रुपैयाँ कर्जा लगानी गरेको छ । गत आर्थिक वर्षमा कर्णाली साकोसले ९ करोड ५८ लाख ६९ हजार रुपैयाँ नाफा गरेको उनको भनाई छ ।

झापामा अर्ब क्लबको चौथो नम्बरमा दमकस्थित मेची बहुउद्देश्यीय सहकारी संस्था रहेको छ । दमकमा मुख्य कार्यालय रही इलाम र मोरङ जिल्ला समेतमा कार्यक्षेत्र विस्तारित संस्थाको असार मसान्तको वासलात २ अर्ब ९६ करोड ३४ लाख २९ हजार पुर्याइएको छ ।

सो सहकारीमा ९ हजार ४८० सेयर सदस्य रहेका छन् भने उनीहरुबाट ३१ करोड १४ लाख दुई हजार ६०० शेयर पुँजी संकलन गरिएको छ । संस्थामा एक अर्ब ९३ करोड ४ लाख १७ हजार निक्षेप संकलन गरिँदा दुई अर्ब ५० करोड २९ लाख ६४ हजार रुपैयाँ कर्जा लगानीमा रहेको संस्थाका प्रमुख कार्यकारी अधिकृत खोमप्रसाद बगालेले बताएका छन् ।

अघिल्लो आर्थिक वर्षमा ६ करोड ५३ लाख ९२ हजार खुद नाफा गरेको संस्थाले समीक्षा वर्षमा ८ करोड ६१ लाख ४० हजार रुपैयाँ खुद नाफा गरेको जनाइएको छ ।

यसैगरी, कमल गाउँपालिकामा रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले गत असार मसान्तमा २ अर्ब ५० करोड भन्दा बढीको वासलात बनाएको छ । संस्थाका कार्यकारी प्रमुख चन्द्रकला ढकालका अनुसार १९ करोड ५० लाख हाराहारी शेयर पूँजी रहेको पूर्व नेपालमा १ अर्ब २९ करोड रुपैयाँ निक्षेप संकलन गरिएको छ ।

अर्ब क्लबको पाँचौं नम्बरमा रहेको सो सहकारी संस्थाको कोषमा २० करोड रुपैयाँ संचित छ भने २ अर्ब १२ करोड रुपैयाँ लगानीमा रहेको कार्यकारी प्रमुख ढकाल बताउँछिन् । समीक्षा वर्षमा पूर्व नेपालले ८ करोड ५० लाख रुपैयाँ खुद मुनाफा गरेको उनको भनाई छ ।

झापा, इलाम र मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाको वासलात अंक १ अर्ब ८६ करोड ७२ लाख ५६ हजार बनाइएको छ ।

संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेत आफ्नो सहकारी अर्ब क्लबमा प्रवेश गर्नुलाई खुशीसँगै चुनौति पनि बढेको सुनाउँछन् । सदस्यहरुलाई सन्तुष्ट बनाउने प्रयास गर्दा समाज पनि लाभान्वित हुन्छ भन्ने अपेक्षाका साथ सहकारीले काम गर्दा यथार्थमा यस्तो नभइरहेको उनको अनुभव छ ।

संस्थाले गत आर्थिक वर्षमा २ करोड ५८ लाख ३२ हजार खुद नाफा कमाउन ६२ करोड ३० लाख ३५ हजार रुपैयाँ कर्जा लगानी गरेको कार्यकारी प्रमुख बस्नेत बताउँछन् । उनका अनुसार सिम्रिक साकोसको शेयर रकम २४ करोड ६६ लाख २१ हजार हुँदा निक्षेप २७ करोड ३४ लाख ९४ हजार रहेको छ ।

अर्ब क्लबमा रहेको अर्को संस्था सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था दमकले अघिल्लो आर्थिक वर्षको असार मसान्तमा १ अर्ब ३७ करोड ७ लाखको वासलात बनाएको थियो । सूर्यदर्शन साकोसले २०७८ असार मसान्तमा १ अर्ब ७९ करोड ६ लाख रुपैयाँ पुर्याएको र समीक्षा वर्षमा संस्थाले ५ करोड ७२ लाख २२ हजार खुद नाफा कमाएको जनाइएको छ ।

संस्थाका प्रबन्ध निर्देशक अरुण भण्डारी एक्कैचोटी वित्तीय कारोबार ग्रोथ भएको अवस्थामा गाह्रो हुने तर बिस्तारै बढेको संस्थामा व्यवस्थापकीय अनुभवका कारण अप्ठ्यारो झेल्न नपर्ने बताउँछन् ।

वित्तीय रुपमा सक्षम भइएमा संस्थामा पूर्वाधारको विकास, प्रविधिको प्रयोग गरी कामलाई छिटो छरितो बनाउने, मेनेजमेन्टका लागि आवश्यक बजेटको तर्जुमा गर्न सकिने उनको बुझाई छ ।

अर्ब क्लबमा प्रवेश गरेपछि हिजोको भन्दा धेरै अपेक्षाहरु हुँदा रहेछन् । सदस्यकै पनि अनेकन आशा रहन्छन् । यसैले अबको ५ वर्षमा राम्रो कमर्शियल बैंक सरह ब्याजदरमा कर्जा लगानी गर्न सकिन्छ कि भन्ने रणनीति बनाएर काम गरिरहेको प्रबन्ध निर्देशक भण्डारी बताउँछन् ।

झापा जिल्लाभर कार्यक्षेत्र रहेको उदीयमान संस्था हाम्रो नेपाल बचत तथा ऋण सहकारी संस्था बिर्तामोडको पनि वासलात वृद्धि उल्लेखनीय रहेको पाइन्छ । संस्थाका अध्यक्ष भानु दंगालका अनुसार गत असार मसान्तमा हाम्रो नेपालले १ अर्ब ५१ करोड ७२ लाख ४८ हजारको वासलात बनाएको छ ।

जिल्लाका विभिन्न स्थानमा २० वटा सेवा केन्द्र रहेको संस्थामा १६ हजार ५०० हाराहारी सदस्य रहेका छन् । समीक्षा वर्षमा संस्थाले १ करोड ७८ लाख ४८ हजार रुपैयाँ मुनाफा गरेको अध्यक्ष दंगालले जनाएका छन् ।

गतवर्षको पुष–माघबाट एक अर्बको कारोबारमा प्रवेश गरेको दमकको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २०७८ असार मसान्तमा १ अर्ब १० करोडको वासलात अंक पुर्याएको छ ।

संस्थाका प्रबन्धक कमल घिमिरे सदस्यसँगै संस्था रहेको आसपासको समाजले पनि ठूलो कारोबार गर्ने सहकारीबाट सामाजिक उत्तरदायित्वको अपेक्षा राख्ने गरेको बताउँछन् । सदस्य केन्द्रित ब्यवहार गर्दै आएको अब समुदायका लागि पनि सोच्न थालिएको जनाउँदै घिमिरेले हिजोदेखि नै संस्थाले समुदायको शिक्षा एवम् स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको थियो, अब थप घनिभुत हुनु परेको अनुभव गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *