Sajhamanch Archive

खुद्रा साकोसको नाफा ३८ लाख बढी, विभिन्न विधाका १९ जना सम्मानित

Published: (Updated: ) in मुख्य समाचार, विविधा, समाज, सहकारी by .

शिवसताक्षी । शिवसताक्षी नगरपालिका वडा नं. ११ दूधे स्थित खुद्रा बचत तथा ऋण सहकारी संस्थाले ३८ लाख बढी नाफा कमाएको छ । संस्थाले आज १५ औ वार्षिक साधारण सभाको उद्घाटन गर्दै आ.व. ०७७÷०७८ मा ३८ लाख ८ हजार ६४ रुपैया नाफा कमाएको जानकारी गराएको हो ।

शिवसताक्षीको दूधेमा रहेको उक्त संस्था २०६२ सालमा स्थापना भएर निरन्तर कारोबार गर्दै आएको छ । कार्यक्रममा संस्थाका अध्यक्ष नारायणप्रसाद बजगाईँले सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गरेका थिए । उनले कोरोना भाइरको जोखिमका बाबजुत पनि संस्थाले वित्तीय क्षेत्रमा निरन्तर काम गरिरहेको बताए । हाल शेयर सदस्यहरुको आवश्यकता र क्षमताको आधारमा ३० लाख सम्म ऋण लगानी गर्न सक्ने संस्था भएकाले शेयर सदस्यहरुले कुनै बैंक तथा वित्तीय संस्थाहरुमा मुख ताकिरहनु नपर्ने अध्यक्ष बजगाईँले जानकारी दिए ।

कार्यक्रममा विभिन्न समयमा संस्थामा रही काम गर्ने पुर्व सञ्चालकहरुलाई सम्मान गरिएको थियो । संस्था स्थापनाकालदेखि विभिन्न समयमा काम गर्ने पर्शुराम ढुंगाना, पर्शुराम अधिकारी, नरपति पाठक, कल्पना शिलुवाल, पदप्रसाद दाहाललाई सम्मान पत्र र खादा ओढाएर सम्मान गरिएको थियो । त्यस्तै आ.व.०७७÷०७८ मा असल बचत कर्तातर्फ महानन्द दुलाल, खगमाया चापागाईँ र असल ऋणी तर्फ धनपति बाँस्कोटा र शुसिला गुरुङलाई नगदसहित सम्मान पत्र प्रदान गरिएको थियो । शेयर सदस्यहरु मध्येबाट ज्येष्ठ नागरिक रामचन्द्र अधिकारी, बमप्रसाद पौडेल, नरमाया खनाल, पदमाकुमारी उप्रेतीलाई पनि संस्थाले सम्मान पत्र प्रदान गरेको छ ।

त्यस्तै २०७७ सालको एसइइ परीक्षामा उत्कृष्ट जिपिए ल्याउने शेयर सदस्यहरुका छोराछोरीहरुलाई पनि संस्थाले नगद सहित सम्मान गरेको छ । शेयरसदस्यहरुका छोरा छोरी मध्ये सामुदायिक विद्यालयतर्फबाट एसइइ परीक्षमा उत्तीर्ण हिमान्सी रिजाल, विवेक दाहाल र संस्थागत विद्यालय तर्फका विनय अधिकरी र दिपशना खड्कालाई नगद सहित संस्थाले सम्मान गरेको हो । संस्थाले पूर्व संकलन डिल्ली श्रेष्ठ र अर्जुन भण्डारीलाई पनि नगदसहित सम्मान गरेको संस्थाका व्यवस्थापक भिम लक्समले जानकारी दिए ।

कार्यक्रममा लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक गोविन्द काफ्लेले प्रस्तुत गरेका थिए । कार्यक्रममा संस्थाले आमन्त्रण गरिएका अतिथिहरुलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रमको सञ्चालन संस्थाका लेखापाल लोकेश खनालले गरेका थिए । साधारण सभा विभिन्न स्थानमा गरी ५ दिनसम्म चल्ने संस्थाले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *