झापाका प्रदेश सांसद थापा कृषि तथा सहकारी मन्त्रीमा नियुक्त
Published: (Updated: )
by .झापा । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले आज पाँचजना मन्त्री तथा राज्यमन्त्री थपेर भदौ १० गते गठित मन्त्रिपरिषद विस्तार गरेका छन् ।
मुख्यमन्त्री आचार्यले आर्थिक मामिला तथा योजना मन्त्रीमा तुलसी न्यौपाने र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा हिरा थापालाई नियुक्त गरेका हुन् । यस्तै, उद्योग राज्यमन्त्रीमा उत्तम बस्नेत, भूमि व्यवस्था राज्यमन्त्रीमा ज्ञानेश्वर राजवंशी र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा लिला बल्लभ अधिकारीलाई नियुक्त गरिएको हो ।
नवनियुक्त पाँचैजना मन्त्री तथा राज्यमन्त्रीले आजै पद तथा गोपनीयताको सपथ लिएर कार्यभार सम्हालेका छन् । नवनियुक्त कृषि तथा सहकारी मन्त्री हिरा थापा झापा क्षेत्र नं. ४ (क) बाट निर्वाचित नेकपा एमालेका सांसद हुन् ।
मन्त्री नियुक्त भएपछि फेरि हिरा थापाको विगतलाई समाजले कोट्याउने प्रयास गरेको छ । झापाको गौरादहमा बसोबास रहेका थापाले विश्वकर्माकी छोरीसँग विवाह गरेकै कारण त्यहाँबाट विस्थापित भएर सुरुङ्गामा बस्नु परेको थियो ।
अहिले कनकाई नगरपालिकाको सुरुङ्गाका स्थायी बासिन्दा थापा नेकपा एमालेको मजदुर क्षेत्रमा नेतृत्व गर्दै राजनीतिमा सक्रिय भएका नेता हुन् । मजदुर विशेष जिल्ला कमिटी झापामा थापाले पहिलो र अन्तिम प्रमुख भएर काम गरेको इतिहास छ ।
सामान्य जीवनशैली र एमालेको राजनीतिमा इमान्दार नेताका रुपमा स्थापित थापा आठौं महाधिवेश पछि मेची अञ्चल कमिटीको सचिवको जिम्मेवारी सम्हालेका थिए । उनी अहिले एमालेको प्रदेश १ कमिटी सदस्य छन् ।
अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिनुअघि नै मन्त्रिपरिषद् विस्तार गरेका हुन् । यसअघि आचार्यको क्याबिनेटमा बलबहादुर सामसोहाङले सामाजिक विकास मन्त्रालय र लछुमन तिवारीले उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय सम्हालि सकेका थिए । अब मुख्यमन्त्री आचार्यको सरकार ८ सदस्यीय भएको छ ।
एमाले विभाजन भएपछि अल्पमतमा परेका मुख्यमन्त्री आचार्यले ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने हुन्छ । नेकपा एमालेको विभाजनपछि भदौ ९ गते निर्वाचन आयोगबाट नेकपा एकीकृत समाजवादीले वैधानिकता पाइसकेको अवस्थामा मुख्यमन्त्रीले असोज ८ भित्र विश्वासको मत लिनुपर्ने अडान लिएको छ ।
तर असोज अन्तिम साता विश्वासको मत लिने गरी आचार्यले मन्त्रिपरिषद् विस्तार गरेका हुन् । आचार्यले राज्यमन्त्री बन्न गरेको प्रस्ताव एमाले संसदीय दलका सचेतक बुद्धिकुमार राजभण्डारी, उदयपुरका सांसद विमल कार्की र शेरधन राई नेतृत्वको सरकारका उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री रहेका राजकुमार ओझाले अस्वीकार गरेको बताइएको छ ।
नव नियुक्त मन्त्री र राज्यमन्त्रीहरूलाई बुधबारै साँझ पद तथा गोपनीयताको सपथ खुवाइएको छ । मन्त्रिपरिषदको बुधबारै बसेको बैठकले असोज २२ गते प्रदेशसभाको अधिवेशन बोलाउने निर्णय गरेको छ । वैठकको सुरुवातमै मुख्यमन्त्रीले विश्वासको मत लिनेछन् । प्रदेशसभामा अहिले एमालेका सभामुखसहित ४१ सदस्य छन् । प्रदेशसभामा बहुमत देखाउन आचार्यलाई ४७ सांसद चाहिन्छ ।
Comments