जम्मु–कश्मिरमा भिडन्त, २२ जना मारिए
Published:
by .नयाँदिल्ली । भारतको केन्द्र शासित प्रदेश जम्मु–कश्मिरमा गत सोमबारदेखि जारी सेना र आतंकवादी समूहबीचको मुठभेडमा २२ जना मारिएका छन् ।
मारिनेमा नौं जना भारतीय सेना छन् । यसैगरी भारतीय सेनाले आतंकवादी समूहका १३ जना जनालाई मारेको दाबी गरेको छ । भारतीय सेनाले गत सोमबार सरनकोटको एक गाउँबाट आतंकवादी समूहविरुद्ध अपरेसन शुरु गरेको थियो । अपरेसनको पहिलो दिनमै सेनाका एक जना जुनियर अफिसरसहित पाँच जना मारिएका थिए । सेनाको अभियानको दोस्रो दिनपछि फेरि दोहोरो गोली हानाहान भयो र थप दुई जवान मारिए ।
अहिले पनि सेना र आतंकवादी समूहबीच पुँछ र राजौरीको घना जंगलमा मुठभेड जारी रहेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् । यसबीच कश्मिरको कुलमागमा आइतबार दुई जना गैरकश्मिरी नागरिकको गोली हानेर हत्या भएको छ ।
मारिनेहरुमा उत्तर प्रदेशको सहरानपुरका सगीर अहमद र बिहारको बाँका क्षेत्रका अरविन्दकुमार साह छन् । अरविन्द कुमार श्रीनगरको इदगाहा भन्ने ठाउँमा पानी पुरी बेच्ने गर्दथे । उनी मारिएको एक घण्टापछि कश्मिरको पुलवामा सगीर अहमद मारिए । उनी काठको मिस्त्री थिए । उनीहरुलाई आतंकवादी समूहले गोली हानेर मारेको दाबी गरिएको छ ।
त्यसअघि शनिबार पनि दुई जना मजदुरको गोली हानेर हत्या गरिएको थियो । सर्वसाधारण व्यक्तिको हत्यापछि कश्मिरका राजनीतिक दलहरुले आक्रोश व्यक्त गरेका छन् । यो हत्यापछि भारतीय सुरक्षा बलले थालेको अपरेशनको क्रममा १३ जना आतंकवादीलाई मारेको दाबी गरिएको छ ।
आतंकवादी समूह र सेनाबीच मुठभेड जारी रहेको बेला जम्मु–कश्मिरमा देशविरोधी गतिविधिमा सामेल भएको भन्दै सरकारी कर्मचारीलाई बर्खास्त गर्ने अभियान पनि चलिरहेको छ । पछिल्लो पटक जम्मु–कश्मिर प्रशासनले अलगाववादी नेता भनेर चिनिने सइद अली शाह गिलानीको नाती अनिल उल इस्लाम र एक जना शिक्षकलाई जागिरबाट बर्खास्त गरेको छ ।
Comments