आजदेखि ससर्त खुल्यो झापाको भद्रपुर–गलगलिया नाका
Published:
by .भद्रपुर । कोरोना महामारीसँगै बन्द भएको झापाको भद्रपुर–गलगलिया सीमानाका २० महिनापछि खुलेको छ । नेपाल सरकारले एक महिनाअघि नै सो नाका खोल्ने निर्णय गरेको थियोे । तर सीमामा रहेको भारतीय सुरक्षा फोर्स एसएसबीले माथिको आदेश नआएको भन्दै सो सीमानाका सुरु गर्न मानेको थिएन ।
नाका खुला गर्न माथिल्लो निकायबाट एसएसबीलाई मौखिक आदेश आएपछि बिहीबारदेखि नाकामा आवागमन पूर्ववत् भएको हो । यद्यपि आवागमनका लागि केही सर्त–बन्देजहरू तोकिएका छन् ।
नेपालबाट भारत जानका लागि कोरोनाको पूर्ण मात्रा लगाएको खोप कार्ड सीमामा देखाउनु पर्छ । सो नभए ७२ घण्टाभित्र कोरोना परीक्षण गरिएको पिसिआर रिपोर्ट देखाउनु अनिवार्य छ ।
यसबाहेक भारत जाने नेपालीले नेपाली नागरिकता अनिवार्य बोक्नुपर्ने नियम एसएसबीले बनाएको छ । एसएबसीले सीमामा हेल्थ–डेस्क राखेर पैदलयात्रीलाई मात्र प्रवेश गर्न दिएको छ । सवारीसाधनलाई भने रोक लगाइएको छ ।
भद्रपुर–गलगलिया नाकामा कुनै प्रकारका सवारीसाधन सञ्चालन गर्न अनुमति नदिएको सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट भद्रपुरका सशस्त्र प्रहरी निरीक्षक विभुराज दाहालले बताए ।
जिल्ला प्रशासन कार्यालय झापाले असोज १५ गते नै जिल्लाका सबै नाका खोल्ने निर्णय गरेको थियो । सो नाकामा भद्रपुर नगरपालिकाले असोज १६ गतेदेखि नै हेल्थ–डेस्क राख्ने तयारी गरेको थियो । तथापि नाका खुलेको थिएन ।
भद्रपुर–गलगलिया भारतको बिहारसँग जोडिएको झापाको ठूलो नाका हो । नाका खुलेसँगै तिहार तथा छठलक्षित आवतजावत सुरु भएको छ । यो नाका हुँदै बङ्गलादेशको फूलबारीसम्म आवतजावत हुने गरेको छ ।
भारतको पश्चिम–बङ्गलासँग सीमा जोडिएको काँकडभिट्टा नाका पनि केही दिनअघिबाटै आंशिक रूपमा सञ्चालनमा आएको छ । यद्यपि यो नाकामा पनि पेट्रोलियम पदार्थ बोकेका र मालबाहकबाहेकसवारीसाधन सञ्चालन भएका छैनन् ।
यो भारतको सिलगुडी, दार्जिलिङ, आसामलगायत भुटानसम्म जाने नाका हो । यही नाकाबाट पूर्वमा पेट्रोलियम पदार्थ आपूर्ति हुने गरेको छ । यो तेस्रो मुलुकसँग व्यापार हुने नेपालको मुख्यमध्येको एउटा नाका हो ।
Comments