Sajhamanch Archive

एमाले महाधिवेशनको तयारी पूरा, चार देशका विदेशी पाहुना आउने

Published: in मुख्य समाचार, राजनीति by .

चितवन । नेकपा एमालेले १० औं महाधिवेशनको सबै तयारी सकिएको बताएको छ । बिहीबार नारायणी नदी किनारमा पत्रकार सम्मेलन गरी एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले अब एमाले महाधिवेशनको लागि तयार भएको जानकारी दिए । महाधिवेशनका लागि एमाले अध्यक्ष केपी ओलीसहित शीर्ष नेताहरू चितवन आइसकेका छन् ।

उद्घाटन सत्रमा पार्टी कार्यकर्ता, शुभेच्छुक र आम जनसमुदाय समेत गरी पाँच लाख जना सहभागी हुने एमालेको दाबी छ । भट्टराईले सहभागीहरूलाई नारायणी नदी किनारको नारायणगढ र गैंडाकोट दुवैतर्फ राखिने बताए । बन्द सत्रमा भूगोल, जनसंगठन, विभाग, सम्पर्क कमिटी र प्रवास कमिटीका गरी दुई हजार १७५ प्रतिनिधि र १०३ जना पर्यवेक्षक सहभागी हुनेछन् । प्रतिनिधिहरूमध्ये ६ सय २७ जना महिला प्रतिनिधि हुनेछन् । दलित उत्पीडित क्षेत्रबाट २ सय ९ जना प्रतिनिधि आउने छन् ।

कार्यक्रमलाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि आउने प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए । बन्द सत्रलाई पार्टी अध्यक्ष ओली र विदेशी पाहुनाले सम्बोधन गर्ने कार्यक्रम छ । महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनितिक दलका नेताहरू सहभागी हुने प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

११ गते बिहान ८ बजेदेखि बन्दसत्र सुरु हुने र बन्दसत्र सञ्चालनका लागि ११ सदस्यीय अध्यक्ष मण्डल बनाइएको प्रचार विभाग प्रमुख भट्टराईले जानकारी दिए । १२ गते बिहान ८ बजेबाट मतदान सुरु हुने छ । सय वटा इलेक्ट्रोनिक भोटिङ मेसिनमध्ये १० वटा स्टक राखेर ९० वटामा भोटिङको काम हुने उनले बताए । त्यस दिन साँझसम्म मतपरिणाम सार्वजनिक गर्ने कार्यतालिका रहेको प्रचार विभाग प्रमुख भट्टराईले बताए ।

महाधिवेशन उद्घाटनको दिन सार्वजनिक सवारी आवागमन बन्द गर्नेबारे स्थानीय प्रशासनले कुनै छलफल नगरेको जानकारी दिएको छ । महाधिवेशन उद्घाटनस्थल नारायणी नदी किनारमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा एमाले सचिव योगेश भट्टराइले सवारी साधन बन्द गर्नेबारे चितवन प्रशासनले एमालेसँग कुनै छलफल नगरेको भन्दै चल्न पाउनुपर्ने बताए ।

चार देशका विदेशी पाहुना आउने
यसैबीच एमालेले १० औँ राष्ट्रिय महाधिवेशनमा ८ मुलुकका राजनीतिक दलका नेताहरु सहभागी हुने जानकारी दिएको छ ।
बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा एमाले विदेश विभाग प्रमुख राजन भट्टराईले महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका र कम्बोडियाका ८ राजनीतिक दलका १५ जना नेताहरू सहभागी जानकारी दिए । चीनलगायत अन्य २५ देशका दलहरूले भने महाधिवेशन सफलताको लागि शुभकामना सन्देश पठाएका पनि भट्टराइले बताए । कोरोनाका कारण धेरै देशले शुभकामना मात्रै पठाएका भट्टराइको भनाई छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *