अस्पतालमा आएका विरामीलाई झुक्याएर निजी क्लिनिक लैजाने बिचौलिया पक्राउ
Published:
by .विराटनगर । अस्पतालमा आएका बिरामीलाई झुक्याएर निजी क्लिनिकमा लैजाने विराटनगरका १० जना बिचौलियालाई प्रहरीले पक्राउ गरेको छ । बिचौलियाको भूमिकामा रहेर ठुला अस्पतालमा उपचारका जाने बिरामीलाई निजी क्लिनिक र फार्मेसी (औषधि पसल) तिर लैजाने १० जनालाई पक्राउ गरेको हो ।
मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठका अनुसार विराटनगरको नोबेल शिक्षण छेउछाउबाट सात र कोसी अस्पतालनजिकबाट तीन जनालाई मङ्गलबार राति पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा विराटनगरको नोबेल शिक्षण अस्पतालनजिकको अली फार्मेसीबाट विराटनगर महानगरपालिका–७ का १८ वर्षीय विश्वास मण्डल, युनिक केयर फार्मेसीबाट विराटनगर–१४ का २३ वर्षीय रोशन गुप्ता, कृपा फार्मेसीबाट विराटनगर–४ का १९ वर्षीय सुजित यादव र विराटनगर–५ का २१ वर्षीय समीर खान, क्याटलाइसिस फर्माबाट विराटनगर–५ का २२ वर्षीय फिरोज रोय, एपी फार्मेसीबाट विराटनगर–५ का १८ वर्षीय सरोज खान र दाजुभाइ फार्मेसीबाट विराटनगर–३ का १८ वर्षीय अमित यादव छन् ।
कोसी अस्पतालनजिकको मेनुका औषधि पसलबाट सुनसरीको दुहवी–६ का ५४ वर्षीय श्रीराम चौधरी, मोरङको कटहरी–३ का ४२ वर्षीय मोहमद जलिछ र एन्जल फार्मेसीबाट सिहराको सिरहा–२ का २० वर्षीय सूर्यनारायण यादवलाई पक्राउ गरिएको उनले बताए ।
उनका अनुसार बिरामी भएर अस्पताल पुगेकाहरूलाई उपचारका लागि जान नदिइकन निजी क्लिनिक र फार्मेसीतिर लैजाँदै गर्दा उनीहरू पक्राउ परेका हुन् । मोरङ प्रहरी प्रमुख एसपी जनार्दन जिसीका अनुसार कमिसनको लोभमा अस्पताल छिर्नै नदिइकन बिचौलियाले बिरामीलाई बीचैबाट निजी क्लिनिकतिर लैजाने गरेको पाइएको छ ।
कमिसन पाउने भएकाले बिचौलियाले आफ्नो सम्पर्कमा भएका क्लिनिकमा लगेर उपचार गराउन लगाउने तथा फार्मेसीमा महँगो मूल्य तिराएर औषधि किनाउने गरेको उनले बताए । उनका अनुसार बिचौलियाले कोरोना महामारीको त्रास देखाउँदै र अस्पतालमा राम्रो उपचार नहुने भन्दै झुक्याएर बिरामीलाई आफ्ना क्लिनिकमा लैजाने गरेको पाइएको छ ।
पक्राउ परेकाहरूविरुद्ध प्रहरीले अभद्र व्यवहार मुद्दा चलाउन बुधबार म्याद थप गरेर अनुसन्धान अघि बढाएको छ । प्रहरीले एक साताअघि पनि विराटनगरबाट दुई जना बिचौलियालाई पनि पक्राउ गरेको थियो ।
न्युरो अस्पतालअगाडिको ज्ञानु फार्मेसीमा काम गर्दै आएका विराटनगर–८ का १८ वर्षीय प्रधुम्न राय र २३ वर्षीय आनन्दकुमार साहलाई प्रहरीले पक्राउ गरेको थियो ।
Comments