द्रुतमार्गमा हात्ती हिँड्ने बाटो
Published: (Updated: )
by .पर्सा । संघीय राजधानीलाई तराईसँग जोड्न निर्माणाधीन काठमाडौं–निजगढ द्रुतमार्गमा वन्यजन्तुका लागि दुई ‘अन्डर पास’ निर्माण हुने भएको छ । सडकले वन्यजन्तुको आवागमनका बाधा नपार्न नेपाली सेनाले कोरियाली परामर्शदातामार्फत स्थलगत अध्ययन गराएको हो ।
‘एनिमल पास’ को डिजाइन सम्बन्धमा दक्षिण कोरियाली परामर्शदाता कम्पनी योसिन इन्जिनियरिङ कर्पोरेसनले स्थलगत अध्ययन पूरा गरेर प्रतिवेदन दिएको नेपाली सेनाले जनाएको छ । सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलले भने, ‘कन्सल्ट्यान्टले स्थलगत अध्ययन पूरा गरेपछि हामी अब कस्तो अन्डर पास बनाउने भन्ने फेजमा छौं । दुइटा अन्डर पास बनाउने डिजाइन छ ।’ द्रुतमार्गको मुनिबाट वन्यजन्तु आवागमनका लागि पास निर्माण हुने उनले बताए । ललितपुरको खोकनादेखि बाराको निजगढ जोड्ने साढे ७२ किलोमिटर लम्बाइको द्रुतमार्ग निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । छोटा तीन सुरुङमार्ग र ८७ वटा पुल रहने डिजाइनमा निर्माणाधीन सडकले वन्यजन्तुलाई बाधा नपार्न सेनाले कोरियन कम्पनीलाई परामर्शदाता ल्याएको हो । राष्ट्रिय गौरवको आयोजनामध्येको यो सडक निर्माण हुने क्षेत्रमा पहाड, तराई र वनजंगलको भूभाग पर्छ । ‘बीचमा हात्ती वारिपारि गर्ने क्षेत्र पनि द्रुतमार्गमा पर्यो, त्यसैले कहाँ एनिमल पास बनाउने भनेर विदेशी परामर्शदाताबाट प्राविधिकबाट अध्ययन गराइएको हो,’ प्रवक्ता पौडेलले भने, ‘अब माथि हुन्छ, तल एनिमल पास बन्नेछ, त्यसको डिजाइन तयार भइसक्यो । अब निर्माणको काम हुन्छ ।’
कोरियन कम्पनीले स्थलगत अध्ययनका क्रममा सरोकारवालाको रायसुझावसमेत संकलन गरेको थियो । पर्सा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोजकुमार साहका अनुसार द्रुतमार्ग निर्माण हुने क्षेत्रमा जंगली जनावरमध्ये विशेषगरी हात्तीको सहज आवागमनका लागि अन्डर पास आवश्यक छ । ‘कन्सल्टेन्ट कम्पनीको टोलीसँग हाम्रो २र३ पटक छलफल भएको थियो,’ उनले भने, ‘हात्तीको परम्परागत पदमार्ग नबिथोलिने गरी एनिमल पास निर्माण हुनुपर्ने सुझायौं । हामी आफैं पनि यस विषयमा आवश्यक काम गरिरहेका छौं ।’
द्रुतमार्गअन्तर्गत निजगढदेखि चुरे पहाडको फेदीसम्म ३ देखि ४ वटासम्म अन्डर वा ओभर पास आवश्यक हुने उनले बताए । ‘बथानमा हिँड्ने हात्तीले बर्सेनि साउन–भदौ महिनामा निकुञ्जको पश्चिमबाट पूर्वतर्फ एउटै पदमार्ग प्रयोग गरी आएका छन्,’ उनले भने, ‘द्रुतमार्ग निर्माण र भविष्यमा गाडी चल्न थालेपछि त्यसले पक्कै पनि हात्तीको परम्परागत पदमार्ग बिथोलिन्छ, त्यसकारण उनीहरू हिँड्ने परम्परागत बाटोलाई सुरक्षित राखेर द्रुतमार्ग बनोस् भन्ने हाम्रो भनाइ हो ।’
वन्यजन्तु आफ्नो परम्परागत पदमार्गमै हिँड्छन् । एकपटक बिथोलिएर असुरक्षित महसुस गरेपछि लामो समय त्यो बाटो नहिँड्ने उनी बताउछन् । ‘यो मामिलामा हात्ती झन् बढी संवेदनशील हुन्छन् । आफ्नो सुँडसमेतको उचाइभन्दा बढी अर्थात् २४ फिटसम्म अग्लो एनिमल पास नभए नयाँ बाटोबाट आवागमन नै गर्न चाहँदैनन्,’ उनले भने, ‘निकुञ्जका हात्ती त्रिभुवन राजपथ छिचोलेर बर्सेनि पूर्वमा सर्लाहीसम्म पुग्छन् । त्यसकारण पनि उनीहरूको प्राकृतिक पदमार्ग कुनै पनि हालतमा बिथोलिनु हुँदैन ।’
निकुञ्जको घना वनक्षेत्रलाई चिर्दै त्रिभुवन राजपथको पथलैया–अमलेखगन्ज सडकखण्ड छ । साउन–भदौमा हात्तीका बथान राजपथ छिचोलेर पूर्वतर्फ लाग्ने गर्छन् । त्यहाँबाट करिब २० किमि पूर्वमा द्रुतमार्ग पर्छ । द्रुतमार्गसमेत छिचोलेर हात्तीको झुन्ड पूर्वमा सर्लाहीसम्म पनि पुग्छ । एनिमल पास हात्तीले मात्र नभई बाघ, भालु, चित्तल आदिदेखि सर्प, गोहोरो आदि सरिसृप तथा ससाना किटसमेतले प्रयोग गर्ने गरेको साह बताउँछन् ।
हात्तीमै विद्यावारिधि गरिरहेका कोसी टप्पु आरक्षका प्रमुख संरक्षण अधिकृत अशोक राम हात्तीले कहिल्यै आफू हिँडेको पुरानो बाटो नबिर्सने बताउँछन् । ‘हिँडेको बाटोको ५ किमि दूरीसम्मका बाधा अवरोध पत्ता लगाउन सक्ने क्षमता भएको हात्तीहरू अगाडि कुनै अवरोधको पूर्वाभास हुँदा जहाँको तहीं रोकिन्छन् र उनीहरू जतासुकै पस्न सक्छन्,’ उनले भने । हात्ती हिँड्ने जैविकमार्ग बिथोलिन नहुने रामको तर्क छ । ‘हात्तीले सुँड माथि उठाएर उसले १५ किमि दूरीसम्मको अवस्था मापन गर्न सक्छ,’ उनले भने, ‘टाढाको अर्को बथानलाई उनीहरू अवस्थाको संकेत गर्छन् ।’
नेपालका राष्ट्रिय वन, निकुञ्ज तथा आरक्षहरूमा गरी २ सय २५ वटा जंगली हात्ती छन् । जसमध्ये सबैभन्दा बढी बर्दिया कम्प्लेक्समा १ सय १०, चितवन–पर्सा कम्प्लेक्समा ४५ देखि ५०, सिन्धुलीमा ८, कोसीमा १३ देखि १४, झापामा १९ देखि २० र शुक्लाफाँटामा २० देखि २५ वटा छन् ।
Comments