Sajhamanch Archive

सर्लाहीमा कांग्रेसको वडाअधिवेशनमा झडप: मतदान अधिकृत र प्रहरीसहित पाँच घाइते

Published: (Updated: ) in मिडियाबाट साभार, राजनीति by .

सर्लाही । नेपाली कांग्रेस सर्लाहीको वडा अधिवेशनका क्रममा विवाद भएपछि आज (सोमबार) पनि गोली चलेको छ । सर्लाहीको निर्वाचन क्षेत्र नम्बर ४ बलरा नगरपालिका–८ मा सोमबार पुनः गोली चलेको हो । वडा अधिवेशनका क्रममा झडप भएपछि प्रहरीले अश्रु ग्यास प्रहार गरेर भीड तितरबितर पारेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधव बुढाथोकीले बताए ।

कांग्रेसको वडा अधिवेशनमा दुई समूहबीच झडप भएको छ । सोमबार दिउँसो संघीय निर्वाचन क्षेत्र नम्बर–४ को बलरामा झडप भएको हो । झडपमा बलरा नगरपालिका–८ को वडा अधिवेशन गराउन पुगेका निर्वाचन अधिकृत उमेशचन्द्र झासहित पाँच जना घाइते भएका छन् ।
प्रमुख जिल्ला अधिकारी बाबुराम खतिवडाले वडा अधिवेशनका क्रममा मतदान अधिकृत झामाथि हातपात हुन थालेपछि रोक्ने क्रममा प्रहरीसँग झडप भएको जानकारी दिएका छन् ।

झडपमा मतदान अधिकृत झासहित तीन प्रहरी र एक जना सर्वसाधारण घाइते भएको उनले बताए । उनका अनुसार झाको टाउकोमा चोट लागेको छ । एक जना इन्स्पेक्टरको हात भाँचिएको छ । सर्लाहीमा संस्थापन इतरका अमरेशकुमार सिंहका समर्थक र संस्थापन पक्षबीच पटक–पटक विवाद हुँदै आएको छ ।

सोही क्षेत्रका प्रतिनिधिसभा सदस्य अमरेशकुमार सिंह पक्षधरले मतदान अधिकृतमाथि हातपात गर्नै लाग्दा प्रहरीले उनको सुरक्षाका लागि मलंगवा लैजाने क्रममा प्रहरीसँग झडप भएको काँग्रेस सर्लाहीका सभापति नागेन्द्र रायले जानकारी दिएए । यसअघि (हिजो आइतबार) सोही क्षेत्रमा साँझ वडा अधिवेशनकै क्रममा प्रदेश–२ का महिला बालबालिका तथा खेलकुद मन्त्री वीरेन्द्र सिंहका पिएसओले हवाई फायर गरेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *