Sajhamanch Archive

खानेपानी उद्योगबाट उत्पादित पानीमा कोलिफर्म

Published: (Updated: ) in विविधा, by .

भद्रपुर । झापामा सञ्चालित चार वटा खानेपानी उद्योगले उत्पादन गरेको पानीमा मानव स्वास्थ्यका लागि हानिकारक कोलिफर्म फेला परेको छ।

बिर्तामोडस्थित देवी पाथीभरा इण्डष्ट्रिजबाट उत्पादित लाइफलाइन, प्रकाश वेभरेज इण्डष्ट्रिजबाट उत्पादित लाइफ केयर, वुद्धशान्ति गाउँपालिका–३ स्थित भगवती वेभरेजबाट उत्पादित ओ–एक्वा र मेचीनगर नगरपालिका–६ स्थित अक्वाटप मकालु मिनिरल वाटर उद्योगबाट उत्पादित मकालु ब्राण्डको पानी गुणस्तरहीन भेटिएको हो। प्रदेश १ को सामाजिक विकास मन्त्रालयले उक्त ब्राण्डका पानी गुणस्तरहीन भएको विज्ञप्ति जारी गरी जानकारी गराएको हो।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले गत भदौ २० मा झापाका नौ वटा खानेपानी उद्योगको स्थलगत अनुगमन गरी पानीको नमुना संकलन गरेका थिए। ती संकलित पानी खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालय विराटनगरको ल्याबमा परीक्षण गर्दा नौ वटा उद्योगमध्ये चार वटा उद्योगको पानीमा कोलिफर्म भेटिएको छ।

मानव स्वास्थ्यका लागि घातक कोलिफर्म भएका ती पानी बजारमा नलैजान र बिक्री वितरण तत्काल रोक लगाउन मन्त्रालयले खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयलाई निर्देशनसहितको पत्र काटिसकेको मन्त्रलायका उपसचिव गोपी घिमिरेले जानकारी दिए। ‘सरकारले तोकेको मापदण्ड विपरीत कोलिफर्म भेटिएका उद्योगबाट उत्पादित पानीमा बिक्री वितरणका लागि रोक लगाइसकेका छौं,’ उपसचिव घिमिरे भने, ‘मानव स्वास्थ्यसँग खेलवाड गर्ने पानी बिक्री वितरण गर्न दिने छैनांै, कोलिफर्म भेटिएका उद्योगले राम्रो पानी उत्पादन गरेपछि पुनः ल्याब परीक्षण गरेर मात्र बजारमा लैजान दिन्छौं।’

यता खाद्य प्रविधि तथा गुण नियन्त्रण क्षेत्रीय कार्यालयले भदौ २६ मै चार वटै उद्योगलाई पानी बिक्री वितरण नगराउन पत्र काटिसकेको कार्यालय प्रमुख प्रमोद कोइरालाले जानकारी दिए। प्रशोधित पानी उत्पादन मापदण्डसम्बन्धी निर्देशिका २०७४ अनुसार उद्योगको अवस्था सुधार गरेपछि मात्र उद्योग सञ्चालनमा ल्याउन पत्र काटिएको उनले बताए। ‘चार वटै उद्योगलाई १५ दिनको समय दिएका छौ’, उनले भने, ‘त्यसपछि पुनः पानीको जाँच÷विश्लेषण र उद्योगको सुधार अवस्था हेर्न छौं।’

तीन वटा उद्योगमा तालाबन्दी

अनुमतिविना सञ्चालित झापाका तीन वटा खानेपानी उद्योगमा गरिएको तालाबन्दी यथावत छ। ती उद्योगको स्थलगत अनुगमन गर्न आएका प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेसहितको टोलीले बिर्तामोडस्थित गोरखा मिनिरल वाटर उद्योग र वुद्धशान्तिस्थित भगवती वेभरेज उद्योगमा तालाबन्दी गरिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिए।

उनका अनुसार मोहन सिटौला र ललीतचन्द्र गजुरेल (ब्रजचार्य)ले सञ्चालन गरेको गोरखाले ‘निरागी’ ब्राण्डको पानी र सुमन पनेरुले सञ्चालन गरेको भगवतीले ‘ओ–एक्वा’ ब्राण्डको पानी उत्पादन गर्दै आएको थियो। दुवै उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरबाट अनुमतिविनै उद्योग सञ्चालन गर्दै आइरहेकाले बन्द गराइएको हो। त्यसैगरी अर्जुनधारास्थित विशाल डेभरेज उद्योगले नियमविपरीत प्युरिकम पानी उत्पादन गर्दै आएका उद्योगका सञ्चालक वसन्त सोनिमले आफैं उद्योग बन्द गरी फरार भएका छन्। उनलाई जिल्ला प्रशासन कार्यालय झापाले सात दिनभित्र अनुमति लिन र उद्योग सञ्चालन नगर्न निर्देशन दिइएको झापाका सहायक प्रमुख जिल्ला अधिकारी माधव पोखरेलले बताए।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *