प्रदेश १ नेपाली कांग्रेसको सभापति उम्मेदवार बन्दै झापाका उद्धव थापा
Published: (Updated: )
by .बिराटनगर । नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत हुने प्रदेश १ को अधिवेशनमा झापाका उद्धव थापाले सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
पार्टी सभापति शेरबहादुर देउवा र कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाको समूहबाट थापाले उम्मेदवारी दिने तय भएको हो । उनले प्रदेशमा चुनावी अभियानसमेत शुरु गरिसकेका छन् ।
नेपाली कांग्रेसलाई बदलिंदो परिवेशमा अझ सशक्त बनाउन अनि लोकातान्त्रिक मूल्य मान्यतालाई दर्बिलो पार्ने अभियानलाई जोड दिन आफूले उम्मेदवारी दिन लागेको थापाले बताएका छन् ।
वि. सं. २०३४ सालतिर काठमाडौंको शंकरदेव क्याम्पसवाट नेवि संघको इकाईबाट राजनीतिक जीवन शुरु गरेका थापा २०३५ सालको जनमत संग्रहमा निरंकुश पञ्चायती व्यवस्था विरुद्व बहुदलीय ब्यवस्था स्थापनका लागि बहुदलको प्रचार अभियानमा सक्रिय थिए । उनले विपी कोइरालाको सुरक्षा दस्तामा समेत रहेर काम गरेका थिए ।
कांग्रेसको झापा अर्जुनधारा गाउँसमितिको सचिव र सभापति हुँदै उनले झापा २ नं निर्वाचन क्षेत्रको क्षेत्रीय सभापति, जिल्ला सचिव, जिल्ला उपसभापति र दुई कार्यकाल जिल्ला सभापतिको जिम्मेवारी पूरा गरिसकेका छन् ।
वाणिजय शास्त्रमा स्नातक गरेका नेता थापा ज्ञानेन्द्र शाहले कू गरेको शाहीकालमा सेनाको युनिफाइड कमान्डद्वारा पक्राउ परी चारआली ब्यारेकमा बंकरमा थुनिएका थिए । प्रदेशमा कांग्रेसको भूमिका अझ स्पष्ट रुपमा अघि बढाउन र लोकतान्त्रिक शक्तिबीच सन्तुलन कायम गरी संघीय गणतन्त्र संस्थागत गर्न आफूले अझ भूमिका निर्वाह गर्ने उनको दाबी छ ।
कांग्रेस प्रदेश १ को अधिवेशन आज बिराटनगरमा उद्घाटन भएको छ भने चुनाव पर्सी शनिबार प्रदेश राजधानी विराटनगरमा हुँदैछ ।
Comments