Sajhamanch Archive

झापाका स्थानीय तह मध्ये, कचनकवलमा सबैभन्दा बढी र शिवसताक्षीमा कम बेरुजु

Published: in अर्थतन्त्र, मुख्य समाचार, समाज, स्थानीय तह by .

झापा । झापाका स्थानीयतहमा सबै भन्दा बढी बेरुजु कचनकवल गाउँपालिका र सबैभन्दा कम बेरुजु शिवसताक्षी नगरपालिकामा देखिएको छ ।

महालेखा परिक्षकको कार्यालय काठमाडौंले सार्वजनिक गरेको ५८ औं वार्षिक प्रतिवेदन अनुसार कचनकवल गाउँपालिकामा मात्रै ६ दशमलव ०६ प्रतिशत वेरूजु देखिएको छ ।

कचनकवलको कुल लेखा परिक्षण रकम १ अर्ब १९ करोड ४३ लाख ९५ हजार रुपैयाँको ६ दशमलव ०६ प्रतिशत रकम अर्थात ७ करोड २३ लाख २१ हजार रूपैयाँ बेरुजु देखिएको छ ।

त्यसैगरी शिवसताक्षी नगरपालिकाको सबै भन्दा कम बेरुजु देखिएको छ । प्रतिवेदनले शिवसताक्षीको ०.०६ प्रतिशत अर्थात ११ लाख ७७ हजार रुपैयाँ मात्र बेरुजु देखिएको छ ।

लेखा परिक्षण गरिएको कुल रकम १ अर्ब ९० करोड ५३ लाख ६८ हजार रुपैयाँ मध्ये ०.०६ प्रतिशत बेरुजु देखिएको छ ।

गौरीगंज गाउँपालिकाको १ करोड १५ लाख ६ हजार रुपैयाँ बेरुजु देखिएको छ । लेखा परिक्षण गरिएको कुल रकम ९९ करोड ४३ लाख १ हजार रुपैयाँको १.१६ प्रतिशत रकम बेरुजु देखिएको हो । गत आर्थिक वर्षमा गौरीगंजको बेरुजु २.०९ प्रतिशत अर्थात १ करोड ७८ लाख ६६ हजार रूपैयाँ थियो ।

त्यस्तै मेची नगर नगरपालिकाको बेरूजु प्रतिशत २ दशमलव २७ प्रतिशत, भद्रपुर नगरपालिकाको ४ दशमलब २३ प्रतिशत, दमक नगरपालिकाको १ दशमलब ०९ प्रतिशत, कनकाईको १ दशमलव ३४ प्रतिशत, अर्जुनधाराको २ दशमलव ९० प्रतिशत, गौरादहको १ दशमलव ४६ प्रतिशत, झापाको शून्य दशमलव ६० प्रतिशत, हल्दीबारीको २ दशमलब ५९ प्रतिशत, बाह्रदशीको १ दशमलब ६६ प्रतिशत, बुद्वशान्तिको २ दशमलब २० प्रतिशत, कमल गाउँपालिकाको ० दशमलब ०८ प्रतिशत रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *