Sajhamanch Archive

मंगल ग्रहमा पहिले जीव थियो–थिएन यसरी हुँदैछ खोजी

Published: in विविधा, विश्व समाचार, समाज by .

काठमाडौं । मंगल ग्रह मिसनअन्तर्गत अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले मंगल ग्रहमा पठाएको पर्सिभिअरन्सले त्यहाँ जीवको अवशेष पत्ता लगाउने प्रयास गरिरहेको छ । त्यसका लागि पर्सिभिअरन्स सही स्थानमा पुगेको वैज्ञानिकले दाबी गरेका छन् ।

बीबीसीका अनुसार ‘पर्सी’ उपनामले चिनिने पर्सिभिअरन्स गत फेब्रुअरीमा जेजेरो क्रेटरमा उत्रिएको थियो र त्यसयता उक्त उपकरणले त्यहाँका धेरैवटा तस्बिर पृथ्वीमा पठाएको छ । जुन तस्बिर यो साता साइन्स म्यागेजिनमा प्रकाशन भएका छन् । ती तस्बिरले कुनै बेला पश्चिमबाट आउने नदीको पानीमा आधारित ठूलो ताल रहेको पुष्टि गरेको वैज्ञानिकले बताएका छन् । उक्त ताल साढे ३ अर्ब वर्ष पहिले मंगल ग्रहमा रहेको वैज्ञानिकको भनाइ छ ।

पर्सिभिअरन्सले खिचेको तस्बिरमा जहाँ नदीको पानीले तालको पानीलाई भेट्थ्यो, त्यहाँ नदीको पानीको बहाव कम भएर पृथ्वीमा जस्तै भूआकार बनेको देखिएको छ । त्यस्तै वातावरणमा सूक्ष्म जीव हुने हुँदा त्यहाँ तिनका रासायनिक अवशेष बाँकी रहेका हुन सक्ने अनुमान वैज्ञानिकले गरेका छन् ।

मानिसले आफूलाई त्यहाँ त्यस्तो भूआकार छ भन्ने कुरा पहिल्यै थाहा थिएन भनेर सोधेको इम्पिरियल कलेज लन्डनका प्राध्यापक सञ्जीव गुप्ताले बताए । उनले भने, ‘वास्तवमा थाहा थिएन । भूउपग्रहका तस्बिरले त्यहाँ त्यस्तो भूआकार रहेको देखाएको भए पनि जमिनमा नउत्रिएसम्म त्यो निश्चित हुन सकेको थिएन ।’

पर्सिभिअरन्स त्यो भूआकारबाट २ किलोमिटर जति टाढा भए पनि त्यसको टेलिस्कोप दृष्टिले धेरै कुरा देखाउने वैज्ञानिक बताउँछन् । कोडियक नाम दिइएको एक्लो थुम्कोको तस्बिरले वैज्ञानिक उत्साहित छन् । त्यसको तस्बिरमा माटोका विभिन्न तह स्पष्ट देखिन्छ । वैज्ञानिकका अनुसार ती तह नदीमा थेग्रिएका माटोबाट बनेको कुरा स्पष्ट देखिएका छन् ।

कोडियकको माथिल्लो तह भने ठूला डल्लाहरूले बनेको र त्यसले तालको अन्तिम अवस्थातिर बाढीजस्ता घटना भएको संकेत गर्ने वैज्ञानिकले बताएका छन् । ‘ती डल्ला त्यहाँ हुनुको अर्थ बाढी जस्ता केही घटना भएको हुनुपर्छ । नदी प्रणालीमा कहीँ हिमताल थियो कि जसका कारण जेजेरोमा बाढी आयोे’, प्राध्यापक गुप्ताले भने, ‘पृथ्वीको हिमालयतिर त्यस्तो देखिन्छ ।’

वैज्ञानिकका अनुसार पर्सिभिअरन्सलाई अब कोडियक भएको स्थानमा पठाइनेछ र त्यहाँको माटो झिकिने छ । पर्सिभिअरन्सले दुई दर्जनभन्दा बढी स्थानबाट चट्टानका नमुना संकलन गर्ने छ र तिनलाई सन् २०३० को दशकमा पृथ्वीमा ल्याइनेछ ।

ती नमुनाको अध्ययनबाट मंगल ग्रहमा कुनै बेला जीव थियो वा थिएन भन्ने निर्क्योल गरिने वैज्ञानिकले बताएका छन् । ती नमुना युरोपेली अन्तरिक्ष मिसनको यानमार्फत पृथ्वीमा ल्याउने योजना छ । ब्रिटेनमा बनाइएको उक्त यानले पर्सिभिअरन्सले राखेको स्थानबाट नमुना रकेटसम्म पुर्‍याउनेछ र रकेट मंगल ग्रहको सतहबाट प्रक्षेपण गरी भूउपग्रहमा पुग्ने छ । अनि भूउपग्रहबाट नमुना पृथ्वीमा ल्याइने वैज्ञानिकले बताएका छन् ।

‘हामी मंगल ग्रह अन्वेषणको सबैभन्दा रोमाञ्चक अवस्थामा प्रवेश गर्दैछौं’, यूके अन्तरिक्ष एजेन्सीकी सु हर्नले भनिन्, ‘मंगल ग्रहको नमुना परीक्षण गर्ने सपना चाँडै साकार हुँदै छ ।’ उनका अनुसार नमुना संकलन गर्ने यानको परीक्षण अर्को महिना हुँदैछ । एजेन्सी

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *