Sajhamanch Archive

‘सिंहदरबारको अधिकार घर–आँगनमा होइन पालिकामा छ’

Published: (Updated: ) in अन्तर्वार्ता, स्थानीय तह, , by .

शनिलाल राजवंशी, भद्रपुर नगरपालिका वडा नम्बर ९ का अध्यक्ष हुनुहुन्छ । साविक गरामनी २ खोपबाडीमा २०२८ वैशाख १ गते जन्मनु भएका शनिलालले पूर्व नेकपा एमालेको क्षेत्रीय सदस्य भई कामगर्नु भएको छ । २०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा चन्द्रगढी गाविसको उपाध्यक्ष भई पाँच वर्षसम्म जनसेवामा लाग्नु भएका उहाँ नेपाल कम्युनिष्ट पार्टी ने क पाका नेता हुनुहुन्छ ।

आप्mनो कर्तव्य र दायित्व राम्ररी बुझ्नु भएका शनिलाल जनताको काम गर्दा जिम्मेवार र इमान्दार हुनुपर्छ भन्ने सोचका साथ कार्यक्षेत्रमा जुट्नु भएको छ । वडाध्यक्ष राजवंशीसँग स्वाधीन सम्वाद साप्ताहिकका सम्पादक माधब बिद्रोहीले वडाको विकास निमार्णसहित सरोकारका बारेमा गरेको कुराकानीको संक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

नगरप्रमुखलाई मन नपरेको वडाध्यक्षको प्रस्ताव नै पास गरिँदैन

शनिलाल राजवंशी, वडाध्यक्ष : भद्रपुर नगरपालिका ९

वडाध्यक्ष बनेको एक वर्ष भयो । जनताका समस्या र तपाईंहरुसँग उनीहरुका अपेक्षा कस्तो पाउनु भयो ?

जनताको माग अहिले नै त्यत्रो ठूलो छैन । किनभने हिजैदेखि स्थानीय निकाय हुँदा नै यसले केही गर्न सक्दैन भन्ने मानसिकता थियो । समस्या पनि २०औं वर्षदेखि चाँङ लागेर बसेको छ । जनताको समान्य माग कुलो, सिंचाई, बाँध पैनी, तटबन्धन, घर अगाडिका बाटा विजुली आदि मै केन्द्रित छ ।

स्थानीय तहलाई सरकारको रुपमा हेर्ने र पालिकाहरुले सरकार कै शैलीमा काम गर्नुपर्छ भनेर जनताले भनेको पाइँदैन । सामान्य सिफारिसहरुलाई देखाएर ठूलो काम गरियो भन्ने अवस्थामा हामी वडा अध्यक्षहरु छौं । जनताले त सानोतिनो सारो गाह्रोमा पनि वडाले सहयोग गरोस् भन्ने चाहन्छन् । हामी त्यो पूरा गर्ने अवस्थामा छैनौं ।

तपाईको वडा नं. ९ ले भौतिक पूर्वाधारको क्षेत्रमा गतवर्ष के कस्ता काम गर्यो ?

भद्रपुर वडा नम्बर ९ आदिवासी जनजाति र अन्य जातजातिको बसोबास बाहुल्य वडा हो । हामीले गतबर्ष र चालु बर्षमा पनि भौतिक पूर्वाधार सम्बन्धी काम मात्रै गरेका छौं । अहिले नै हामी सबै क्षेत्रमा प्रवेश गर्न सकेका छैनौं । गतबर्ष हामीले केही पूल, केही बाटो नाला सिंचाई, केही मर्मतलगायतका काम गरेका छौं । नगरपालिकाको ५५ लाखको लागतमा हामीले आदिवासी जनजातिको बसोबास क्षेत्रमा पर्ने कालिका टी इस्टेट जाने बाटोमा पर्ने बुद्धमार्गमा पूल तथा पक्की ड्रेन बनाउँदैछौं । यो नगरस्तरीय लगानीमा वडास्तरीय सडक क्रमागत योजनामा रहेको छ ।

सीमा क्षेत्र विकास कार्यक्रमअन्तर्गत स्वर्गद्वारी मार्गमा पर्ने हँडिया निन्दा दोभानमा तटबन्धन गरेका छौं । स्योटु मार्ग, प्रणामीनगर (ढोक्साबारी), कञ्चनजंघा मार्ग, सातपाखे मार्ग, गोपछेन मार्ग, रचनामार्ग, बुद्ध मार्ग, स्वर्गद्वारी मार्ग, सयपत्रीमार्ग, कृषिमार्ग, प्रणामी मार्ग, फयरल्याण्ड मार्गलगायतका सडकमा मिक्सगिटी हालेर सडक मर्मत गरेका छौं । त्यसैगरी हिमालीचोक हुँदै मनषा सिमेन्ट उद्योगसम्मको २ किलोमिटर सडकको रेखाङ्कन गरिएको छ । त्यतिमात्र होइन हामीले बस्तीमा पस्न लागेको खोलासमेत फर्काएका छौं ।

कृषि क्षेत्रको अवस्था कस्तो छ ?

कृषि क्षेत्रमा तपाईले भनेजस्तो त केहीगर्न सकेका छैनौं तर पनि हामीले कृषि क्षेत्रको उत्पादन बढाउको लागि बिग्रिएका सिंचाई मर्मत गरेका छौं । गोजा पैनी बमप्रसाद बाँध, तित्रेगाछी बाँध, हँडिया कृषक नहर मर्मत गरी सुचारु गराएका छौं । नगरपालिकाले आयोजना गर्ने कृषि तालिममा यस वडाबाट प्रतिनिधि पठाएका छौं । यस बाहेक त्यस्तो केही काम पनि बजेटको कारण गर्न सकेका छैनौं ।

शिक्षा र स्वास्थ्यमा के हुँदैछ ?

हामाीले शिक्षा र स्वास्थ्यको क्षेत्रमा पनि केही रकम छुट्याएका छौं । त्यसै बजेटले भ्याएसम्म काम गरेका छौं । शिक्षा क्षेत्रको बजेट पशुपतिनाथ आधारभूत विद्यालयमा २ लाखको लगानीमा घेराबारा गरेका छौं । चन्द्रगढी हेल्थ पोष्टको लागि ३ लाख रुपैयाँ र घर–गाउँ क्लिनिकको लागि ३ लाख रुपैयाँ स्वास्थ्य क्षेत्रमा विनियोजन गरिएको छ । गतबर्षको स्वास्थ्य क्षेत्रको बजेटबाट चन्द्रगढी हेल्थ पोष्टको आँगनमा ढलाई गरेका थियौं ।

पर्यटनमा के योजना छ ?

वडा नम्बर ९ ले पर्यटकीय क्षेत्रको रुपमा चन्द्रगढी सीमसार क्षेत्रलाई अघि सारेका छौं । हामी यस क्षेत्रको विकासलाई मसिनो गरी काम अघि बढाउँदै दैनिक एक हजारभन्दा बढी पर्यटक भित्राउने किसिमको योजना बनाउन लागेका छौं । यहाँ वनभोजस्थल बनाउने सीमसार क्षेत्रमा डुङ्गा चलाउनेलगायत पर्यटकले अवलोकन गर्ने क्षेत्रहरु पहिचान गरी व्यवस्थित गर्ने गरी चन्द्रगढी सामुदायिक बन उपभोक्ता समितिले गर्दै गरेको कार्यलाई सहयोग गर्न रकम विनियोजन गरेका छौं ।

सिंहदरबारको अधिकार जनताको घर आँगनसम्म आयो त ?

यो नारा राम्रो छ । अधिकार के हो भन्ने कुरा बुझ्न जरुरी हुन्छ । अहिले पालिकाहरुले आ–आप्mनो वडामा जनताको भेला गराई योजना छनौट गरेर नगरपालिकामा पठाए । सिंहदरबारको अधिकार जनताको घर–आँगनसम्म आयो भन्ने व्याख्या गरिएको छ । यो काम त हिजोका गाविसहरुले पनि गर्दै आएका थिए । अहिले केही गाविसलाई समेटेर नगरपालिका बनाइएको छ । हिजोको गाविस आजको वडा बनाइएको छ र हिजो गाविसले गर्ने कामहरु मध्ये आर्थिक कारोबारको अधिकार वडालाई नदिएर पालिका तहमै खुम्च्याइएको छ ।

त्यसकारण सिंहदरबारको अधिकार घर–आँगनमा होइन पालिका तहमा भन्नु पर्ने हुन्छ । वडाले सशर्त बजेट पाउँछ । त्यसको फरफारक पनि पालिकाले नै गर्छ । निश्चित योजनाको बजेट तत् तत् योजनामा खर्च हुन्छ । सामान्य रुपको खर्च जस्तो कसैको घर अगाडि तत्काल १–२ ट्याक्ट्रर मिक्स गिटी हाल्नु पर्यो भने हामी वडा अध्यक्षहरुले पालिकामा सिफारिस मात्रै गर्न सक्छौं अनि भन्छ दियो भने पालिकाले देला मेरो काम सिफारिस गर्ने हो गरें भन्नुपर्ने अवस्था आएको छ ।

कहीँ राजनीतिक विचार नमिल्ने वा एउटै पार्टीबाट जितेर गएको भए पनि नगरप्रमुखलाई मन नपर्ने वा भनेको नमान्ने वडा अध्यक्ष परे भने जनताको त्यो माग सुनवाई हुँदैन । नगरप्रमुखलाई मन नपरेको वडाध्यक्षको प्रस्ताव नै पास गरिँदैन । अहिले क्षेत्र ठूलो बनाइयो तर जिम्मेवारी सानो दिएर वडालाई कमजोर बनाउने काम भएको छ ।

अहिले पनि वडाका बासिन्दाले गाउँटोलमा सब्जी खेतीको तालिम चाहियो भन्दा हामी दुई जना प्रतिनिधि पालिकाले मागेको छ, तपाईहरु २०० जनामध्ये २ जना त्यो तालिममा जानुस् भन्ने अवस्थामा छौं । लक्षित बर्गको बजेटको कुनै पनि कार्यक्रम वडाले गर्न पाएको छैन, त्यो सबै पालिका तहमै रोकिएको छ ।

जनताका सानातिना काम चाहिँ कसरी गर्दै हुनुहुन्छ ?

अहिले हामीलाई कार्यालय व्यवस्थापन तथा सारागारा कार्यका लागि भन्दै ५ लाख रुपैयाँ दिइएको छ । त्यसैबाट हामीले महिला, आदिवासी जनजाति, खेलकुद र संघ–संस्थासँग अन्तरसम्वाद जस्ता कार्यको लागि केही रकम छुट्टाएर काम गर्दैछौं ।

यस आर्थिक वर्षमा के कस्ता कार्यक्रमहरु गर्ने तयारीमा हुनुहुन्छ नि ?

यस आर्थिक वर्षमा हामीले गतबर्षको क्रमागत रहेको बुद्ध मार्गमा पर्ने सडकको दुबैतिरको ड्रेन निर्माणको लागि ५५ लाख छुट्टयाएका छौं । पाँच लाख रुपैयाँको दरले केही योजना अघि सारेका छौं । पुहातुबारी प्रगतिमार्गमा पर्ने ढोक्साबारी पूल, कञ्चनजंघा मार्गको रेखाङ्कन गरी प्लम्बवाल लगाउने, शुक्रराजमार्ग स्तरोन्नति गर्नेजस्ता भौतिक कार्यहरु गरिनेछ ।

तीन वटा सरकारी आधारभूत विद्यालयलाई १ लाख ५० हजार रुपैयाँ विनियोजन गरेका छौं । सिंचाईमा ६ लाख, शान्तिमार्गमा २ लाख छुट्टयाइएको छ । निराशा टोलमा पर्ने सुकुम्बासी बस्तीमा बाटोसहितको तटबन्धनको लागि २ लाख रुपैयाँ विनियोजन गरेका छौं ।

वडाको टीमको सहयोग कस्तो पाउनु भएको छ ?

यस वडामा विजयी हुनुभएका वडा सदस्य साथीहरुले पनि सक्रियतापूर्वक सहयोग गरिरहनु भएको छ । नेत्रप्रसाद पौडेल नुतन, राम दाहाल, टुञ्जा रुचाल र प्रेमकुमारी भट्टराइले आ–आफ्नो क्षेत्रमा कमाण्डका साथ काम गरिरहनु भएको छ ।

कर्मचारी साथीहरुको पनि राम्रो सहयोग प्राप्त गरेको छु । समग्रमा नेकपा, कांग्रेसलगायत सबै पार्टीको सहयोग राम्रो ढङ्गले प्राप्त गरेको छु । अझ वडाबासीले मलाई खै हाम्रो योजना भन्दै, यो काम खै, त्यो काम खै भन्दै सझग गराउँदै डोहोर्याई रहनु भएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *